बुबासँग बाजी जित्दा बदलिएको जिन्दगी

बिजमाण्डू
२०७१ मंसिर २८ गते ००:०० | Dec 14, 2014
बुबासँग बाजी जित्दा बदलिएको जिन्दगी
रविराज बराल/बिजमाण्डू
काठमाडौं । व्यवसाय/उद्यममा वर्षौँदेखि व्यस्त व्यक्तिले अचानक फुर्सद पायो भने समय कसरी बिताउला ?

Tata
GBIME
Nepal Life

ऊ खाली समयमा आत्तिएला वा रमाउला? कमर्ज एन्ड ट्रस्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई (४८) को कुरा मान्ने हो भने फुर्सदिलो समयलाई निकै सिर्जनात्मक बनाउन सकिन्छ।

करिब २० वर्ष ‘हेट्टिक’ व्यवसायिक जीवन बिताएका अनल फुर्सदिलो बनेपछि बारम्बार भारतमा अध्ययनरत छोराछोरी भेट्न जान भ्याएका छन्। ‘अति व्यस्त जिन्दगीले छोराछोरी कसरी हुर्के पत्तै पाइएन। घर आएका बेला पनि बढीजसो समय उनीहरुसँग बिताउँछु’, उनी भन्छन्, ‘विगतका कुरा सुनाउँछु। भविष्यका योजना बनाउँछु।‘
 
व्यक्ति एक, रुप अनेक
उनलाई पढ्नमा साह्रै रुची छ। ‘म निकै पढ्छु, खासगरी अर्थतन्त्रसँग सम्बन्धित पुस्तकहरु’, उनी भन्छन्, ‘अहिले पनि म एकैपटकमा ७/८ ओटा किताब पढिरहेको छु।‘

नेपाली भाषा र साहित्यमा उनलाई निकै रुची रहेछ। कुन पुस्तक पढ्ने भन्ने उनी इन्टरनेटमा पुस्तक समीक्षाहरु पढेर तय गर्छन्। पठनमात्र होइन, उनी लेखनमा पनि उत्तिकै रमाउँछन्। ‘भ्याएसम्म आफूले जानेबुझेका कुरा समेटेर अर्थतन्त्रसँग सम्बन्धी लेख लेख्छु’, उनी भन्छन्। लेखबाहेक उनी आक्कलझुक्कल गीत र कविता पनि लेख्छन्।

यही व्यवसायिक विश्रामका बिचमा उनले एउटा गीत लेखे- 'मनको बह मनमै राखी म हाँसु कसरी? तिमी बिनाको यो भिडमा म बाँचु कसरी?' राजेश पायल राईले गाइदिए, हरी लम्सालले संगीत भरे।

यो गीत उनले कमर्ज एन्ड ट्रस्ट तथा ग्लोबल आइएमइबीच मर्जरका क्रममा लेखेका थिए। 'बैंक मर्जर गर्दा छोरीलाई बिहे गरेर पराइको हातमा बुझाएजस्तो भएको थियो', उनले विगतको पीडा सम्झिए, 'मर्जरमा पछि हट्ने कुरा भएन। तर भावना आयो, रोकिएन। बरु गीत बन्यो।'

दुई बैंकको मर्जरपछि संयुक्त कारोबार थाल्दाको दिन अप्रिल ९, २०१४ का दिन गीत रेकर्ड भयो। बैंक मर्जरका बेला धेरै नै माया गरेको व्यक्तिलाई छोड्नुपरेजस्तो भएको थियो रे उनलाई। तर उनी पछि हटेनन्।

'व्यवसायिक सन्तुलनका लागि मर्जर आवश्यक थियो। कसैले उठाएर माथि राख्छु भन्छ भने किन लाज मान्ने?', उनले प्रश्न गरे। त्यसो त एक हजारभन्दा बढी गीत/कविता उनको डायरीमा थन्किएका छन्।

यी बाहेक उनीसँग भएको अर्को क्षमता हो कथावाचन। ‘म राम्रो कथावाचक हुँ कि जस्तो लाग्छ’, उनले भने। जुनसुकै विषयलाई पनि सजिलै ट्विस्ट गरेर कथा बनाइदिन सक्ने क्षमता आफूमा रहेको उनी बताउँछन्।।

