भाउ घट्ने हल्लाले निगमका डिपोमा पेट्रोलको माग ३० प्रतिशत घट्यो, बजारमा पेट्रोलको अभाव

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
भाउ घट्ने हल्लाले निगमका डिपोमा पेट्रोलको माग ३० प्रतिशत घट्यो, बजारमा पेट्रोलको अभाव

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घट्ने हल्लासँगै पेट्रोल पम्पहरुले नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ खरीदमा कमी गर्न थालेका छन्। निजी पम्पहरुले पेट्रोल खरीद घटाउँदा बजारमा पेट्रोल अभाव देखिएको छ।

Tata
GBIME
Nepal Life

निगमको थानकोट डिपोमा पेट्रोलियम पदार्थको अर्डर सामान्य अवस्थाको तुलनामा ३० प्रतिशतसम्मले कमी आएको डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए। 'सामान्य अवस्थामा दैनिक चारलाख लिटरसम्म पेट्रोल माग हुने गरेको थियो,' शर्माले भने, 'अहिले माग घटेर तीनलाख लिटरमा आइपुगेको छ।'

हरेक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ परिवर्तन गर्ने भन्दै सरकारले अटोमेशन प्रणाली कार्यान्वयनमा ल्याएपनि यसपटक भने मंगलबार परिवर्तन हुनुपर्ने भाउ विहीबारसम्म परिवर्तन भएको छैन।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घट्दै गएकाले नेपालमा पनि त्यसैअनुरुप भाउ घट्ने अनुमानका कारण निजी पेट्रोल पम्पहरुले पेट्रोल खरीदमा कमी गरेका उनले बताए। 'बजारमा भाउ घट्ने चर्चा छ, त्यसकारण पनि कतिपय पम्पले अर्डर गरेका छैनन्,' शर्माले भने, 'मुख्य शहरी इलाका बाहेक थोरै बेच्ने पम्पहरुमा पेट्रोल नभएको हुनसक्छ।'

बालाजु क्षेत्रमा पेट्रोल अभाव
निगमा थानकोट डिपो प्रमुख शर्माले स्वयम्भू, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा पेट्रोल अभाव भएपनि डिजेल भने पाइने बताए। 'स्वयम्भूदेखि बालाजु बसपार्कसम्म पेट्रोल अभाव हुनसक्छ,' शर्माले भने, 'ती क्षेत्रमा पेट्रोल भन्दा डिजेल धेरै विक्री हुने भएकाले पनि पेट्रोल अभाव हुने गर्छ।'
काठमाडौंमा पेट्रोलसँगै डिजेलको पनि अभाव देखिएको छ। सामान्य अवस्थामा ६ लाख लिटर डिजेलको माग हुने भए पनि अहिले चारलाख लिटर मात्रै माग भइरहेको शर्माले बताए।

'लोडसेडिङ पनि बढेको छ र अहिले क्रसरमा पनि पनि माग पनि बढिरहेको छ तर यस्तो अवस्थामा पनि डिजेलको माग कम हुनु भनेको भाउ घट्ने हल्लाले नै हो,' शर्माले भने, 'अहिले डिजेलको माग पनि घटेको छ, पम्पहरुले अर्डर नै घटाएका छन्।'

अवस्था उल्टिए के गर्ने?
पेट्रोलियम पदार्थको भाउ परिवर्तन हुने दुई दिन अर्थात अंग्रेजी महिनाको १ र १६ तारेखको आसपासमा हरेक पटक पेट्रोलियम पदार्थको अभाव देखिने गरेको छ भने निगमको डिपोमा माग पनि घट्ने गरेको छ।

'अहिले भाउ घटिरहँदा पेट्रोल पम्पले महँगोमा किनेर सस्तोमा बेच्न नचाहने भएकाले माग घटेको छ,' शर्मा भन्छन्, 'यदि अवस्था उल्टियो र भाउ बढ्ने दिन आयो भने तर माग त दुईसय प्रतिशतले बढ्छ, त्यतिबेला मैले कहाँबाट ल्याएर दिनु?'

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४५ प्रतिशत भन्दा धेरैले घटेकाले नेपालमा पनि असोज यता भाउ घट्दै आएको छ। विहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल ६१.२१ डलरमा कारोबार भइरहेको छ। यो भाउ बुधबारको तुलनामा ०.११ डलर बढि हो।