विप्लव कमरेड ! शत्रु मात्रै घोषणा गरेर देश कहिले बनाउने ?

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014
विप्लव कमरेड ! शत्रु मात्रै घोषणा गरेर देश कहिले बनाउने ?

Tata
GBIME
Nepal Life
  • प्रभात भट्टराई

जुलाई सन् १९७१ मा पाकिस्तान भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री हेनरी किसिङ्गर अचानक बिरामी परे। उनी पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने र आराम गरिरहेको बताइयो। तर कहाँ र कसरी आराम गर्दैछन् वा कुन अस्पतालमा जँचाए भन्नेबारे केही उल्लेख गरिएन।

वास्तवमा बिरामी भएको बहाना बनाएर उनी इस्लामावादबाट गुपचुप शैलीमा बेइजिङ उडेका थिए त्यो दिन। माओसँग हात मिलाएको उनको फोटो सार्वजनिक भएपछि बल्ल उनको बिरामीको राज खुलेको थियो।

सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछि अमेरिका र चीनको सम्बन्ध खराब थियो। अमेरिकीहरु ताइवानमा सीमित पुरानो सत्तालाई आधिकारिक चीनको दर्जा दिन्थे। यतिसम्म कि सन् १९६० मा अमेरकी राष्ट्रपति ड्वाइट डि इसेनआवरले ताइवान भ्रमण गरी बेइजिङबाट लखेटिएका राष्ट्रपति चाउ एन लाईसँग संयुक्त सैनिक सलामी लिएका थिए। आधिकारिक चीनको नेता उनी नै भएको बताएर फर्किएका थिए। संयुक्त राष्ट्र संघको स्थायी सदस्यको दर्जा पनि ताइवानलाई नै दिएको थियो पश्चिमा समुदायले त्यसबेला ।

यस्तो पृष्ठभूमिमा राष्ट्रपति रिचर्ड निक्सनको दूतको रुपमा बेइजिङ पुगेका थिए किसिङ्गर। चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले त्यसको वातावरण बनाएका थिए । माओलाई समेत भेटेर निक्सनको चीन भ्रमणको चाँजो मिलाएर किसिङ्गर गुपचुप फर्किएका थिए। हार्वर्ड विश्वविद्यालयका पूर्व प्राध्यापकसमेत रहेका किसिङ्गरले ठूलै जोखिम उठाएर त्यसबेला बेइजिङ उत्रिने साहस गरेको चीनको अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापकहरु बताउँछन्।

किसिङ्गरको गोप्य यात्रा लगत्तै निक्सनले सन् १९७२ मा बेइजिङ भ्रमण गरे। यसरी अमेरिकाले नाटकीय शैलीमा जनवादी गणतन्त्र चीनलाई स्थापनाको झन्डै साढे दुई दशकपछि मान्यता दियो। भलै औपचारिक रुपले दुई पक्षीय कुटनीतिक सम्बन्ध विकास हुन सन् १९७९ सम्म नै कुर्नु परेको किन नहोस्।

सन् १९७६ मा चेयरमेन माओको निधनपछि देङ स्याओ पेङ चीनको राजनीतिको केन्द्रमा उदाए। मुलुकको राष्ट्रपति नभए पनि चिनिया कम्युनिष्ट पार्टीको महासचिव रहेका देङको राज्यको नीति निर्माणमा मुख्य हात रह्यो। उनी आफैले सन् १९७९ मा अमेरिका भ्रमण गरे।
 
को शत्रु को मित्र ?
चीनको अन्तराष्ट्रिय सम्बन्धमा चासो राख्नेहरुका माझ चेयरमेन माओ र देङस्याओ पेङको एउटा उक्ति खुबै चर्चित छ। चेयरमेन माओ भन्ने गर्थे, तिमी मेरो समर्थक होइनौँ भने तिमी मेरो शत्रु हौ। तत्कालीन सन्दर्भमा उनको शत्रु र मित्र सम्बन्धि यो फर्मूला सान्दर्भिक पनि लाग्छ।
पेङको भनाइ भने माओको भन्दा १८० डिग्री फरक थियो। उनले भने तिमी मेरो विरुद्धमा छैनौ भने तिमी मेरो मित्र हौ। उनले शत्रुको परिभाषालाई मित्रमा बदले।

