‘म भिखारी हुँ, पोलिसी लिइदिनुस भनेर भिख माग्छु’, एलआर्इसी नेपाल प्रमुख पिआर मिश्रको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ मंसिर २८ गते ००:०० | Dec 14, 2014
‘म भिखारी हुँ, पोलिसी लिइदिनुस भनेर भिख माग्छु’, एलआर्इसी नेपाल प्रमुख पिआर मिश्रको अन्तर्वार्ता


भारतमा कतिसम्म थियो भने ३० वर्ष अघिसम्म कुकुर र एलआइसी एजेण्ट घर भित्र पस्न निषेध छ भनेर लेखिएको हुन्थ्यो। तर अवस्था फेरिएको छ। हरेक मानिस एलआइसीका एजेण्टको साथी बनेका छन्। नेपालमा पनि समय मात्रै लागेको हो, समय अवश्य आउँछ। तपाईंले अबको १० वर्षमा नेपालको बीमा बजार निकै माथि उठेको देख्नुहुनेछ। त्यसका लागि खाली प्रचार प्रसार चाहिएको हो

 —

तपाईंले दुई हजार दिएर कसैलाई काम लगाइरहनु भएको छ र उसलाई भोलिबाट काममा नआउनुस भन्दा केही फरक पर्दैन, किनकि उसले अर्को घरमा काम पाउँछ। तर तपाईंले एकलाख तलब पाउने जागिर छोड्नुपर्यो भने त रुनुहुन्छ नि। जब धेरै पैसा हुन्छ उसको कामप्रति लगाव पनि त्यति नै धेरै हुन्छ। बीमा पनि त्यही हो। बीमा कम्पनीको पुँजी वृद्धि पनि त्यही हो । अहिले हामीसँग ६५ करोड रुपैयाँ भन्दा धेरैको पुँजी छ। हामी नाफाबाट नै यो पुँजी अझ बढाउन सक्छौं।


 — 

अहिले नेपालमा कति अधिकृतले मासिक एकलाख कमाउँछन्? मैले आठ घण्टा भनेको होइन जम्मा दुई घण्टा। तर अहिले मानिसले धैर्यता गुमाए। र, मानिसहरुले के सोच्न थाले भने बीमा भन्ने बित्तिकै दलाली काम हो, यसलाई एउटा ब्रोकरको रुपमा लिन थालियो। तर यो व्यवसाय भनेको एजेण्ट हो, ब्रोकर होइन। एजेण्ट भनेको 'ए जेन्टलम्यान' अर्थात एउटा भद्र व्यक्ति। दुनियाँमा मान्छे चोर, फटाहा बनेका छन् भने हामी त सज्जन बन्नुस भनिरहेका छौं

 — 

एलआईसी इण्डियाका जागिरे पिआर मिश्र एलआईसी नेपालमा बोर्ड सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको दोहोरो जिम्मेवारीमा छन् । सन् २०११ मा उनी नेपाल आएपछि एलआईसीले राम्रै प्रगति गरिरहेको छ । अर्थशास्त्र बढेर बीमामा काम गरिरहेका मिश्रलाई बिजमाण्डूका सविन मिश्रले सोधे, नेपालीसँग पैसा पनि छ , बीमा कम्पनीसँग अर्कषक पोलिसि पनि तर त्यो पैसा बीमा बिजनेशमा किन परिवर्तन हुन सकिरहेको छैन?
 

 
नेपाल बीमाका लागि संभाव्य बजार हो, यहाँका मानिससँग पैसा पनि छ । बीमा कम्पनीसँग अर्कषक पोलिसि पनि छन् तर बिजनेशमा किन परिवर्तन हुन सकिरहेको छैन?
मेरो बिचारमा यसमा दुईवटा समस्या छन्। पहिलो कुरा त यहाँका मानिसमा बीमा सम्बन्धि जानकारी तथा चेतनाको कमी छ। मानिसले जीवन बीमाबारे राम्रोसँग बुझेका छैनन । अर्कोतर्फ हामी पनि असल प्रतिस्पर्धी बजार निर्माण गर्न असफल भएका छौं।
म तपाईंलाई के भन्छु भने मलाई विहान पत्रिका पल्टाउन मन लाग्दैन। यो मैले दु:खका साथ भन्नुपर्छ, हरेक दिन बस पल्टेको, झाडीमा जिप खसेको समाचार आउँछ। केही दिन अघि सुर्खेत, कालीकोट, अझ भनौं काठमाडौं नजिक रहेका स्थानमा पनि दुर्घटना भइरहेका छन्। यो निकै दुखदायी हो।
त्यसैले मैले हरेक कार्यक्रममा भन्ने गरेको छु, म एउटा भिखारी हुँ। म बीमा पोलिसी लिइदिनुस भनेर कसैसँग भिख माग्छु। म यस कारण भिखारी बन्न चाहन्छु कि जो मानिस मरिरहेका छन्, उसका श्रीमती छोराछोरी भिखारी नबनुन्। जो मरिरहेका छन्, पैसा भए पनि उनीहरुकै खातामा हुन्छ। दुर्घटनामा ऊ त मर्छ तर उसको दाहसंस्कारका लागि उसका श्रीमती छोराछोरीसँग १० हजार रुपैयाँ नहुने अवस्था छ। त्यसैले म भनिरहेको छु, हाम्रो उद्देश्य उनीहरुको चेतना जगाउने हो।
 
