सहकारी अनुगमन गर्न संयन्त्र बन्दै, अर्थमन्त्री महतले भने, बैंकको काम गर्दा सहकारी विग्रिए

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
सहकारी अनुगमन गर्न संयन्त्र बन्दै, अर्थमन्त्री महतले भने, बैंकको काम गर्दा सहकारी विग्रिए


काठमाडौं । अर्थमन्त्री रामशरण महतले सहकारीको अनुगमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको जानकारी दिएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को २३ औं साधारणसभामा अर्थमन्त्री महतले सहकारीमा देखिएको समस्या समाधानका लागि नियामक निकायको कार्यसम्पादन सन्तोषकजनक भए पनि संयन्त्र कम भएको बताए । 
‘अहिले सहकारी विभाग र राष्ट्र बैंकले अनुगमन गर्दै आएका छन् तर सहकारीको संख्याअनुसार संयन्त्र पर्याप्त छैन ।’ मन्त्री महतले भने, ‘ अहिले भैरहेको विकेन्द्रित सहकारीको अनुगमनलाई केन्द्रीकृत गर्दै लैजानुपर्ने आवश्यकता छ ।’
सहकारीलाई बैंकिङ क्षेत्रजस्तो गरी सञ्चालन गर्न खोजेकै कारण सहकारीमा समस्या आएको उनको भनाई थियो । मन्त्री महतले सहकारीको आवरणमा बैंक चलाउन कसैलाई छुट नभएको बताए । 
‘सहकारीका नाममा कमर्सियल बैंकको काम भयो, त्यसकारण ती सहकारी समस्यामा परेका हुन्’ उनले भने । सहकारीमा सुशासन ल्याउन सहकारीको सिद्वान्तअनुरुप सञ्चालन हुन आवश्क छ, उनले भने । 
सहकारी नियमनको अभावमा विकृति आएकोले सहकारीका केन्द्रिय संघहरुले आफ्ना सदस्यहरुको अनुगमन गर्नुपर्नेमा जोड दिए । ‘सेल्फ पोलिसी लिएर आफ्ना सदस्यको अनुगमन गर्दा सहकारीमा आत्मअनुशासन आउन सक्छ’ महतले भने । 
हालै घोषणा गरिएका नगर क्षेत्रका सहकारीको तत्काल कर नलाग्ने र आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको उनले बताए । बचत तथा ऋणबाहेकका अन्य सहकारीलाई करमुक्त समेत गरिएको उनको भनाई थियो । 
नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबै नियमनकारी एकजुट हुनुपर्ने बताए । नियमनकारी निकायको तर्दथ समिति समेत बनेको र त्यसलाई बलियो कानुन निर्माण गर्न आवश्यक भएको उनको भनाई थियो ।
 सहकारीका दुईतीनवटा मस्यौदा निर्माण भएको र अब कस्तो कानुन बनाउने भन्ने छलफलसमेत भइरहेको उनको भनाई थियो । केन्द्रिय बैंकले जोखिममा आधारित प्रणालीमा सहयोग गर्न सक्ने पनि उनले बताए । 
ठूला सहकारी बैंकमा रुपान्तरण गर्न चाहेमा राष्ट्र बैंकले छुट दिने समेत उनले बताए । केही ठूला सहकारीको कामकारवाही बैंकको जस्तै भएको तर सहकारी अभियानअनुरुप चलेकाले त्यस्ता सहकारीको पनि अनुगमन हुन नसकेको उनको भनाई थियो । 
कानुनीरुपमा बलियो संरचना नहुँदा अनुगमनमा कठिनाई हुने भएकाले त्यसतर्फ सजग हुनुपर्ने खतिवडाको भनाई थियो । नेफ्स्कुनले आफ्ना सदस्य सहकारी अनुगमन गर्न चाहेमा कानुनीरुपमा बलियो हुन समेत सुझाव दिए । 
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले हरेक सहकारी व्यवसाय उन्मुख हुनुपर्नेमा जोड दिए । वडालले सहकारी संस्थाको प्रकृति नै सेवा प्रदान गर्ने भएकाले सवै सहकारी कुनै न कुनै उत्पादनमा जोडिनु पर्ने बताए । 
छुट्टै ऐन नआए सहकारी ठूलो दुर्घटनामा पर्न सक्ने चेतावनी समेत उनले दिए । नेफ्स्कुनले सहकारी एकीकरण तथा अनुगमनमा जोड दिदैं आएको पौडेलको भनाई थियो । 
नेफ्स्कुनमा हाल १८ लाख बढी सदस्य आबद्घ छन् । ७१ जिल्लाका २ हजार १ सय ४० सहकारी संस्था सदस्य रहेका छन् ।
 

Tata
GBIME
Nepal Life