सन् १९७७ मै देङको नेतृत्वमा चीनले खुला आर्थिक नीति लियो, विदेशी लगानी क्रमशः खुला गरियो, स्थानीयलाई पनि व्यवसाय र लगानीका लागि प्रोत्साहन गरियो, केन्द्रीय बैँकले उत्पादन क्षेत्रमा कर्जा प्रवाहको नीति लियो। हेर्दाहेर्दै चीनको अनुहार फेरिन थाल्यो।
विश्वका टप बहुराष्ट्रिय कम्पनीका लागि चीन फ्याक्ट्री बन्यो। मुलुकमा रोजगारी बढ्न थाल्यो। उद्योगका लागि चीनले जत्तिको सहज व्यवस्था अमेरिकाले गर्न नसक्ने भएकाले एप्पलको फ्याक्ट्री चीनमा राखेको जवाफ स्टिभ जब्सले राष्ट्रपति ओबामालाई दिए। र बिस्तारै चीन विश्वको एक नम्बर निर्यातकर्ता मुलुक बन्यो।

शिक्षामा नयाँ अवसरहरु सिर्जना भए। बिस्तारै चीनका स्थानीयले समेत व्यवसायमा नयाँ प्रयोग र सोच दिन थाले। त्यसैको परिणाम हो सामान्य स्कूले शिक्षक रहेका ज्याक माले सन् १९९९ मा सुरु गरेको अलिबाबा कम्पनी १५ वर्षमै न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ। ज्याक चीनका सबैभन्दा धनाढ्यको रुपमा फोब्सको अर्बपति सूचीमा छन्।

एक समय शत्रु रहेको अमेरिकी ट्रेजरीमा चीनले ८ सय मिलियन डलर भन्दा बढी लगानी गरेको छ अहिले।
शत्रु घोषणाको प्रतिस्पर्धा
अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषले चीन विश्वको एक नम्बर अर्थतन्त्रमा उक्लिने प्रक्षेपण गरेसँगै अब नेपालको उत्तरी छिमेकीको नयाँ यात्रा सुरु हुन लागेको छ। नेपालले चाहीँ कहाँबाट हिँड्न थाल्ला भन्ने प्रश्न पनि टड्कारो भएको छ।

नेपालमा आज पनि शत्रु घोषणाको प्रतिस्पर्धा सेलाएको छैन। माओलाई आदर्श मानेर उनको पदचिह्न पछ्याउन कसैलाई शत्रु घोषणा गर्दैगर्दा माओ आफैँले किसिङ्गर र निक्सनसँग किन हात मिलाए होला भन्ने यथार्थ विश्लेषण गर्न नेपालमा आफूलाई कम्युनिष्ट बताउनेहरुले सकेका छैनन्।
 
हेटौडा महाधिवेशन होस्, जोरपाटी भेला होस या नवलपरासी हुँदै चितवनमा टुङ्गिएका ‘ऐतिहासिक’ सम्मेलन नै किन नहुन्। सबैमा एउटा काम अवश्य भएको छ, शत्रु पहिचान।

सच्चा नेतृत्वले घोषित शत्रुहरुसँग हात मिलाउँदै अग्रमनको बाटो समात्छ र बिस्तारै शत्रु शब्दनै आफ्नो शब्दकोशमा 'हाइड' गर्न थाल्छ। जीवनको उत्तरार्ध्दमा माओले पनि त्यही गर्न थालेका थिए। माओलाई सुरुदेखि अन्तिमसम्म बुझेका देङले आफ्नो यात्रा त्यहीँबाट सुरु गरे, जहाँ माओ जीवनको अन्तिम क्षणमा पुगेका थिए ।