इन्टरनेट उनका लागि उत्पादनशील ढंगले समय बिताउने माध्यम बनेको छ। उनी फेसबुकमा इन्भेस्ट्मेन्ट यअर २०१२ नामको ग्रुप म्यानेज गर्छन्, जहाँ उनीजस्ता धेरै व्यक्तिले उद्यमशीलताबारे आफ्ना विचार व्यक्त गर्छन्। लिंक्डइनमा रहेको चर्चित कन्भर्सेसन फोरम 'नेपाल डेभलपमेन्ट फोरम' मा पनि अनलले 'कन्ट्रिब्युसन' गर्छन्।

पारिवारिक दबाब
अनलका हजुरबुबा रोहिणीप्रसाद भट्टराईले ९ वर्षको उमेरमा बेलायतको अधिनमा रहेको भारतस्थित क्विन कलेजमा अंग्रेजी अध्ययनका लागि छात्रवृत्ति पाएका थिए। तर उनलाई अंग्रेजीले कहिल्यै तानेन। ‘पूर्वीय भाषा मोहले गर्दा हजुरबुबा संस्कृत पढ्न गुरुकुल जानुभयो र, संस्कृतमै स्नातकोत्तर गर्नुभयो’, उनी भन्छन्, ‘उहाँले आफ्नो मनको कुरा सुन्नुभयो र त्यसैले उहाँको जीवन बदलिदियो।‘

हजुरबुबाले लेखेका ‘वृहद् नेपाली व्याकरण’ र ‘वृहद् नेपाली शब्दकोष’ तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो।  

तर अनलको हकमा भने ठ्याक्कै उल्टो भइदियो। उनले आफ्नो मनको कुरा सुनेनन्, हजुरबुबाको सुझाव माने। हजुरबुबाले दिएको त्यही सुझावले उनको जीवन बदल्यो। बुबासँग आफ्नो जीवनयोजना सुनाउँदा उनी २२ वर्षका थिए।

‘बुबालाई भविष्यका योजना सुनाउने विचार गरेँ। मेरा लागि बुबाले पैसा खर्च गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने पनि मलाई पत्तो थिएन’, उनी भन्छन्, ‘सहयोग गर्नुस् भनेँ तर बुबाले मान्नुभएन।‘

बेलायत पढेर आएका बाबुले अमेरिका पढ्न जान्छु भन्दा रोक्लान् भन्ने उनलाई लागेको थिएन। उनले बाबुलाई सहमत गराउन सकेनन्। उनीमाथि पारिवारिक दबाब पनि थियो। किनकी हजुरबुबा विद्वान थिए, दाजु कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा बिआर्क  पढ्दै थिए। दिदीको बिहे डाक्टरसँग भएको थियो।

‘एकातिर केही गर्नैपर्ने पारिवारिक दबाब थियो भने अर्कोतिर विदेश पढ्न जाने रहरले पिरोलिरहेको थियो’, उनी भन्छन्। त्यतिबेला उनी काठमाडौंको शंकरदेव क्याम्पसमा कमर्समा स्नातक गर्दै थिए।   

बुबासँगको बाजीले बदलेको जिन्दगी
के करिअर रोज्ने भनेर किंकर्तव्यविमूढ भएका बेला एकदिन उनका हजुरबुबा नयाँ प्रस्तावसहित झुल्किए। 'चार्टर्ड एकाउन्टेन्सी पढ', हजुरबुबाले सुझाव दिए, 'बरु ढिला नगर। जतिसक्दो चाँडो गर।'

'हजुरबुबाको सुझावले म दंग परेँ', उनले सम्झिए, 'तर बुबाको चेतावनीले निराश।'

'तैँले सिए कोर्स कहिल्यै पुरा गर्न सक्ने छैनस्', बाबुले बाजी ठोके, 'यो संसारको गाह्रो विषय तैँले पुरा गर्लास् भन्ने म पत्याउन्न।' अनलले आफ्नो क्षमताका बाबजुद बाबुको च्यालेन्ज स्वीकारे।