बजार निर्माण गर्न नसक्नु त तपार्इकै कमजोरी होइन?
ताली बजाउनका लागि दुईवटा हात चाहिन्छ। एउटा मात्रै हातले बज्दैन। त्यसैगरी यसमा पनि सबै क्षेत्रको सहकार्य आवश्यक छ। सरकारी, निजी, सञ्चारमाध्यम सबै क्षेत्रले साथ दिनुपर्ने हुन्छ। सबैले यसका बारेमा छलफल गर्नुपर्छ। त्यसपछि मात्रै मानिसहरुले बीमाको बारेमा बुझ्न सक्छन्।
हामी सबैले एउटा कुरा के बुझ्नुपर्छ भने जीवन बीमा योजना लिएका मानिसको परिवार कसरी व्यवस्थित भएका छन् र नलिएकाको परिवारको अवस्था के छ? मलंगवामा केही अघि एक जना मानिसको दुर्घटनामा मृत्यु भयो । उनकी श्रीमती सुरुमा त आफ्नो भाइको घरमा गएर बसिन् । तर जब उनले बीमा भुक्तानी पाइन् त्यसपछि उनीहरु खुशी भए। अहिले ती महिला भन्दैछिन्, म यो पैसाले पसल गर्छु, तीनवटा छोराछोरी पढाउँछु। यो एउटा सत्य हो।
बीमालाई आम मानिसको पहुँचमा पुर्‍याउन सबैको साथ चाहिन्छ। यहाँ म एउटाले भनें भने यो मानिस कुन स्वार्थले बोलिरहेको छ भन्छन् । बीमा गर्ने भनेको कुनै एजेण्टले कमिसन खान वा कुनै कम्पनीको सिइओले तलव खान भन्ने मात्रै होइन । तपाईंले कुनै एउटा बैंक वा एलआइसीको कार्यालय देख्न सक्नुहुन्छ। हाम्रो कार्यालयमा कहाँ डेकोरेसन गरेको छ?  हाम्रो काम गर्ने तरिका अलग छ। हामी नितान्त सामाजिक संस्था हौं, व्यवसायिक संस्था होइनौं। हाम्रो उद्देश्य नाफा कमाउनु मात्रै होइन, दुखको बेला कसैलाई सहयोग गर्ने हो। हामी व्यवसायिक र दक्ष मानवस्रोतको विकास गर्न चाहन्छौं।
 
मैले हरेक पटक सार्वजनिक कार्यक्रममा एउटा कुरा भन्ने गरेको छु जहाँ चिनी त्यहीँ कमिला। अर्थात जहाँ पैसा त्यहाँ बैंकका मान्छे । तपाईं देख्न सक्नुहुन्छ यति सानो देशमा ३० वटा वाणिज्य बैंक छन्। ८१ वटा विकास बैंक । ५२ वटा फाइनान्स छन्, सहकारी पनि त्यति नै छन् । यसको मतलव के हो भने मान्छेसँग पैसा त छ 