देङले फेरि शत्रु घोषणाको जोस देखाएनन्। उनले १९४९ मा फर्किएर कहीँ नपुगिने बुझे। १९७६/७७ मा आफू रहेको मात्र बुझेनन्, आउन लागेको २१ औँ शताब्दीको राप र तेज पनि आँखा अगाडि देखे। त्यसैले उनले यात्रा त्यहीँबाट सुरू गरे जहाँ उनी आइसकेका थिए। आफ्नै पार्टीलाई समर्थन गरे पनि कमिसन उठाएर अर्थतन्त्रको गति अवरुद्ध पारेको ग्याङ फोरका सदस्यलाई पक्राउ गरे ।

यो सुन्दा नेपालका दलहरुलाई कस्तो लाग्दो हो कुन्नि तर देङ्ले ती कार्यकर्तालाई पक्राउ गरे, जसले पार्टीको हित गरे पनि देशलाई घाटा पुर्‍याइरहेका थिए। नेपालको सन्दर्भमा त्यो भनेको मध्य भोटेकोशी आयोजनामा तेलको कमिसन पाइएन भनेर आक्रमण गर्ने सबैलाई चारै दलका नेताले एकमुख भएर प्रशासनको जिम्मा लगाउनु जस्तै हो।

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि आएको जिएमआरको बेस स्टेसनमा आगो लगाउने आफ्ना कार्यकर्तालाई पक्रनका लागि सम्बन्धित दलका नेताले पुलिसलाई अनुरोध गर्नु जस्तै हो।

अब हामीले यी काम कति गर्न सक्यौँ या सकिएला सबैले सोचौँ। देङको त्यसबेलाको कामलाई हाम्रो सन्दर्भमा सम्झिन मात्र खोजेको हो।
विप्लव १९४९ मै ?
अहिलेको सन्दर्भमा, कमरेड विप्लव कमरेड प्रचन्ड भन्दा पनि छलाङ मारेर अगाडि जानेछन् भन्ने लागेको थियो। उनले माओको रेडबुकसँगै उनको जीवन पनि पढेका होलान् भन्ने लागेको थियो। लागेको थियो कमरेड विप्लवले सन् १९४९ को चीन मात्र होइन त्यसपछि १९७६ सम्मको र फेरि ७६ यताको वास्तविक हालत पनि बुझेका होलान्।

दुःख लाग्छ, उनी त १९४९ मा पनि आइपुगेका रहेनछन्। त्यसयताको त कुरा के गर्ने।

हो, आज चीन आर्थिक रुपले विश्वशक्ति बन्ने होडमा छ। तर फुइँ लडाएर  या शत्रु घोषणा गरेर होइन। कसैलाई विस्तारवादको आरोपसहित धम्क्याएर पनि होइन। आफ्नो बलमा। आफ्नै पौरखमा। अझभन्दा हिजोका ‘शत्रु’हरुसँग हात मिलाउँदै, अँगालो मार्दै चीन अघि बढेको छ।
वृद्धवृद्धालाई हेरचाह पनि विदेशीको
हुँदाहुँदा चीनले दुई साताअघि मात्र वृद्धावस्थाको केयर गिभिङ सर्भिसमा पनि प्रत्यक्ष विदेशी लगानी खुला गरेको छ। अर्थात् अब कुनै विदेशी पुँजीपतिले पैसा लिएर चीनका बुढापाकालाई हेरचाह गर्न सक्छ। कमरेड विप्लव, कृपया अब भन्नुहोस् तपाइँ अहिले चीनको नीति निर्माणमा हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो?  चीनमा बुढापाकाको संख्या बढ्दो छ। तर उनीहरुलाई हेर्ने तन्नेरी घरमा छैनन्। एक सन्तान नीत अन्तर्गत जन्मिएका छोराछोरी करियर र कामको सिलसिलमा घरबाट कतै टाढा छन्। अब वृद्धवृद्धालाई कसले रेखदेख गर्ने त? तपाइँ भए के गर्नुहुन्थ्यो होला?