'मैले अमेरिका पढ्न जाने विचार त्यागिदिएँ। कोर्स पुरा गर्न नसकौँला कि भन्ने डर पनि थियो मनमा', उनले सम्झिए, ' मैले परीक्षाहरुमा कहिल्यै ६० ल्याउन सकिन।'  

तर उनकी आमाको भने चाहना बेग्लै थियो। 'छोरो मन्त्री बनोस् भन्ने चाहना थियो आमाको', उनले भने, 'आमा मलाई 'मन्तरी' बन्' भन्नुहुन्थ्यो।'

उनका बाबुले च्यालेन्जमात्र गरेनन्, त्यसका लागि बाटो पनि देखाइदिए। अध्ययनका लागि भारत जानुपूर्व उनले छोरालाई चार्टर्ड एकाउन्टेन्सी फर्ममा लगे। त्यहाँ कसरी काम हुन्छ भन्ने देखाए। त्यो घुमघामले उनमा उत्प्रेरणा मिल्यो। 

त्यसपछि लागे उनी चार्टर्ड एकाउन्टेन्सी पढ्न भारततर्फ। 'बुबासँगको बाजी जित्ने यात्रा सुरु भयो। बुबाकै शब्दमा संसारकै गाह्रो विषय फेस गरेँ र योग्य पनि भएर निस्किएँ', उनले भने। बाबुले जानीजानी गरेको च्यालेन्जले उनको जीवन बदलियो।

व्यवसायिक जीवन
उनले तीनओटा बैंक स्थापना गरे- सानिमा बैंक, क्लिन इनर्जी बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक। कमर्ज एन्ड ट्रस्ट बैंकको सिइओ भएर काम गरेँ। '१० वर्षमा तीनओटा बैंक स्थापना गर्नु र गुणस्तरीय सेवासहितका संस्था बनाउनुलाई मैले आफ्नो सफलता मानेको छु', उनले भने।

उनले कमर्ज एन्ड ट्रस्ट बैंकको सिइओबाट हटेर ग्लोबल आइएमइ बैंकसँग मर्जर गराउन सहयोग गरे।

उनी ह्युमन रिसोर्सलाई संस्थाको प्राथमिक सम्पत्ति मान्छन्। 'म आफ्ना स्टाफलाई जहिलेसुकै संस्था छोडेर राम्रो मौका प्राप्त गर्न सकुन् भनेर ट्रेन गर्छु', उनी भन्छन्, 'तर संस्था छोडेर नजाओस् भनेर असल व्यवहार पनि गर्छु।'  

तर 'करिअर ओरियन्टेड' नयाँ युवाहरुमा अध्ययन संस्कृतिको अभाव भएको उनको अनुभव छ। 'अहिले मान्छेहरुमा डिग्रीमामात्र ध्यान छ', उनी भन्छन्, 'औपचारिक शिक्षा एउटा कुरा हो तर शिक्षाले त आधारभूतरुपमा हाम्रो जीवनका लागि काम गर्नुपर्‍यो।'

सकिँदै व्यवसायिक विश्राम
२० वर्षको कडा मेहनतपछिको ८ महिने व्यवसायिक विश्राम अध्ययन र रचनाका अलावा परिवारसँग रमाएर बित्यो। तर अब उनीसँग फुर्सदिला दिन धेरै छैनन्।

केही समयका लागि पाएको व्यवसायिक विश्राम अब सकिन लागेको छ। वित्तीय क्षेत्रमा केही नयाँ गर्ने हुटहुटी उनमा फेरि जागेको छ। ‘मसँग तीनओटा विकल्प छन्’, उनले भने, ‘सबै विकल्पको सम्भावना बराबर छ।‘
उनले भनेका तीनओटा विकल्प हुन्- वित्तीय संस्थामा जागिर खाने,  कुनै नयाँ प्रोजेक्ट सुरु गर्ने तथा सरकारी वा डेभलपमेन्ट एजेन्सीको परियोजना सम्हाल्ने।

'कहिले सकिन्छ त यो व्यवसायिक विश्राम?'

'जतिसक्दो चाँडो', उनले कुराकानीको बिट मारे।