नेपाली कम्पनीलाई अन्तराष्ट्रिय पुरस्कार, एफ–वान सफ्ट रेडहेरिङ सयको सूचीमा

बिजमाण्डू
२०६९ असोज ३ गते ००:०० | Sep 19, 2012
नेपाली कम्पनीलाई अन्तराष्ट्रिय पुरस्कार, एफ–वान सफ्ट रेडहेरिङ सयको सूचीमा

काठमाडौं । मोबाइल बैकिङ र सुचना प्रविधि सम्वन्धी सफ्टवेयर निर्माता कम्पनी एफ–वान सफ्ट इन्टरनेसनल एशियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीका रुपमा पुरस्कृत भएको छ । रेडहेरिङले एसियामा नविनतम प्रविधिका लागि काम गर्ने कम्पनीको रुपमा एफ–वान सफ्टलाई एक सय कम्पनीमा सूचिकृत गरेर सम्मानित गरेको हो । नेपालबाट यति ठूलो सम्मान पाउने यो पहिलो कम्पनी हो । एफ–वान सफ्टले भारत, चीन, पाकिस्तान, न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, हङकङ, सिंगापुरका दुई सय कम्पनीसँग प्रतिस्पर्धा गरेको थियो ।
रेडहेरिङले विश्वमा पूराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि अपनाउने सूचना प्रविधि सम्वन्धी कम्पनीलाई सम्मानित गर्छ । रेडहेरिङले सामाजिक सञ्जाल फेसबुक, टिवट्र जस्ता कम्पनीलाई पनि सुरुवाती दिनमा भविष्यका सम्भावनायुक्त कम्पनीका रुपमा सूचिकृत गरेको थियो ।
केही दिनअघि हङकङमा आयोजित कार्यक्रममा रेडहेरिङको सूचीमा परेका एक सय कम्पनी पुरस्कृत भएका हुन् । एफ–वान सफ्टका अध्यक्ष विश्वास ढकालले नेपालमा मोबाइल वित्तीय सेवा र बजारका बारेमा रेडहेरिङमा प्रस्तुतीकरण दिएका थिए ।
‘हामीले केही वर्षअघि ल्याएका सेवा नेपालमा सफल छन्, र ती सबैलाइ स्वीकार गरिएको छ । यो सम्मानले हाम्रो उत्पादन विश्वस्तरकै रहेको प्रमाणित भएको छ,’ सम्मानित भएपछि ढकालले भने, ‘म मेरो टिम र हाम्रा उपभोक्तालाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई यो पुरस्कार ग्रहण गर्ने अवस्थामा पु्र्याउनुभयो । एफ–वान सफ्ट मोबाइल बैकिङ कारोबारमा अग्रणी कम्पनी हो । कम्पनीले मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, रेमिट्यान्स र ई–सेवा लगायतका उत्पादन बजारमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life