यूएईमा हुने दिगो विकास सम्वन्धी सम्मेलनमा अर्थमन्त्री महतलाई विशेष वक्ताको रुपमा निम्तो

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014

काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतलाई संयुक्त अरब इमिरेट्स (युइई)मा लगानीसम्वन्धी वार्षिक सम्मेलनमा विशेष वक्ताको रुपमा निम्त्याइएको छ। उनलाई मंगलबार युइईका कार्यबाहक राजदूत सइद मोहम्मद अल्म्हिरीले भेटेर वक्ताको रुपमा सहभागि हुन निम्ता दिएका हुन्।

Tata
GBIME
Nepal Life

लगानीसम्बन्धी सम्मेलन आगामी मार्च ३० देखि अप्रिल १ सम्म आयोजना हुने जानकारी कार्यवाहक राजदूतले दिए। इमिरेट्स सरकारले आयोजना गर्ने उक्त बैठक प्रत्यक्ष वैदेशिक लगानीसम्वन्धी विश्वस्तरीय मञ्चको रुपमा परिचित छ। यो मञ्चको पाँचौं संस्करण भएको जानकारी अर्थमन्त्रालयले दिएको छ। आगामी कार्यक्रम 'वैदेशिक लगानीमा आधारित प्रविधि हस्तान्तरण र आविस्कारको माध्यमबाट दिगो विकास' का विषयमा हुनेछ।

यससैबीच, अर्थमन्त्री डा महतसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का उपमहासचिव तथा एसिया प्रशान्त क्षेत्रको जिम्मेवारी लिएका सहायक प्रशासक हाउलिङ सुले भेट गरेका छन्। भेटमा यूएनडीपीद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरुको बारेमा छलफल भएको थियो।

अर्थमन्त्री डा महतले संबिधान निर्माणमा दलहरुबीच भैरहेको सहमतिको पहल र ठूला विकास आयोजनामा लगानीको चासो बढिरहेको जानकारी उपमहासचिव सुलाई दिए। जनताको चाहना तीब्ररुपमा विकास होस भन्ने रहेको उल्लेख गर्दै अर्थमन्त्रीले नयाँ सरकार गठनसँगै विकास निर्माणका कामहरुलाई तिब्रता दिइएको र लगानीको वातावरण निर्माणका लागि सरकारले साहसिक निर्णयहरु गरेको जानकारी पनि दिए।

सो अवसरमा नेपाललाई अति कम विकसित राष्ट्रको स्तरबाट माथि उकास्नेबारे छलफल भएको अर्थमन्त्रालयले जनाएको छ।