ट्र्याङ्क्विलिटी स्पाको मलेसियामा सेवा विस्तार, म्यारियोटसँग साझेदारी, एक महिनामा सेवा सुरु

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
ट्र्याङ्क्विलिटी स्पाको मलेसियामा सेवा विस्तार, म्यारियोटसँग साझेदारी, एक महिनामा सेवा सुरु


काठमाडौं । ट्र्याङ्क्विलिटी स्पाले मलेसियामा आफ्नो सेवा विस्तार गर्ने भएको छ । मलेसियाको पाँचतारे म्यारियोट पुत्रजया होटलमा ट्र्याङ्क्विलिटीले सेवा विस्तार गर्न लागेको हो। आगामी एक महिनाभित्र म्यारियोटमा सेवा विस्तार गर्ने ट्र्याङ्क्विलिटी स्पा समूहले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life

गत अक्टोबरमा होटल म्यारियोट र ट्र्याङ्क्विलिटीबीच सम्झौता भएको थियो। अहिले होटल म्यारियोटका कर्मचारी नेपाल आएर ट्र्याङ्क्विलिटी स्पाको सेवाबारे अध्ययन गरिरहेका छन् । 'हामी आगामी एक महिनामा सेवा सुरु गरिहाल्छौँ,' स्पाका अध्यक्ष भुवन फाइजूले भने, 'हामीले सबै काम पुरा गरिसकेका छौँ । मलेसिया सरकारबाट हाम्रो सेवालाई अनुमति दिएपछि सुरु हुन्छ ।' मेलिसयामा स्पा सञ्चालन गर्न सरकारले अनुमति दिनुपर्छ ।

सात वर्षअघि खुलेको यो स्पाले पाँचतारे र अन्य होटलसँगको सहाकार्यमा १२ स्थानमा शाखा विस्तार गरिसकेको छ । फाइजू भन्छन्, 'नेपालको पर्यटन प्रडक्टको सेवा विदेशमा पनि सुरु गरेका छौँ । यो हाम्रो लागि सकारात्मक कुरा हो ।'

म्यारियोट होटलका हेनरी चोङले मलेसियामा स्पा उद्योग फस्टाइरहेकोले नेपालको चर्चित स्पा ब्रान्डसँग सहकार्य गर्न लागिएको बताए । उनका अनुसार म्यारियोटले स्पामा ३२ लाख डलर लगानी गरेको छ ।

ट्र्याङ्क्विलिटी स्पा समूहका कार्यकारी निर्देशक सुरेश पुरीका अनुसार मलेसियामा खुल्न लागेको स्पामा सबै नेपाली थेरापिष्ट हुनेछन् । नेपालबाट २० जना थेरापिष्ट मलेशिया लैजान लागिएको बताए । यी थेरापिष्टले महिनाको ६० हजार रुपैयाँ तलब पाउँछन् ।

१४ वटा बेड रहेको यो स्पा मलेसियन र मलेसिया घुम्न आउने विदेशी पर्यटकहरु लक्षित प्रडक्ट हो । एकैपटक २५ जना भन्दा बढीले सेवा लिन सक्नेछन् ।  कार्यकारी निर्देशक पुरीले भने, 'हामीले स्पा खोल्न लागेको स्थान मिटिङ गर्ने र होलिडे डेस्टिनेसनको लागि चर्चित रहेकोले त्यहाँ घुम्न आउन पर्यटक हाम्रा ग्राहक हुन् ।'  

ट्र्याङ्क्विलिटीले म्यारियोटमा स्पाको व्यवस्थापनको जिम्मेवारी लिएको छ भने लगानी म्यारियोटले गरेको छ । फाइजू भन्छन्, 'हामीले सेवा मात्रै दिने हो । लगानी गर्नु पर्दैन । सेवाबाट उठेको रकम बाड्छौं ।'