राजनीति इसारामै घुमेको हो त सेयर बजार ? : नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
राजनीति इसारामै घुमेको हो त सेयर बजार ? : नीरव पुडासैनीको लेख
नेपालको सेयर बजार आफ्नै जोरबलमा चले जस्तो लाग्छ । अर्थमन्त्री, अर्थशास्त्री तथा वित्तीय बजारसँग सम्बन्धित सबै जसो विद्वानले दिनहुँ बजार घट्नुको खास कारण छैन भनेर भनिरहँदा पनि गत केहि साता ओरालो लाग्ने क्रम रोकिएन । बजारले उनीहरुको विद्वताको ठाडो उलङ्घन गरेको महसुश हुन्छ । अर्थमन्त्री, अर्थतन्त्रमा धेरै सुधारका संकेत देख्छन् तर बजार त्यसको ठीक विपरीत चल्छ । 
 
चरम राजैनैतिक अन्योलकोबीच विद्वानहरुबाट आएका यस्ता भाषणले बजारलाई त्यति प्रभाव पार्दैन भन्ने कुरा बुझ्न जरुरी हुन्छ । दोस्रो संविधानसभाको निर्वाचनको पूर्व सन्ध्याबाट बढ्न सुरु भएको नेप्से संविधान जारी गर्न तोकिएको म्याद नजिक आउँदा सिथिल देखिनुले यसलाई पुष्टि गर्छ । यसो भनिरहँदा राजनितिलाई दोष दिन खोजेको भने होइन । अन्यथा भोलि देखिनै हाम्रा विद्वान अर्थ विज्ञ सरह राजनेताले पनि बोल्न सुरु गर्नेछन्, ‘नेप्से घट्नुमा राजनैतिक कारण केही छैन’ भनेर । 
 
तर जसले जे बोले पनि, लेखे पनि, बजार आफ्नो गतिमा चलिनै रहने छ । चुनावी सभामा नेताहरुले बोलेको भरमा ग्रामीण ट्रयाक बाटो खोले सरह नेप्सेले आफ्नो नयाँ ट्रयाक खोल्नेवाला छैन । नयाँ ट्रयाक पहिल्याउन नेप्सेलाई आधार चाहिन्छ, कसैले बोलेको भरमा नेप्से चल्दैन । अर्थतन्त्र सुधारउन्मूख छ भन्दैमा पुग्दैन, त्यसका आर्थिक सूचकहरु जस्तै उपभोक्ता मूल्य सूंचांक (सीपीआई), बेरोजगारीदर वा रोजगारी बृद्धि दर, बिलासी वा टिकाउ सामानहरुको माग आदि सूचकहरुको पनि ख्याल गर्नु जरुरी हुन्छ । जसको तथ्याङ्क आम लगानीकर्ताको लागि त्यति सुलभ छैन । अनि कसरी र केको आधारमा अर्थतन्त्रको मापन गर्ने आम लगानीकर्ताले ? 
 
अत्याधिक तरलताको कारण ब्याजदर र ट्रेजरी बिल्सको बट्टादरमा गिरावट आउनु मात्र अर्थतन्त्रको सुधारको संकेत हो भने किन बजार बढिरहेको छैन त ? हालको तरलतामा लगानि योग्य पुँजीको हिस्सा कति छ ? यस्ता कुराहरु पनि प्रष्ट हुनूपर्छ । त्यसकारण फगत जपाइ मात्रको अर्थतन्त्र सुधारको कुराले नेप्सेको चाललाई फरक पार्दैन । 
 
हुन त नेपालको उपभोक्ता मूल्य सूचकाङ्क, बेरोजगारी दर, विलासी सामानहरुको माग र सवारी साधनको बिक्रिबीच कुनै पनि सम्बन्ध नभए जस्तो देखिन्छ । तसर्थ यस्ता तथ्याङ्कहरुको आधारमा सेयर कारोबार गर्न त्यति सम्भव पनि छैन । कारण के हो भने बेरोजगारी दर बढिरहेको बेलामा विलासी तथा सवारीसाधनको माग पनि बढ्दो देखिन्छ, जून आश्चर्यजनक छ । खैर यस विषय भित्र धेरै गहिरिनु त्यति उपयुक्त नहोला । भन्न के मात्र खोजेको हो भने सेयर बजारको अनुशासित कारोबार हुनको लागि यस्ता सूचकाङ्कहरुको नियमित पहुँच आम लगानीकर्ता माझ हुन जरुरी छ । 

हालको संक्रणकालीन अवस्थामा राजनीति क्षण क्षणका अस्थिर खबर नै प्रयाप्त छन्, नेप्सेको गतिका लागि । किनभने आम लगानीकर्ताहरु माघ ८ को सुगा रटाईमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेर बसेका छन् ।

