निर्यात र रेमिटेन्सले पनि धानेन आयात, मूल्य बृद्धि ७.१ प्रतिशत मात्रै, ब्याजको स्प्रेड दर घट्यो

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
निर्यात र रेमिटेन्सले पनि धानेन आयात, मूल्य बृद्धि ७.१ प्रतिशत मात्रै, ब्याजको स्प्रेड दर घट्यो
काठमाडौं । मूल्य बृद्धि दर अस्वभाविक रुपमा घटेको छ । कात्तिक महिनाको मूल्य बृद्धि दर ७.२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो बर्ष मूल्य बृद्धि दर १० प्रतिशत थियो ।
 
खाद्यान्न तथा पेय पदार्थको मूल्य घटेका कारण समग्र मूल्य बृद्धि दर कम भएको राष्ट्र बैंकको तर्क छ । तराई र पहाडको तुलनामा मूल्य बृद्धि काठमाडौंमा अझ कम देखिएको छ ।
 
तराई र पहाडमा मूल्य बृद्धि दर ७.२ प्रतिशत छ भने काठमाडौं उपत्यकामा ७.१ प्रतिशत मात्रै छ । अघिल्लो बर्ष काठमाडौंमा १०.४ प्रतिशतले मूल्य बढेको थियो ।
 
 
बैदेशिक व्यापार
देशको निर्यात व्यापार थप खस्किएको छ । चार महिनामा २९ अर्ब ५५ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो बर्ष यति बेला २९ अर्ब ६० करोडको निर्यात भएको थियो । 
 
आयात भने २३.५ प्रतिशतले बढेर दुई खर्ब ५६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यतिबेला दुई खर्ब आठ अर्ब नौं करोड रुपैयाँको आयात भएको थियो ।
 
निर्यातभन्दा आयात व्यापक रुपमा बढेका कारण ब्यापार घाटा २७.४ प्रतिशतले बढेर दुई खर्ब २७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । 
 
रेमिटेन्स 
कात्तिकमा विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिटेन्स ०.८ प्रतिशतले मात्र बढेको छ । कात्तिकसम्म एक खर्ब ८० खर्ब ३४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
 
कुल निर्यात र रेमिटेन्स रकमले पनि आयातलाई धान्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।
 
देशबाट बाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) ६ अर्ब १८ करोड रुपैयाँ बढी छ । अघिल्लो बर्ष शोधनान्तर ६४ अर्ब ४४ करोड रुपैयाँ बचतमा थियो । चालु खाता भने करिव छ अर्ब रुपैयाँ घाटामै छ ।
 
ब्याज दर स्प्रेड
बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिने ब्याज दरको अन्तर थप घटाएका छन् । असोजमा ४.८३ प्रतिशतको अन्तर राखेका बैंकले कात्तिकमा थप घटाएर ४.४९ अंक कायम गरेका छन् ।
 
बैंकहरुको आधार ब्याज दर पनि ७.४६ प्रतिशतमा झरिसकेको छ । अघिल्लो बर्ष आधार दर ९.०३ प्रतिशत थियो ।

Tata
GBIME
Nepal Life
विकास खर्च बढ्यो 
राष्ट्र बैंकले पोहोरको भन्दा यसपाली विकास खर्च बढेको जनाएको छ । पोहोर यतिबेला  १०.९ प्रतिशतले विकास खर्च बढेको थियो भने यसपाली १९ प्रतिशतले बढेको छ । कात्तिकसम्म चार अर्ब ६६ करोड विकास खर्च भएको राष्ट्र बैंकले जनाएको छ । 
 
१८औं सार्क शिखर सम्मेलनको तयारीको क्रममा खर्च गरिएकाले पनि विकास खर्च बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
 
ऋण र अनुदान घट्यो
चार महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋणवापत् दुई अर्ब ६ करोड र वैदेशिक नगद अनुदानवापत ती अर्ब ८५ करोड प्राप्त भएको छ । 
 
अघिल्लो वर्षको यतिबेलासम्म ऋण ८ अर्ब ९१ करोड र अनुदान १३ अर्ब २६ करोड प्राप्त भएको थियो ।