सरकारले पेट्रोलको मूल्य सात रुपैयाँ घटायो, डिजल र मट्टीतेल पनि ५.५ रुपैयाँ घट्यो, हवाइ इन्धन पनि

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
नेपाल आयल निगमले खाना पकाउने ग्याँस बाहेकका पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ। निगमले पेट्रोलमा प्रति लिटर सात रुपैयाँले मूल्य घटाएको हो। 

एक सय २३ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोल अब ११६ रुपैयाँमै पाइने छ। निगमले डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसाबाट घटाएर ९२ रुपैयाँमा झारेको छ। हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँका दरले घटेको छ। 

शुक्रवार बसेको निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्याँसको मूल्य भने घटाएन। ग्याँसमा अझै घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य नघटाएको हो। 

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल ११५ अमेरिकी डलर रहेको पेट्रोलको मूल्य ६२ डलरमा झरेपछि नेपालमा पनि मूल्य घटेको हो।

अझै पनि नेपाल आयल निगमलाई पेट्रोलमा १० रुपैयाँ ८९ पैसा, डिजेलमा १ रुपैयाँ ३२ पैसा, मट्टितेलमा १२ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा ४१ रुपैयाँ ७८ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा ६४ रुपैयाँ १० पैसा नाफा छ। निगमलाई एलपिजी ग्यासमा भने २ सय ९० रुपैयाँ ७६ पैसा घाटा छ। 

मूल्य घटे पनि निगमलाई मासिक ४८ करोड ५९ लाख रुपैयाँ नाफा छ। 

निगमले भारतबाट पेट्रोल ५४ रुपैयाँ १० पैसा, डिजेल ५८ रुपैयाँ ७९ पैसा, मट्टितेल ६७ रुपैयाँ ४२ पैसा, हवाई इन्धन ६६ रुपैयाँ १९ पैसा र एलपिजी ग्यास १२३० रुपैयाँ ६७ पैसामा आयात गर्दै आएको छ। 

प्रधानमन्त्रीले वाणिज्य तथा आपुर्ति मन्त्रीलाई अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ता पनि नेपालमा किन नघटाएको भन्दै तुरुन्त घटाउन निर्देशन दिएका थिए। 

Tata
GBIME
Nepal Life