वित्तीय क्षेत्र सुधारका १३ बर्ष, कति फेरियो नेपाल बैंक

बिजमाण्डू
२०७१ मंसिर २८ गते ००:०० | Dec 14, 2014
वित्तीय क्षेत्र सुधारका १३ बर्ष, कति फेरियो नेपाल बैंक


सुदर्शन सापकोटा/बिजमाण्डू
काठमाडौं। नेपाल बैंक लिमिटेडमा १३ बर्षपछि आज (आइतबार) सर्वसाधारण सेयरधनी सञ्चालक समितिमा चुनिएका छन्। बैंकको खराव कर्जा ५६ प्रतिशतभन्दा वढी पुगेको र पुँजी कोष १० अर्बभन्दा वढीले ऋणात्मक भएपछि नेपाल राष्ट्र बैंकले यो बैंकलाई समस्याग्रस्त घोषणा गर्दै आफ्नो जिम्मामा लिएको थियो।

Tata
GBIME
Nepal Life

वित्तीय क्षेत्र सुधार कार्यक्रम अर्न्तगत नेपाल राष्ट्र बैंकले २०५८ चैत १ देखि नेपाल बैंक 'टेक ओभर' गरेको थियो। त्यसयता निरन्तर सुधार गर्दै राष्ट्र बैंकले आइतबार बैंक बास्तविक सेयरधनीलाई जिम्मा लगाएर फर्किदैछ। राष्ट्र बैंकको तर्फबाट नेपाल बैंकको व्यवस्थापन जिम्मा लिएका महेश्वरलाल श्रेष्ठ सोमबारबाट फर्किँदैछन्।

'टाट उल्टिएको बैंकलाई सुधार गरेर लगभग स्वस्थ्य अवस्थामा छाडेर जाँदैछौं,' श्रेष्ठले बिजमाण्डूसँग भने, 'अब केही खराव कर्जा उठाएर पुँजी कोष अनुपात १० प्रतिशत पुर्‍याउनु पर्ने दायित्व नयाँ सञ्चालक समिति र व्यवस्थापनलाई हुनेछ।'

नेपाल बैंकको विशेष साधारणसभा गरेर राष्ट्र बैंकले आइतबारबाट बैंक बास्तविक सेयरधनीलाई बुझाएको हो। बैंकको सात सदस्यीय सञ्चालक समितिमा दुई जना सर्वसाधारणबाट चुनिएका छन्। चार जना सरकारका प्रतिनिधि र एक जना विशेषज्ञ सञ्चालक हुनेछन्।

कस्तो थियो, कस्तो भयो?
राष्ट्र बैंकले नेपाल बैंक जिम्मा लिँदा यसको खराव कर्जा ५६.२७ प्रतिशत थियो। पुँजी कोष नौं अर्ब ९३ करोड रुपैयाँ (१९.५९ प्रतिशत) ऋणात्मक थियो।  सर्बसाधारणको निक्षेप ३४ अर्ब २६ करोड रुपैयाँ जोखिममा थियो। बैंकले १९ अर्ब २५ करोड रुपैयाँ ऋण प्रवाह र सात अर्ब १५ करोड लगानी गरेको थियो।

अहिले बैंकको अवस्था पुरै फेरिएको छ। बैंकको जगेडा कोष अनुपात ५.२६ प्रतिशतले धनात्मक छ। खराव कर्जा अनुपात पनि ४.७४ प्रतिशतमा झरिसकेको छ। बैंकप्रति सर्वसाधारणको विश्वास बढेर निक्षेप ६९ अर्ब ३४ करोड रुपैयाँ पुगिसकेको छ भने कर्जा प्रवाह ४१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। लगानी २२ अर्ब ६६ करोड रुपैयाँ छ।

सुधार प्रकृयाका लागि सरकारले विश्व बैंक र डिएफआइडिसँग ऋण तथा अनुदान  लिएर नेपाल बैंकको सुधार प्रकृया थालिएको हो। राष्ट्र बैंकले विदेशी व्यवस्थापनलाई सुधार गर्न जिम्मा दिएको थियो। विदेशीले केही बर्ष बैंकको सुधार कार्य गरेपछि राष्ट्र बैंकले दोस्रो चरणमा सुधारका काम थाल्यो।

