सेयर बजारमा तिब्र उतार चढाव, सात अंकले बढ्यो, खरीदमा लगानीकर्ता सक्रिय

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014
काठमाडौं । अघिल्लो दिन झन्डै ४० अंकले बढेको सेयर बजारले सोमबार पनि लगानीकर्तामा उत्साह थपेको छ । बजार खुलेको २७ मिनेटभित्र सुचक १६ अंकले बढेको थियो, त्यसपछि क्रमस १० अंकसम्म घटेको थियो । 
 

Tata
GBIME
Nepal Life
बजार पछिल्लो समय फेरि बढ्दै गएर ६.७३ अंकको बृद्धिसहित बन्द भएको छ । 
 
सुरुमा बजार बढ्दा लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि घटेको थियो, तर बजारमा फेरि खरीद चाप बढेपछि बजारको बृद्धि दर रोकिन पाएन । 

दिनेश सापकोटा 
प्रबन्ध निर्देशक. दक्षिणकाली सेक्युरिटिज 


 
आइतबार ९१० अंकमा बन्द भएको बजार सोमबार बजार खुलेको केही समयमै ९२६ अंकसम्म पुगेको थियो । त्यसपछि घटेर नौं सयसम्म झरेको बजार फेरि बढेर ९१६ अंकमाथि बन्द भएको हो । 
 
‘सुरुमा बजार बढ्दा लगानीकर्ताहरुले नाफा बुक गर्न थालेपछि घटेको थियो, तर बजारमा फेरि खरीद चाप बढेपछि बजारको बृद्धि दर रोकिन पाएन,’ सेयर किनेबेच गर्ने ब्रोकर कम्पनी दक्षिणकाली सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले भने, ‘बजारमा विस्तारै संस्थागत लगानीकर्ताहरु पनि छिर्न थालेकाले बृद्धि स्थायी प्रकृतिको देखिन्छ ।’ 
 
उनका अनुसार, राजनीतिक वातावरणमा सुधार हुँदै गएकाले विवादित विषयहरु मिल्नेमा लगानीकर्ताहरु आशावादी देखिएकाले पनि बजार बढेको हो । 
 
बजारको बृद्धिसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दोस्रो दिन ३५ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यो आइतबारको तुलनामा सात करोड रुपैयाँले बढी हो । 

 

ठूलो लगानीकर्ताले अहिले सुक्ष्म रुपमा मात्र सेयर उठाइरहेका छन्, उनीहरुले फुल फ्लेजमा सेयर उठाउन थालेपछि केही करेक्सन (घट्छ) हुने छ, त्यो करेक्सन छोटो अवधिको मात्र हुने भएकाले पुनः बजार बढ्न थाल्ने छ ।

‘कारोबार रकम बृद्धिले बजारको बृद्धिको स्थायित्व जनाउँछ,’ विश्लेषक वलराम रिमालले बिजमाण्डूसँग भने । उनका अनुसार, बजारमा केही तप्का (ठूला लगानीकर्ता) ले सेयर उठाउन बाँकी रहेकाले आज (सोमबार) उतारचढाव देखिएको हो । 
 
‘ठूलो लगानीकर्ताले अहिले सुक्ष्म रुपमा मात्र सेयर उठाइरहेका छन्, उनीहरुले फुल फ्लेजमा सेयर उठाउन थालेपछि केही करेक्सन (घट्छ) हुने छ,’ उनले भने, ‘त्यो करेक्सन छोटो अवधिको मात्र हुने भएकाले पुनः बजार बढ्न थाल्ने छ ।’ बजार करेक्सन ९५० अंकको छेउछाउ हुन सक्ने उनले बताए । 
 
बजारमा बिटी तथा बैंक ऋणको पैसा आइनसक्दै ३५ करोडको कारोबार हुनुले लगानीका लागि आगामी दिन अवशरका रुपमा रहेको बताउँदै रिमालले बैंकको पैसा बजारमा आउन थालेपछि बजारमा थप सुधार आउने बताए ।
 
‘ऋणको रकम बजारमा नआउँदै ३५ करोडभन्दा वढीको कारोबार हुनु भनेको फुल भोल्युम हो,’ उनले भने, ‘ऋण रकम आउन थालेपछि पुरानो अवस्थामै बजारमा कारोबार रकम बृद्धि भएर जाने छ ।’ उनले बैंकको ब्याज दर घटिरहनु पनि बजारका लागि सकारात्मक भएको भन्दै एनआइबिएल क्यापिटलले गर्ने एक सय करोड रुपैयाँको लगानीले पनि बजारमा सेयरको माग सृजना गर्ने जानकारी दिए । 
 
‘अहिलेको बृद्धि फन्डामेन्टल हिसाबले हो, संविधान बन्ने सुनिश्चितता मात्र देखिए पनि बजारले पुराना सबै रेकर्डलाई तोडेर अगाडि वढ्छ,’ उनले भने ।
 
विकास बैंक र व्यापार समूहबाहेक सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा वढी बृद्धि बिमा कम्पनीको छ । बिमा समूह ४९ अंकले बढेको छ । यसपछि जलविद्युत १२, होटल र बैंकिङ करिव सात, उत्पादनमूलक साढे पाँच, अन्य साढे तीन अंकले बढेको छ । 
 
सोमबार सबैभन्दा प्यासिफिक डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, मालिका विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा एकता विकास बैंक, कैलास विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र विश्व विकास बैंकका लगानीकर्ता छन् ।
 
कुल साढे ३५ करोड रुपैयाँको कारोबारमध्ये सात करोड ३१ लाख रुपैयाँको सेयर नेपाल बैंकको किनबेच भएको छ । यसपछि एभरेष्ट बैंकको दुई करोड ५१ लाख, चिलिमेको दुई करोड २० लाख, एनसिसी बैंकको एक करोड ९३ लाख र सानिमा बैंकको एक करोड ३३ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।