Tata
GBIME
Nepal Life
 —

हामी त तपार्इमा पनि एउटा समस्या देखिरहेका छै, त्यो के भने तपाईंको नेटवर्क शहर केन्द्रित छ। तपाईंकै माउ कम्पनी एलआइसी इन्डिया हेर्ने हो भने पाँच हजार बढी शाखा छन्, लाखै एजेण्ट छन्, तर तपार्इ यहाँ तीन करोड मानिसलार्इ बीमा गराउन ३२ वटा शाखा चलार्इ रहनु भएको छ, केही हजार मात्रै एजेण्ट छन्?
सन् २०११ मा म नेपाल आउँदा जम्मा १३ वटा शाखा थिए, अहिले त्यो बढेर ३२ पुगिसकेको छ। अवको एक वर्षमा ५० वटा शाखा पुर्‍याउँछौं । यो वर्ष पनि विभिन्न स्थानमा शाखा खोलेका छौं। हामी अहिले पनि शाखा खोल्न तयार छौं, तर दक्ष मानव संसाधन पाउन धेरै गाह्रो छ।
हरेक कम्पनी बन्ने भनेको टेबल र कुर्सीले मात्रै होइन। त्यसका लागि योग्य मानिसहरु चाहिन्छ। एलआइसीकै कुरा गर्ने हो भने हामी सबैभन्दा पहिले दक्ष जनशक्ति उत्पादन गर्छौं। म तीन वर्ष पहिले नेपाल आउँदा यो कम्पनीमा ८१ जना कर्मचारी थिए, अहिले यो संख्या एकसय ६० पुगिसकेको छ। हामीले सकारात्मक विकास गरिरहेका छौं। गत आर्थिक वर्षको प्रथम प्रिमियम मात्रै एकसय २३ करोड रुपैयाँ संकलन गर्‍यौ । वैदेशिक बाहेक साधारण व्यापारको बृद्धि पनि निकै राम्रो छ।
 
यो विजनेश भोल्यूम अझै कम हो भन्ने तपाईंलाई लाग्दैन?
नेपालमा व्यवसायिकतामा निकै ठुलो समस्या छ। मानवस्रोतको विकास गर्न तीन वर्षमा तालिमका निकै ठुला कार्यक्रम चलायौं। वर्षमै तीन/चारपटक भारतबाट दक्ष ट्रेनरहरु नेपाल भित्र्याएर तालिम दियौं। म र मेरो एजिएम हामी दुवै ट्रेनर हौं।
हाम्रो कम्पनीको तीनदेखि पाँच प्रतिशत बजेट त तालिममै खर्च गर्छौं। तर दुखको कुरा भन्नै पर्छ कि हामीले निकै मेहनत गरेर उत्पादन गरेको मान्छेलाई अर्को कम्पनीले १० रुपैयाँ धेरै तिरेर लैजान्छ। मैले जहिले पनि भन्ने गरेको छु कि यस्ता कम्पनीहरुले आफूलाई चाहिने जनशक्ति आफैं उत्पादन गर्नुपर्छ।
अरुको मान्छे तान्नेभन्दा पनि आफ्नै उत्पादन गर्नुपर्छ। हामीले काठमाडौंमा मात्रै होइन काठमाडौं बाहिर पनि ट्रेनिङ दिइरहन्छौं। टिकापुर, सुर्खेतलगायतका ठाउँमा हामीले यस्ता कार्यक्रम चलायौं । चारसय एजेण्टलाई त काठमाडौंमा तालिम नै दियौं। भारतमा नाम चलेका कल्लोल घोष, पञ्जाव सिंह, राजेश सतोस्करजस्ता ट्रेनर ल्याएर नेपालमा तालिम दिन लगायौं ।
 
यहाँ बीमा एजेण्टका काम गर्नेहरुको प्राइमरी बिजनेश अर्कै छ, उनीहरु सेकेन्डरी बिजनेशका रुपमा एजेण्टको काम गर्छन्। तपाईंले बीमा पोलिसी बेच्नुहोस्, तपार्इको घर हामी चलाइदिन्छै भनेर किन भन्न सकिरहनुभएको छैन्?
हामी कन्भिन्स गर्ने प्रयास गरिरहेका छौं, यसलाई नम्बर एक विजनेश बनाउन चाहन्छौं। भारतमा डाक्टर,  इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट पनि जागिर छोडेर बीमा एजेण्टको काम गर्न आएका छन्। भारतमा कल्लोल घोषले एक वर्षमा ६७ लाख भारु बोनस खाए। भारतमा एजेण्टको विजनेश गर्ने राजेश सतोषकरले दुई करोड १२ लाख भारु कमाए। उनी मर्सिडिज गाडी चढेर हिँड्छन्। नेपालमा पनि हामी यस्तै चाहन्छौं । व्यवसायिकता विकास गरी अघि बढाइरहेका छौं। एलआइसीले एजेण्टका लागि विभिन्न योजना ल्याइरहेको छ।
उत्कृष्ट काम गर्नेले बीमाश्री अवार्ड पाएका छन्। यो भन्दा धेरै गर्नेले बीमा रत्न अवार्ड पाएका छन्। धेरै भन्दा धेरै विजनेश गर्ने एजेण्टलाई कुनै न कुनै रुपमा सम्मान गरेका छौं। एलआइसीका एजेण्टले ७० देखि ९० प्रतिशतसम्म कमिसन पाएका छन्। यसको मतलव एकलाखको बिजनेश ल्याउनेले १० वर्षमा ७० देखि ९० हजार रुपैयाँ पाउँछन् । यसरी एजेण्टलाई प्रोफेसनल बनाइरहेका छौं। बीमाश्री, बीमा रत्न पछि हामीले बीमा सम्राट योजना ल्यायौं। मासिक तीन लाखको बिजनेश ल्याउनेले यो अवार्ड पाउँछन्। उनीहरुलाई पशुपतिदेखि विश्वनाथसम्म घुम्ने अवसर दिएका छौं।