पुँजी बृद्धि
राष्ट्र बैंकले यो बीचमा डुबेका अधिकांस ऋण मात्र उठाएन, बैंकको पुँजी बृद्धिको योजना ल्याएर बैंकको वित्तीय अवस्थामा सुधार पनि गर्‍यो। ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकमा दुई बर्षअघि प्रतिएक सेयर बराबर ९.५ को अनुपातमा हकप्रद निश्कासन गरेर चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ पुर्‍यायो।

त्यसपछि सरकारले दिएको करिव दुई अर्ब ५० करोड रुपैयाँ ऋणलाई सेयरमा परिणत गरेर चुक्ता पुँजी छ अर्ब ४६ करोड रुपैयाँ पुर्‍यायो।

सुरुमा बैंकमा सर्वसाधारणको ४९.९४ प्रतिशत र सरकारको ४०.४९ प्रतिशत सेयर स्वामित्व थियो। बैंकमा दिएको साढे दुई अर्ब ऋण सेयरमा परिणत भएपछि सरकारी स्वामत्वि ६२.२ प्रतिशत पुगेको छ। सरकार नेपाल बैंकमा भएको आफ्नो सेयर रणनीतिक साझेदार भित्र्याएर उसलाई प्रिमियम मूल्यमा बेच्ने योजनामा छ।

खराव कर्जा व्यवस्थापन
राष्ट्र बैंकले नेपाल बैंक जिम्मा लिँदा खराव कर्जा ५६.२७ प्रतिशत थियो। विदेशीले व्यवस्थापन सम्हालेको वर्ष खरावकर्जाको मात्रा ६०.४७ प्रतिशत पुग्यो। खराव कर्जा बढेर पुँजी क्षयीकरण हुँदै गएको थियो। जसले गर्दा १९.५९ प्रतिशत ऋणात्मक रहेको पुँजी कोष अनुपात २९.१४ हुँदै ४३.०९ प्रतिशतसम्म ऋणात्मक भएको थियो।

सुधार प्रकृया अन्तर्गत नियतवश ऋण नतिर्नेलाई धमाधम कालोसुचीमा राख्दै धितो लिलाम गरेर पैसा असुल्ने काम गरियो। विजिनेस प्लान विग्रिएर ऋण नतिर्नेहरुका लागि बैंकले स्किम पनि ल्यायो। चौतर्फी जोडबलपछि बैंकको खराब कर्जा ४.८७ प्रतिशतसम्म झरेको थियो। बैंकको नयाँ ऋणको असुली ९८ प्रतिशतभन्दा वढी छ।

राष्ट्र बैंकले थप दुई अर्ब खराव ऋण उठाउन बैंकको नाममा आएका केही सम्पति बिक्री गर्ने योजनालाई पनि अगाडि वढाएको छ। ती मध्ये केही सम्पति बिक्री भइसकेका छन् भने केही बाँकी छन्।

केही सरकारी उद्योगहरुले ऋण तिरेका छैनन्। यस वाहेक निजी क्षेत्रको फुलवारी रिसोर्टले लिएको ऋण पनि उठ्न बाँकी छ। यो ऋण उठेमा बैंकको पुँजी कोष तोकिएको सीमा अर्थात १० प्रतिशतमाथि र खराव कर्जा २ प्रतिशत भन्दा कममा झर्ने छ।

नियामक निकायभन्दा पनि पुरानो नेपाल बैंक स्थापना भएकै ७७ बर्ष भइसकेको छ। बैंकको ७५औं बार्षिकोत्सवमा राष्ट्रपति डा. रामवरण यादवले भनेका थिए– 'नेपाल बैंक डुब्छ नै भनेर समाचारहरु आइरहेका थिए। यो बैंकमा मेरो भावना पनि जोडिएको छ। आज बैंक पुरानो अवस्थामै फर्किएको देख्दा निकै खुसी लागिरहेको छ।'

नयाँ सञ्चालक समितिका चुनौती
नेपाल बैंकबाट राष्ट्र बैंक फर्किएपछि व्यवस्थापनको नेतृत्व गर्ने प्रमुख कार्यकारी अधिकृत तुरुन्तै नियुक्त गर्नुपर्ने हुन्छ। श्रेष्ठले छाडेपछि त्यहीका महाप्रबन्धक दुर्गाराज रेग्मी कामु प्रमुख कार्यकारी हुनेछन्।

