राजनीति सहमतितिर गएपछि लगानीकर्ता उत्साहित, नेप्से ४० अंक बढ्यो, सूचक नाैसय माथि

बिजमाण्डू
२०७१ मंसिर २८ गते ००:०० | Dec 14, 2014
काठमाडौं । संविधान निर्माणमा दलहरु सहमति नजिक पुगेको समाचार सार्वजनिक भएपछि सेयर बजार करिव ३९.३८ अंकले बढेको छ । बजार खुल्दादेखि नै निरन्तर बढिरहेको थियो ।
 
बजारमा ४.५२ प्रतिशतको बृद्धिसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । कारोबार रकम पनि बढेको छ । आइतबार २८ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार घट्दा कारोबार रकम १७ करोडमा झरिसकेको थियो ।
 
‘पहिले बजार बढ्दा लगानीकर्ता बिक्री गर्न तम्सिन्थे, यसपाली त्यस्तो देखिएन,’ सेयर खरिद बिक्री गर्ने ब्रोकर कम्पनी दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेस सापकोटाले भने, ‘बजार बढ्न थालेपछि बिक्री गर्नेभन्दा खरीद गर्ने लगानीकर्ता धेरै देखिए ।’
 
उनका अनुसार, बजार अझै घट्छ भनेर बसेका लगानीकर्ताहरु पनि बजार बढ्न थालेपछि धमाधम सेयर खरीद गर्न थालेका छन् । 

 
गत बिहीबार पनि बजार १६ अंकले बढेको थियो । राजनीतिक अन्यौलका कारण पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु संघियतामा दलहरुबीच सहमति बन्दै गएपछि आशावादी देखिएका हुन् ।
 
साताको पहिलो दिन बजारका सबै सुचकहरु हरियो भएका छन् । नियामक निकायहरुले यसअघि नै बजारका अन्यौलहरुलाई नीतिगत परिवर्तन गरेर शंवोधन गरिसकेका छन् । 
 
बिटी ऋण ठप्प भएको र डिम्याट ऋणको पैसा पनि बजारमा नआइसकेको अवस्थामा कारोबार रकम करिव ३० करोडको हाराहारीमा पुग्नुले लगानीकर्तालाई  सकारात्मक संकेत गरेको छ, सेयर विश्लेषक बलराम रिमालले बिजमाण्डूलाई भने ।
 
‘ऋणको पैसा बजारमा नआउँदै ३० करोडको कारोबार हुनु भनेको पैसा आउँदा करिव ५०÷६० करोडको हाराहारीमा पुगेजस्तै हो,’ उनले भने । बजारले केही समय अझै गति लिने जानकारी दिए ।
 
उनका अनुसार, ठूला लगानीकर्ताहरुले सेयर किन्न थालेपछि ९५० को अंकमा बजार केही करेक्सन हुन सक्छ । ‘करेक्सनको साइकल सात दिन पनि टिक्दैन त्यसपछि बजार थप उकालो लाग्ने देखिन्छ,’ रिमालले भने ।
 
सबैभन्दा वढी जलविद्युत् (१४४ अंक), होटल (१४२) र बिमा (११६) अंकले बढेको छ । सबैभन्दा वढी कित्ता सेयर सुचिकृत भएको बाणिज्य बैंकहरुको समूह पनि ४३.५ अंकले बढेको छ । विकास बैंक १९, फाइनान्स पाँच, उत्पादनमूलक ९ र अन्य १४ अंकले बढेको छ ।
 
सबैभन्दा वढी एनआइसि एसिया बैंकको सेयर कारोबार भएको छ । बैंकको दुई करोड ७२ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । चिलिमेको दुई करोड ६० लाख, एभरेष्ट बैंकको एक करोड ३६ लाख, सानिमा बैंकको एक करोड २५ लाख र नेपाल बैंकको एक करोड १४ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।
 
बढी कमाउनेमा गरिमा विकास बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, सोल्टी होटल र मालिका विकास बैंकका लगानीकर्ता छन् । बजार बढ्दा पनि गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्सका प्रबद्र्धक सेयरधनी छन् । प्रुडेन्सियल इन्स्योरेन्स, माउन्ट मकालु डेभलपमेन्ट बैंक, आइसिएफसी फाइनान्स र एभरेष्ट फाइनान्सका लगानीकर्ताले पनि गुमाएका छन् । 
 
आइतबार एक सय २४ कम्पनीका सेयर किनबेच भएका छन् । २२ सय १० वटा कारोबारमा १० लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । 

Tata
GBIME
Nepal Life