‘दलाल पुँजीपति’हरुलाई निषेध गरेर वृद्धवृद्धालाई स्वाभिमानपूर्वक घरको कुनै एउटा छिँडीमा कुहिएर मर्न लगाउनु हुन्थ्यो? या अरु कुनै उपाय हुने थिए तपाइँसँग?

तर्कका लागि तपाइँसँग अनेक उपाय हुन सक्लान् तर सत्य जवाफ तपाइँसँग छैन। फगत क्रान्तिले कसैको पेट भरिन्न कमरेड। चीनका जनताको पनि भरिएको थिएन १९४९ देखि १९७० को दशकको अन्त्यसम्म। सन् १९८० मा चीनमा गरिबीको रेखामुनि ४० दशमलव ६५ प्रतिशत जनता थिए। सन् २००९ मा यो संख्या ३ दशमलव ८ प्रतिशतमा झरेको छ।

यो सम्भव तब मात्र भयो जब राज्यले खुलापन अँगाल्यो। घृणा अन्त्य भयो र सकारात्मक चिन्तन प्रवाह भयो। विदेशी लगानीकर्ताले उद्योग खोल्न थाले।

पुँजीपतिले पैसा नाफा कमाउनकै लागि लगानी गर्छ। तर त्यसैबाट रोजगारी सिर्जना हुने हो। राज्यले कर लिने हो र त्यो रकम देश विकास र कल्याणकारी काममा खर्चने हो। आफ्नो पछि नलाग्नेलाई शत्रु घोषणा गरेर एकोहोरो क्रान्तिको आलाप गर्दा न आफू बदलिइन्छ न देश नै।
जबसम्म हुनेहरुलाई थप उत्पादनका लागि प्रोत्साहन गरिन्न, तबसम्म नहुनेहरुको पेट भर्ने उपाय झन् हुँदैन। चीनको इतिहासले त त्यस्तै भन्छ।

हो, एउटा फरक भनेको चीनमा एक दलीय शासन व्यवस्था छ।  तर त्यो अरु विदेशीको चासोको विषय पनि होइन। यहाँका जनताले रोज्ने हो आफ्नो शासन व्यवस्था।

बाँकी रह्यो चीनको समाज, बजार र रहन-सहन जुन आफैँमा खुला छ। चीनका भित्री तहसम्मका स-साना शहरमा समेत केएफसी र पिज्जाहटहरु छन्। धेरै चिनियाँ तन्नेरी लवाइखवाइमा मल्टी नेशनल ब्रान्डमै रुचि राख्छन्। साथसाथै चीनबाट सुरु भएका अलिबाबा र हुवावे जस्ता कम्पनीले पनि बाँकी विश्वलाई क्रमशः फेरो मार्न थालिसकेका छन्। त्यसैले त चीन आज विश्व आर्थिक शक्ति हुने क्रममा छ। ग्लोबल भिलेजमा उसको अत्यन्त टड्कारो र प्रभावशाली उपस्थिती तथा खुलापनको उपज हो यो।

संविधान बन्यो भने माघ ८ पछि हामी चीनको सन् १९७७ तिरको अवस्थामा हुनेछौँ। अर्थात् हामीसँग जनताको जीवनस्तर बदल्न आर्थिक उन्नतिको काम मात्र बाँकी रहन्छ त्यसपछि। हाम्रा अरुखाले राजनीतिक क्रान्ति पुरा भइसकेका छन्। अरु थप क्रोध र घृणाले सिर्फ विनाश मात्र ल्याउने हो। विप्लव कमरेड, कृपया भ्रमबाट जतिसक्दो चाँडो ब्युँझनुहोस्। माओलाई सम्मान गर्दै मुलुकका लागि भूमिका चाहिँ देङ स्याओ पेङको नै निभाउनुहोस्। माओको सपना साकार पार्न आज हामीलाई पेङको नै खाँचो छ।

(बिजमान्डुमा आवद्ध भट्टराई हाल उच्च शिक्षाका लागि चीनको साङ्घाईस्थित टोङ्ग्जी विश्वविद्यालयमा छन्)