एयसबस ए ३२० –२००को बडी बनिसक्यो, इन्जिन जडान गर्ने र सीट राख्ने काम जारी, दोस्रो विमान अप्रिलमा

बिजमाण्डू
२०७१ पुष २ गते ००:०० | Dec 17, 2014
एयसबस ए ३२० –२००को बडी बनिसक्यो, इन्जिन जडान गर्ने र सीट राख्ने काम जारी, दोस्रो विमान अप्रिलमा


काठमाडौं । नेपाल वायुसेवा निगमले आगामी फेब्रुअरी भित्र एउटा एयरबस ल्याइसक्ने भएको छ । नियमले दुई वटा एयसबस ए ३२० –२०० किन्न लागेको हो । यी मध्ये एउटा फेब्रुअरीमा नेपाल ल्याइसक्ने जानकारी दिइएको छ ।

Tata
GBIME
Nepal Life

एयसबस ए ३२० –२०० मध्ये पहिलोको निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । ‘पहिलो विमानको बडी बनाउने काम पुरा भइसक्यो । लिवेरी सहित अन्य रंगरोगन गर्ने काम समेत सक्रियताका साथ भइरहेको छ, निगमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, विमानमा इन्जिन जडान गर्ने र सीट राख्ने काम पनि एक साथ भइरहेको छ ।’

विमानको परीक्षण उडान जनवरी २०१५ को अन्त्यमा अर्थात माघको दोस्रो सातासम्म गरिसक्ने तालिका छ । विमान निर्माणको काम तिब्रगतिमा भइरहेकोले पूर्वतालिका अनुसार नै माघको दोस्रो सातासम्म परीक्षण उडान हुने निगमले जनाएको छ ।

पहिलो विमान हस्तान्तरण गरेको दुई महिना पछि एयरबसले निगमलाई दोस्रो विमान दिनेछ । दोस्रो विमानको पनि निर्माण कार्य भइरहेको जानकारी दिइएको छ । ती विमानहरुमा इन्टरनेशनल एरोइन्जिनका इन्जिनहरु जडान गरिदैछ ।

निगमले ल्याउने यी दुबै बिमानमा एक सय ५८ सिट हुनेछन् । त्यसमध्ये आठ वटा विजनेस क्लास र एक सय ५० वटा इकोनोमी क्लासका सिट हुनेछन् । यी दुबै विमान मध्यम दुरीमा उडान गर्नका लागि ल्याउन लागिएको हो । मलेशिया, खाडी मुलुक, हङकङजस्ता गन्तव्यमा यी विमानबाट उडान भर्न सकिनेछ । निगमसँग हाल दुई वटा बोइङ ७५७ विमान छन् । यी दुबै निकै पुराना विमान हुन् ।

निगमले कर्मचारी सञ्चय कोषसँग ऋण लिएर यी विमान किन्न लागेको हो । निगमले विमानको भुक्तानी दिइसकेको छ । सञ्चय कोषले सरकारको जमानी र निगमको स्वामित्वमा रहेको जमिन तथा भवन धितोमा कर्जा दिएको हो ।

हाल निगम निगमको जहाज यहाँबाट हङकङ, बैंकक र क्वालालम्पुर जान्छ। दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान र्पूणरूपमा बन्द छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।

न्यारोपछि वाइड बडी जहाज ल्याएर लामो दूरीमा उडाउने योजना बनिरहेको छ। यहाँबाट अस्ट्रेलिया, लन्डन, पेरिस, फ्र्यांकर्फट, कोरियालगायत गन्तव्य जाने योजना छ। अस्ट्रेलिया र कोरिया नयाँ गन्तव्य हुनेछन् भने लन्डन, पेरिस र फ्र्यांकर्फटमा निगमले डेढ दशकअघिसम्म उडान गरेको थियो। साढे तीन र्वषअघि दुई जहाज खरिद र्गन निगमले आह्वान गरेको ग्लोबल टेन्डर एयरबसले जितेको थियो।

आन्तरिक उडानका लागि निगमले चीनबाट दुई वटा विमान ल्याइसकेको छ । यी दुबै विमान अनुदानमा प्राप्त भएका हुन् । यस बाहेक निगमले चीनबाट चार वटा विमान ल्याउँदै छ । यसमा एउटा एमए ६० र तीन वटा वाई १२ छन् ।