 
तर पनि तपाईंले एजेण्टको ठूलो सञ्जाल बनाएर बिजनेशको भोल्युम सोचेअनुसार बढाउन सकिरहनु भएको छैन्?
सफलताका लागि सबैभन्दा पहिलो आवश्कता धैर्यता हो। तर मानिसहरुले धैर्यता गुमाउँदैछन्। तर म तपाईंलाई एउटा के कुराको ग्यारेन्टी दिन सक्छु भने यदि तपाईंले एलआइसीका लागि तीन वर्षसम्म दिनको दुई घण्टा समय दिनुभयो भने तपाईंले त्यसपछि मासिक एक लाख रुपैयाँ त घरमै बसेर कमाउन सक्नुहुन्छ।
अहिले नेपालमा कति अधिकृतले मासिक एकलाख कमाउँछन्? मैले आठ घण्टा भनेको होइन जम्मा दुई घण्टा। तर अहिले मानिसले धैर्यता गुमाए। र, मानिसहरुले के सोच्न थाले भने बीमा भन्ने बित्तिकै दलाली काम हो, यसलाई एउटा ब्रोकरको रुपमा लिन थालियो। तर यो व्यवसाय भनेको एजेण्ट हो, ब्रोकर होइन। एजेण्ट भनेको 'ए जेन्टलम्यान' अर्थात एउटा भद्र व्यक्ति। दुनियाँमा मान्छे चोर, फटाहा बनेका छन् भने हामी त सज्जन बन्नुस भनिरहेका छौं।
म भन्छु- कमिसनका बारेमा किन सोच्नुहुन्छ, तपाईं उसको परिवारको विषयमा सोच्नुस न। यो एउटा यस्तो देश हो जहाँ पहाडमा धेरै बाटाहरु छन्। यहाँको संविधानसभा सदस्यको पनि दुर्घटनामा परेर निधन भएको छ। त्यसैले सुरु गर्नु ठुलो कुरा हो। तपाईंले दैनिक एक कप चिया नखाएर बीमा  सुरु गर्न सक्नुहुन्छ।
तपाईंले दैनिक १० रुपैयाँ जोगाएर सुरु गर्नु भयो भने पनि वर्षमा झण्डै चार हजार जोगिन्छ। यो १५ वर्षमा ६० हजार हुन्छ। जम्मा जहाँ गरे पनि हुन्छ। एलआइसीमा मात्रै गर्नुपर्छ भन्ने होइन। यसरी जोगाउनु भयो भने केही दिन भए पनि परिवारका लागि भरोसा मिल्छ ।
 
