अविनाश ह्याचरीले लगानी दुर्इ अर्व पुर्याउँदै, चितवनको बल्हिया, शरणपुर, गाजिपुरमा नयाँ फार्म

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
अविनाश ह्याचरीले लगानी दुर्इ अर्व पुर्याउँदै, चितवनको बल्हिया, शरणपुर, गाजिपुरमा नयाँ फार्म

काठमाडौं। अविनाश ह्याचरीले चालु आर्थिक वर्ष भित्रमा कुखुरा फार्ममा आफ्नो लगानी दुई अर्ब रुपैयाँ पुर्‍याउने भएको छ। चितवनमा रहेको ह्याचरीले उत्पादन वृद्धि र नयाँ ठाउँमा फार्म खोल्ने योजनासहित लगानी थपेर दुई अर्ब पुर्‍याउन लागेको हो।

नयाँ ठाउँमा व्यवसाय स्थानान्तरण गर्नका लागि ह्याचरीले यो वर्ष मात्रै झण्डै एक अर्ब रुपैयाँ थपेर कुल लगानी दुई अर्ब पुर्‍याउन लागेको छ। अहिले चितवनको फूर्तिचोक र पूर्वी रामपुरमा संचालित अविनाश ह्याचरीको फार्म अब भने बेल्हिया, शरणपुर र गाजिपुरमा सर्ने ह्याचरीका अध्यक्ष गुणचन्द्र विष्टले बिजमाण्डूलाई बताए।

Tata
GBIME
Nepal Life

'पुरानो ठाउँमा मानिसको भीड बढ्यो यसले गर्दा त्यहाँ बसोबास गर्ने र उद्योग दुवैलाई असर गर्‍यो,' ह्याचरीका अध्यक्ष विष्टले भने, 'अब हामी नितान्त नयाँ ठाउँमा सर्दैछौं, नयाँ ठाउँमा फूल्ली अटोमेशनमा काम हुन्छ।'

कम्पनीले ब्रोइलर ब्रिडिङ, लेयर्स ब्रिडिङलगायतका काम नयाँ ठाउँबाट गर्ने तयारी गरेको पनि उनले जानकारी दिए। 'अब कम्पनीको लगानी दुईसय करोड पुग्दैछ,' भारतीले भने, 'नयाँ ठाउँमा नयाँ प्रविधि भित्र्याएर काम सुरु गर्ने भएकाले पनि लगानी बढाउनु परेको हो।' नयाँ लगानीका लागि सम्पूर्ण प्रक्रिया पुरा भइसकेको भन्दै भारतीले अब छिट्टै नै काम पनि सुरु गर्ने जानकारी पनि दिए।
 
दक्षिण एसियामा नै नौलो प्रविधि भित्र्याउने
नेपालमा ह्याचरी किङको नामले चिनिएका विष्टले लगानीसँगै नौलो प्रविधि पनि भित्र्याउने तयारी गरेका छन्। उनले उत्पादन वृद्धि र काममा सहजताका लागि 'अटोमेशन' प्रणालीमा जाने तयारी गरिरहेको बताए।

'दक्षिण एसियामा नै नभएको प्रविधि भित्र्याएर काम गरिरहेका छौं,' उनले भने, 'यो प्रविधि भित्रिएपछि चारवटा कुखुराको फर्मबाट उत्पादन हुने अण्डा एकै ठाउँमा संकलन भएर साइज मिलाएर प्याकेटिङसमेत हुन्छ।'
उनले ब्रोइलर प्यारेन्ट फार्म, लेयर्स प्यारेन्ट फार्मलगायतका फार्महरु पनि नयाँ ढंगबाट संचालन गर्ने जानकारी दिए।
 
अटोमेशनमा जाने काम छिटो हुने
नयाँ प्रविधि भित्र्याएसँगै यो फ्याक्ट्रीमा उत्पादन हुने अण्डा प्याकेटिङ गर्न मजदूरले हात लगाउनु पर्दैन। नयाँ मेशिनले नै अण्डा संकलनदेखि प्याकेजिङसम्मको काम गर्ने भएकाले काम छिटो र सजिलोसँग हुने विष्टले जानकारी दिए।

'मैले यस अघि पनि नयाँ नयाँ प्रविधि भित्र्याएर काम गरेको थिएँ,' उनले भने, 'अब पनि फूल अटोमेशन सिस्टम एडप्ट गरेर काम हुन्छ। त्यसपछि अण्डा संकलन, त्यसको आकार अनुसार मिलान तथा प्याकेजिङसम्मको काम मेसिनले गर्छ।'
 
प्रविधि भित्र्याउनेमा म अगाडि
विष्ट नेपालमा व्यवसायिक कुखुरा पालन र त्यसमा प्रयोग हुने प्रविधि भित्र्याउन आफू सधैं लागि परेको बताउँछन्। 'कुखुरालाई परम्परागत रुपमा काठको भाँडामा दाना खुवाउने चलनको साटो मैले नै त्यतिबेला सेमि अटो प्लास्टिकको दाना खुवाउने मेसिन भित्र्याएको थिएँ,' उनी भन्छन्, अब पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय उत्पादनमा जोड दिनु मेरो प्राथमिकता हो।'

ग्राहकले तिरेको पैसामा सन्तुष्ट बनाउनु पर्छ भन्नेमा आफू सधैं क्रियाशील रहेको भन्दै विष्टले गुणस्तरीय कुखुरा तथा अण्डा उत्पादनमा काम गरिरहेको पनि बताए। विष्टले गत वर्षदेखि  नेपाल ग्यासको स्वामित्व समेत लिएर व्यापार अघि बढाइरहेका छन् ।