बैंकले फुलफ्लेजमा काम गर्नका लागि नयाँ प्रमुख कार्यकारी नियुक्ती प्रकृया सुरु गर्नु पर्नेहुन्छ। पहिले पनि सरकारको प्रत्यक्ष हस्तक्षेपका कारण बैंकको वित्तीय अवस्था तहस नहस भएको थियो। पुरानो गल्तिहरुबाट सिक्दै बैंकमा हस्तक्षेप हटाउनु पर्छ। बैंकमा अहिले पनि चार जना सरकारी प्रतिनिधि सञ्चालक समितिमा हुन्छन्।

अर्कोतर्फ बैंकको अझै पनि केही खराव कर्जा उठ्न बाँकी छ। राष्ट्र बैंकको पहलमा सरकारले सेयर लगानी त बढाएको छ तर खराव कर्जा अब नयाँ सञ्चालक समितिले नै उठाउनु पर्छ।  सरकारले पनि आफ्ना उद्योगले नतिरेका ऋणहरु भुक्तानी गर्न पहल गर्नुपर्ने हुन्छ।

आधाभन्दा धेरै घटे कर्मचारी
राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापन लिँदा कर्मचारी संख्या पाँच हजार नजिक थिए। अहिले क्रमसः घटेर १९ सय ८९ छ। पुराना कर्मचारीलाई स्वेक्षिक अवकास दिएर बैंकले नयाँ भर्ना गर्न थालेको छ।

राम्रो शैक्षिक योग्यता भएका कर्मचारीहरु सार्वजनिक सुचना जारी गरेर नै नियुक्त गर्न थालिएको छ। यसबाट पनि बैंकको वित्तीय स्वास्थ्यमा सुधार आएको हो। पहिले पाँच हजार कर्मचारीले एक सय १३ वटा शाखामा सेवा दिन्थे, तर पनि ग्राहकमैत्री सेवा प्रवाह भएको थिएन।

अहिले बैंकका १९ सय ८९ कर्मचारीले एक सय २० शाखा र ६ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिन्छन्। बैंकका सबै शाखा प्रविधिले एक अर्कामा जोडिएका छन्। एउटा शाखामा खाता खोलेका ग्राहकले अर्को शाखाबाट सेवा उपभोग गर्न पाएका छन्। बैंकले एटिएम जडान गरेको छ। इन्टरनेट बैंकिङ सुरु भएको छ।

वित्तीय सुधार कार्यक्रम कति सफल ?
वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गर्दा अर्ध सरकारी स्वामित्वको नेपाल बैंक र पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक टाट पल्टिने अवस्थामा पुगिसकेका थिए । यी दुई ठूला बैंकको जोखिम समग्र वित्तीय प्रणालीमा देखिन थालिसकेको थियो ।

नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. तिलक रावलले सार्वजनिक समारोहमै यी दुई बैंक टाट पल्टिने अवस्थामा पुगेपछि ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम लागु गरेको मन्तव्य दिएका थिए ।

कर्जा असुली नहुने, बैंकहरु लगातार नोक्सानमा जाने र धेरै कर्मचारी पाल्न सर्वसाधारणले बैंकमा जम्मा गरेको निक्षेप नै प्रयोग गर्नुपर्ने अवस्था देखिएको थियो । व्यवस्थापन करारमा दिएपछि यो अवस्थामा परिवर्तन भयो ।

दुबै बैंकले खुद नाफा कमाउन थाले । सुधार कार्यक्रम चल्दासम्म राजनीतिक हस्तक्षेप भएन । जथाभावी कर्जा दिने प्रबृत्तिमा पनि सुधार आयो । कर्मचारीको संख्यामा धेरै कटौति भयो, यसले बैंकको अनुत्पादक खर्च घट्यो । यही सुधारको बहानामा केन्द्रिय बैंकको नियमन अनुगमन क्षमतामा सुधार ल्याउने प्रयास भयो ।

प्रधान र सिंह नयाँ सञ्चालक
नेपाल बैंकको सञ्चालक समितिमा दुई जना सर्वसाधारणबाट चुनिएका छन्। बैंकको सञ्चालक समितिमा निश्चल प्रधान र सुरेन्द्रवहादुर सिंह चुनिएका हुन्।

प्रधान ठूला सेयर लगानीकर्ता भनेर चिनिएका निर्मल प्रधानका छोरा हुन् भने सिंह यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए । नेपाल बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएपछि निर्मल प्रधान समूहले खरीद गरेको थियो। सञ्चालकका लागि सर्वसाधारणबाट दुई जना वाहेक अरुले दावी गरेका थिएनन्।