एलआइसीमा तपाईंको कार्यअनुभव निकै लामो छ। बीमा क्षेत्रमा तपाईंले धेरै अध्ययन पनि गर्नुभएको छ। त्यो अनुभवबाट भन्दा नेपालमा जीवन बीमालाई 'मास लेभल'मा अघि बढाउन के गर्न सकिन्छ?
मैले हरेक पटक सार्वजनिक कार्यक्रममा एउटा कुरा भन्ने गरेको छु कि जहाँ चिनी त्यहीँ कमिला। अर्थात जहाँ पैसा त्यहाँ बैंकका मान्छे । तपाईं देख्न सक्नुहुन्छ यति सानो देशमा ३० वटा वाणिज्य बैंक छन्। ८१ वटा त विकास बैंक छन् । ५२ वटा फाइनान्स कम्पनी छन्, सहकारी पनि त्यति नै छन् । यसको मतलव के हो भने मान्छेसँग पैसा त छ । आज बजारमा जाने हो भने कपडा पसल, खाजा पसल त्यति धेरै छैनन्, जति वित्तीय संस्थाका कार्यालय छन । यसको मतलव जनतासँग पैसा छ।
हामी बीमा व्यवसाय गरिरहेका छौं। यसमा पनि स्प्रेड त छ तर यो इथिकल हुनुपर्छ। हामी धेरै भन्दा धेरै मानिसको पहुँचमा पुग्न चाहन्छौं। त्यसका लागि वित्तीय संस्थासँग सहकार्य गर्न तयार छौं। यसमा प्रतिस्पर्धा होइन सहकार्य गर्न सकिन्छ। हामी एक भयौं भने रहन सक्छौं तर जब हामी टुक्रा टुक्रा हुन्छौं त्यसपछि हाम्रो अस्तित्व पनि संकटमा पर्छ। जति कम्पनी छन् उनीहरुमा जनताको भरोसा छ। नेपालमा वित्तीय पहुँच यति धेरै बढेको छ, हामी विश्वस्त छौं कि अब बीमामा पनि यसैगरी मानिसहरुको भरोसा बढ्नेछ।
 
तपाईंले भन्नुभयो, जनतासँग पैसा छ। तर त्यो पैसा बीमामा लगाउनुस, यो दिर्घकालीन मात्रै होइन्, अल्पकालीन वित्तीय व्यवस्थापन पनि हुन्छ भनेर सम्झाउन सक्नु भएन्?
मानिसहरुको सोचाइ के हुन्छ भने बैंकमा पैसा राखेपछि तत्काल ब्याज पाइन्छ। हामी सुरुमा पोलिसी लोन सिस्टमबाट अघि बढ्यौं। दुई वर्षका लागि ऋण चाहियो भने दिन सक्ने भयौं। ऋण पनि धेरै कम व्याजमा। हामी १० प्रतिशतमा ऋण दिइरहेका थियौं। तर त्यसैका लागि बैंकमा जानु पर्‍यो भने दश ठाउँमा नमस्कार गर्‍यो त्यही पनि १५/१६ प्रतिशत ब्याज पर्छ।
भारतमा कतिसम्म थियो भने ३० वर्ष अघिसम्म कुकुर र एलआइसी एजेण्ट घर भित्र पस्न निषेध छ भनेर लेखिएको हुन्थ्यो। तर अवस्था फेरिएको छ। हरेक मानिस एलआइसीका एजेण्टको साथी बनेका छन्। नेपालमा पनि समय मात्रै लागेको हो, समय अवश्य आउँछ। तपाईंले अबको १० वर्षमा नेपालको बीमा बजार निकै माथि उठेको देख्नुहुनेछ। त्यसका लागि खाली प्रचार प्रसार चाहिएको हो। यसका लागि योग्य मानिस आवश्यक पर्छ, जो धेरै काम गर्न सक्षम होस। हामीले तीन वर्षमा धेरै योग्य एजेण्ट जन्माएका छौं। हामी अरु जस्तो एक/दुई वर्षको स्वार्थ बोकेर अघि बढ्दैनौं। हामी सरकारी कम्पनी हौं। त्यसैले जनताको सेवाका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्छौं।
 
बीमा क्षेत्रको नियामक बीमा समितिले बीमा कम्पनीको नयाँ लाइसेन्स दिन बन्द गरेको छ। एकातिर बीमा आम नागरिकको पहुँचसम्म पुग्न सकेको छैन्। त्यसको पहुँच विस्तार गर्न अब नयाँ कम्पनीको लाइसेन्स दिनु आवश्यक भैसको छ?
पहिलो कुरा त नयाँ कम्पनी आउनु भन्दा पनि अघि भएका कम्पनीकै स्तरवृद्धि आवश्यक छ। अहिलेकै अवस्थामा छोडिदिने हो भने पनि बीमा कम्पनीलाई अझ बलियो बनाएर अघि बढाउन निकै गारो हुन्छ। बीमा समितिले आफ्नो ठाउँबाट राम्रो भूमिका निर्वाह गरिरहेको छ। तर समितिले मात्रै गरेर पनि भएन, कम्पनीहरुले पनि आफूलाई बलियो बनाउँदै लैजानुपर्छ। यसका लागि सबैभन्दा पहिले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु राम्रा हुनुपर्यो। बीमा कम्पनीहरुले आफूलाई भित्रैबाट बलियो बनाउँदै लैजानुपर्छ।
अर्को कुरा बीमा कम्पनी खोल्ने भनेर कार्यालय खोलेर मात्रै हुँदैन। कार्यालय त जति पनि खोल्न सकिन्छ तर त्यसका लागि पर्याप्त अध्ययन हुनुपर्छ। काम गर्नका लागि सबै कुराहरु ठिक हुनुपर्छ।
 
