चेम्बर पदाधिकारीसँग बंगलादेशकी राजदूतको भेट, बंगलादेशले दिँदै आएको सहयोग प्रभावकारी बनाउने

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मासफी विन्टे शाम्सले बंगलादेश सरकारले उपलब्ध गराउँदै आएको सहयोगलाई थप प्रभावकारी बनाइने बताएकी छन् ।

Tata
GBIME
Nepal Life

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा चेम्बरका पदाधिकारीसँगको भेटमा राजदूत साम्सले बंगलादेशले नेपाललाई उपलव्ध गराउंदै आएको आर्थिक तथा प्राविधिकि सहयोगलाई थप प्रभावकारी बनाउने बताएकी हुन् । नेपाल जस्ता मुलुकहरुमा अग्र्यानिक उत्पादनको संभावना रहेको भन्दै उनले अग्र्यानिक उत्पादनमा लाग्न आग्रह गरिन् ।

नेपालमा लगानीको वातावरण बन्दै गएकाले बंगलादेशका लगानीकर्ताहरु ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाशमा लगानी गर्न इच्छुक रहेको बताइन् ।

राजदूतसँगको भेटमा चेम्बराका अध्यक्ष राजेशकाजी श्रेष्ठले पछिल्लो समयमा नेपाल शिक्षा तथा स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास हुँदै आएकाले बंगलादेशले कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रका आफ्ना पुँजी, सीप र अनुभवलाई नेपालमा उपयोग गरी आपसी हित तथा दुई देशबीचको आर्थिक सम्वन्धलाई थप मजबुत बनाउन अनुरोध गरे ।

श्रेष्ठले नेपालमा जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योगलगायत सेवा क्षेत्रमा लगानीका प्रसस्त सम्भावना रहेको भन्दै बंगलादेशका लगानीकर्ताले यसबाट फाइदा लिन सक्ने बताए ।

सन २०२२ सम्ममा नेपालले विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएकाले ठूलो लगानी र प्रविधिको आवश्यकता पर्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले विदेशी लगानीकर्तालाई उद्योग स्थापना तथा करलगायतका आवश्यक सूचनाहरु उपलब्ध गराई सहयोग गर्न तयार रहेकोसमेत बताए ।

उनले बंगलादेशसँगको व्यापार घाटा कम गर्न नेपाली निर्यात योग्य वस्तुहरुलाई विभिन्न सुविधा उपलव्ध गराउन आवश्यक पहल गर्न अनुरोध पनि अनुरोध गरे ।

छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सहकोषाध्यक्ष राजारत्न तुलाधर एवं कार्यसमिति सदस्यले राजदूत समक्ष विभिन्न जिज्ञासा राखेका थिए ।