Tata
GBIME
Nepal Life

त्यही कारण अखबारको पानामा केहि सुधार उन्मुख राजनैतिक समाचार आएको दिन नेप्सेको पहिलो घण्टामा बजार हरियो देखिन्छ र त्यो सहमति भंग हुने नहुने भन्ने कुराको निधार्रण दिउँसोको अर्को समाचारले गरेपछि नेप्से फेरि रातो हुन थाल्छ । यसरी राजनीतिको आधारमा वा भनौं ‘पोलिटिकल फन्डामेन्टल’को आधारमा बजार चलिरहेको छ । 

 
आम लगानिकर्ताहरु जसले यस किसिमको पोलिटिकल फन्डामेन्टललाई बुझेका छन् उनिहरु नियमित कारोबार गर्छन । उनिहरु उचित समयको पखाईमा रहन्छन्, सेयर खरिद गर्छन् र उपयुक्त समयमा बिक्री पनि । उनिहरुलाई थाहा छ सेयर सधैं नाफामा मात्र राफसाफ गर्ने होइन, समयको माग अनुसार कहिले काँही घाटामा पनि बिक्रि गर्नुपर्छ । नेप्सेको गत वर्ष कार्तिकदेखि असारसम्मको कारोबार हेर्ने हो भने त्यो प्रष्ट हुन्छ । नेप्से त निरन्तर चलिरहन्छ तर लगानीकर्ताले आफ्नो मुनाफा सुरक्षित आफैंले गर्न सक्नु पर्छ । खरिद र बिक्रीबीचको सन्तुलन स्वयं लगानीकर्ता आफैंले गर्न सक्नुपर्छ । 
 
सेयर बजारका लगानीकर्ताले आफ्नो जोखिम बहन क्षमता मात्र होइन मुनाफा सुरक्षित वा लाभान्वित मात्रा वा दर पनि पहिले नै पहिल्याउनु पर्छ । कारोबार पूर्व नै यसरी कति जोखिम बहन गर्ने र कति मुनाफा लिने भन्ने कुरा निर्धारण गर्दा लगानीकर्तालाई आफ्नो सेयर कुन समयमा राफसाफ गर्नुपर्छ भन्ने कुराको ज्ञान हुन्छ । धेरै जस्तो लगानीकर्तामा यस किसिमको ज्ञान र अनुभवको कमीको कारण फाइदा भएको अवस्थामा पनि कारोबार गर्न पाएका छैनन् । 
 
हिजो आज सेयर बजारमा युवा लगानीकर्ताको चासो बढ्दै गएको पाइन्छ । उनिहरु आफ्नो ज्ञानको उपयोग गरेर धितोपत्र बजारमार्फत आफ्नो वृत्ति विकासको सुरुवात गर्न चाहन्छन् । धितोपत्र बजारमा भविष्य देखेर आउने युवालाई राज्यले उनिहरुको ज्ञान अनुरुपको बजार संयन्त्रको विकास गरी तालिम दिन सक्नु पर्छ । अन्यथा उनिहरु पनि पलायन हुने डर हुन्छ । जसको अर्थ धितोपत्र बजारले नयाँ सोच र नयाँ प्रविधिको विकासको आफ्नो गतिलाई आफैंले अझ पछाडि धकेल्नेछ । केवल राजनैतिक फन्डामेन्टलको आधारमा चलि रहेको हाम्रो बजारलाई नयाँ सोच र नयाँ प्रविधि दिन युवा लगानिकर्ताको आगमनबाट मात्र सम्भव छ । 
 
युवाहरु सेयर बजारको कारोबारमा दुईतर्फी अवसर देख्छन् । तर नेपालको संकुचित बजारको कारण यो सम्भव छैन । त्यसकारण नेपालको धितोपत्र बजारले युवा सोच अनुरुप धितोपत्र कारोबारका अन्य औजार तथा नयाँ प्रविधिहरु भित्र्याउन आवश्यक छ । शर्ट सेलिङ कारोबारमार्फत घट्दो बजारबाट पनि मार्जिन खाता सञ्चालन गर्न सके आजको जस्तो चिच्याहट सुनिने थिएन । तसर्थ सेयर बजारको दिगो बिकासको लागी अर्थतन्त्रका सूचकहरुको पहुँच हुन जरुरी हुन्छ ।

अर्थतन्त्र कस्तो दिशातर्फ अगाडि बढीरहेको छ भनेर जान्ने अधिकार आम लगानिकर्ताहरुलाई हुन्छ र उनिहरुले सोहि सूचकको आधारमा सेयर बजारमा लगानी गर्न पाउनुपर्छ । अबका दिनमा लगानीकर्ताले पोलिटिकल फन्डामेन्टलको साथै इकोनोमिकल फन्डामेन्टलको आधारमा लगानि गर्ने अवसरको सिर्जना गरिनु पर्छ । 

 
अन्त्यमा माघ ८ को पोलिटिकल बे्रक थ्रु कुरिरहेको लगानीकर्तालाई हाम्रा राजनीतिक दलहरुले निराश गर्ने छैनन् ।