तपाईंले नेपालमा ल्याएका प्रोडक्ट अरु कम्पनीको भन्दा फरक छन् । तर पनि तपाईंका यी प्रोडक्टहरु ग्रामीण तहसम्म पुग्न सकेको छैन। समस्या त यहाँ पनि छ नि?
हामीले गत वर्ष मात्रै एकलाख पोलिसी बेच्यौं । यसको ७५ प्रतिशत ग्रामीण क्षेत्रमा पुर्‍यायौं । हामीले दुई/तीन ठाउँमा त सहकारीमार्फत पनि बीमा सेवा पुर्‍याउँदै आएका छौं। गाउँका गरीब नागरिकसम्म पुग्ने प्रयास गरिरहेका छौं। करोडपतिलाई पोलिसी बेच्नु ठुलो कुरा होइन जति एउटा गरीबलाई बेच्नु महत्वपूर्ण हुन्छ। एउटा करोडपति मर्दा उसको सन्तान पनि करोडपति नै भइरहेको हुन्छ तर एउटा गरीब मर्‍यो भने उसका सन्तान त सडकमा आइपुग्छन नि। त्यसैले हामी ग्रामीण क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौं। हामीले पछिल्लो तीन वर्षमा १९ वटा शाखा खोलेका छौं। ती मध्ये एउटा पनि उपत्यकामा छैन।
 

अहिले बीमा कम्पनीहरु बिजनेस स्टकमार्केटमा बढाइरहेका छन्। यसले उनीहरुको ध्यान बीमा गर्नभन्दा बढी अन्यत्र केन्द्रित हुँदैछ?
यसलाई खराब भन्न त नमिल्ला। हामीले अन्तत: नाफा कमाएर त्यो ग्राहकलाई पनि दिनुपर्छ। योसँगै सुरक्षाको कुरा पनि महत्वपूर्ण हुन आउँछ। स्टकमार्केटमा अरु कम्पनी जति एग्रेसिभ्ली जान सक्छन्, बीमा कम्पनी त्यसरी जान सक्दैनन्। बीमा कम्पनीलाई थोरै मात्र नोक्सान भयो भने पनि पोलिसीहोल्डर समस्यामा पर्छन्। पोलिसी होल्डरमा सबैभन्दा महत्वपूर्ण भनेका विधवा हुन्। त्यसैले हामी धेरै सचेत हुनैपर्छ। हामी सचेत भएर नै लगानी गरिरहेका छौं।
पहिले त हामीले लगानी गर्न पाउने सीमा पाँच प्रतिशतको मात्रै थियो। तर अहिले यो बढेर १० प्रतिशत पुग्यो । एउटा कुरा के हो भने पाँच/पाँच प्रतिशत लगानी गर्नु भनेको खर्च गर्ने हिसाबले निकै थोरै हो। अर्कोतर्फ सर्वसाधारण लगानीकर्ताले पनि केही पाउछौं भनेर आश गरिरहेका हुन्छन्। त्यसैले पनि लगानी गर्नैपर्ने हुन्छ। १० प्रतिशत ठुलो रकम होइन। त्यसैले सुरक्षित रुपमा लगानी गर्दा समस्या नहोला।
 
बीमा समितिले अन्य क्षेत्रमा पनि लगानीको बाटो अलि फराकिलो बनाइदिएको छ। यसको असर कस्तो पर्ला?
ठुलो रकम त खोलेको होइन। हामीले ७० प्रतिशत पैसा त वाणिज्य बैंकमा राखेका हुन्छौं। लगानीको अवसर धेरै कम छ । दुई/पाँच प्रतिशत व्याजमा हामीले बैंकमा पैसा राखिरहेका हुन्छौं। हाइड्रोपावरको कुरा गर्नुहुन्छ भने नेपाल भनेकै हाइड्रोपावर हो। म के भन्छु भने हाइड्रोमा लगानी गर्ने हो भने पनि सचेत भएर लगानी गर्नुपर्छ। बीमा समितिले जुन निर्देशन ल्याएको छ त्यो ठिक हो। कन्ट्रोल त उसैको हातमा हुनुपर्छ नि।
 
यो निर्देशन पछि लगानीमा तपाईंको चाँही केही योजना छ?
नेपालमा रहेका अरु बीमा कम्पनीका प्रवद्रधकका आफ्नै सहायक कम्पनी छन्। हाम्रा मेजोरोटी सेयर भएको एलअर्इसीको नेपालमा कुनै अरु कम्पनी छैनन्। त्यसैले हामीले धेरै अध्ययन गरेर मात्रै यहाँ लगानी गर्नुपर्ने हुन्छ। अरुका स्थानीय प्रमोटर छन्। उनीहरुले धेरै अध्ययन गर्न सक्छन्।
तर हाम्रो लगानीकर्ता भनेको त एलआइसी इण्डिया हो। हामी अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने हुन्छ । १० प्रतिशतको सीमा पाएसँगै हामी स्कट मार्केट, बन्ड मार्केटमा लगानी बढाउँदै छौं, हामी दिर्घकालीन लगानी गर्छै, अल्पकालीन होइन्, हामीले लगानी गरेका स्क्रिप्ट  विक्री गरेका पनि छैनौं। नेपाल बैंकको सेयर पनि किनेका छौं । हामी विक्री गर्दैनौं। दीर्घकालसम्म होल्ड गर्छौं। छोटो समयका लागि लगानी भयो भने ब्रोकरलाई त फाइदा होला तर हामी र जनतालाई भने फाइदा गर्दैन।
 
एलआइसीले नेपालमा अब नयाँ योजना के ल्याउँदै छ?
हामी बालबालिका तथा शिक्षाको योजना ल्याएर आउँदै छौं। यी नयाँ प्रडक्ट हुन्।
 
यो भारतीय कम्पनी। अरु कम्पनीहरु ठुला भवनहरु बनाउँदै छन्, आफ्नो सम्पत्ति देखाउँछन्, तपार्इलार्इ यसले समस्या पारिरहेको छैन?
हामीले जग्गा लिइसकेका छौं। बबरमहलमा १० तल्ले भवन बनाउने तयारी पनि गरिरहेका छौं। भवन निर्माणको अनुमति पाएपछि छिट्टै नै निर्माण सुरु गर्छौं। सम्पत्तिकै कुरा गर्ने हो भने भारत भर भएका सरकारी र निजी कम्पनीमा एलआइसी सबैभन्दा धेरै सम्पत्ति हुनेमा दोस्रो कम्पनी हो ।
मैले हरेक मिटिङमा भन्ने गरेको छू, एलआइसी कहाँ भाग्छ? भागेर कहाँ जाने, भारत? भारतमा इन्डिया रेलवेपछि सबैभन्दा धेरै सम्पत्ति भएको कम्पनीमा एलआइसी पर्छ। भारतमा कलकत्ता, दिल्ली, मुम्बई अथवा मद्रासमा तपाईंले कहीं पनि ढुंगा उठाएर फाल्नुभयो भने ५० प्रतिशत एलआइसीकै सम्पत्तिमा लाग्छ। त्यहाँ भएका धेरै सम्पत्ति एलआइसीकै छ। अरु कम्पनी र हामीमा फरक छ। अरुको बोर्ड सदस्य यहीँ छन्। तर हाम्रा आधा बोर्ड सदस्य भारतमा छन्। एक पटक बैठक बस्नुपर्‍यो भने दुई महिना जान्छ। त्यसैले सम्पत्ति जोड्ने बनाउने कुरामा पनि हामी अरु भन्दा अलि फरक छौं।
 
नेपालको सीमा क्षेत्रका मानिसहरु भारतमा धेरै बीमा गरिरहेका छन्। उनीहरुलाई यतैका कम्पनीमा किन गराउन सकिन्छ?
हामीले गराइरहेका छौं। एलआइसी अहिले नेपालमा आएको छ, भारतमा मात्रै होइन नेपालमा पनि छ। बोनसको कुरा गर्ने हो भने पनि हामीले भारतमा भन्दा नेपालमा धेरै दिइरहेका छौं। एलआइसीबाट ऋण लिनु पर्‍यो वा सेटलमेन्ट गर्नुपर्‍यो भने पनि हामी यतै छौं। भारतमा यो काम गरेर नेपालमा आउनु पर्‍यो भने पनि १०/१५ दिन लाग्न सक्छ। त्यसैले अब नेपालीले भारतीय कम्पनीभन्दा पनि नेपाली कम्पनीमै बीमा गर्नुपर्छ।
अर्को कुरा हाम्रा एजेण्ट पनि यताकै छन्। भारतीय एजेण्ट आउने जाने गर्छन् तर यहाँका एजेण्टसँगै कुरागर्दा राम्रो हुन्छ। हामी २००१ मा नेपाल आयौं। २००७/२००८ सम्म हाम्रो गति सुस्त भयो। तर अहिले हामी तीव्र रुपमा अघि बढिरहेका छौं। अरु कम्पनीका मानिसहरु भनिरहेका छन्, एलआइसीको स्पीड बढेसँगै हाम्रो पनि स्पीड बढेको छ। अहिले बजारमा हलचल भइरहेको छ। पाँच/छ वर्ष अघिसम्म बजारमा यस्तो कुनै हलचल थिएन।
बैंकिङ पनि 'स्याचुरेसन' हुने अवस्थामा पुगेको छ। त्यसपछिको विकल्प भनेको जीवन बीमा नै हो। यहाँ सेयरहोल्डरले नाफा पाइरहेका छन्। बिजनेश बढ्दा सेयरहोल्डरलाई फाइदा हुन्छ। अहिले बैंकको व्याजदर ५ प्रतिशत भन्दा कम छ। तर हामी ६.५ प्रतिशत बोनस दिइरहेका छौं।
 

बीमा समितिले चुक्ता पुँजी बृद्धिको दवाव पनि दिइरहेको छ। दुई अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउने कुरामा तपाईंहरुको के छ धारणा?
विजनेशको भोल्यूम बढाउनका लागि चुक्ता पुँजी त बढाउनै पर्छ। बीमाको सबैभन्दा ठुलो कुरा भनेकै जोखिम बहन हो। त्यसैले यो अरु व्यवसाय भन्दा फरक हो। बीमा भनेको प्रेसर कति लिन सकिन्छ भन्ने पनि हो। यसमा धेरै भन्दा धेरै मानिसहरु सहभागी हुन्छन, त्यसैले चासो पनि धेरैको हुन्छ।
तपाईंले दुई हजार दिएर कसैलाई काम लगाइरहनु भएको छ र उसलाई भोलिबाट काममा नआउनुस भन्दा केही फरक पर्दैन, किनकि उसले अर्को घरमा काम पाउँछ। तर तपाईंले एकलाख तलब पाउने जागिर छोड्नुपर्यो भने त रुनुहुन्छ नि। जब धेरै पैसा हुन्छ उसको कामप्रति लगाव पनि त्यति नै धेरै हुन्छ। बीमा पनि त्यही हो।
 
पुँजी बृद्धिकालागि तपाईंका योजना के हुन सक्छन?
हाम्रो पुँजी ६५ करोड रुपैयाँ भन्दा धेरै छ। हामी नाफाबाट नै पुँजी बढाउन सक्छौं।
 
नेपालमा पुनर्बीमा कम्पनी पनि खुल्यो, नेपालको बिजनेश यसका लागि पर्याप्त छ?
रिइन्स्योरेन्स भन्ने वित्तिकै नेपालका कम्पनीले मात्रै गर्ने भन्ने होइन। यदि यहाँको पुनर्बीमा कम्पनी सक्षम छ भने भारत, बंगलादेश, श्रीलंकाका कम्पनी पनि यहाँ आउन सक्छन् । पुनर्बीमा भन्ने वित्तिकै पैसा आफ्नो देशमा मात्रै राख्नुपर्छ भन्ने होइन। अर्को देशमा पैसा राख्नु नै राम्रो मानिन्छ। हामीले अहिले पनि जर्मनी, बेलायत लगायतका देशमा पैसा राखिरहेका छौं। त्यो देशको बिजनेश हामी नेपालमा तान्न सक्छैं ।
 
नेपालमा बीमा दावी भुक्तानी किन ठुलो समस्या देखिँदै आएको छ ?
तपाईंले हाम्रो कम्पनीका म्यागेजिन हेर्नुहोस, भुक्तानी गर्नुपर्ने दावी शून्य छ। हामी क्लेम सेटलमेन्टलाई प्राथमिकतामा राखेर काम गर्छौ । आमसर्वसाधारणको काम गर्ने हो, उनीहरुलाई झुलाउने वा धोका दिने भन्ने हुँदैन।