पुँजी बजारले अर्थतन्त्रलाई रिफ्लेक्ट गरेन: अर्थमन्त्री, वास्तविक क्षेत्र आउनु पर्यो: गभर्नर

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पुँजी बजारले नेपालको अर्थतन्त्रको धड्कनलाई सही ढंगले प्रस्तुत गर्न नसकेको बताएका छन् । उनले अर्थतन्त्रका सबै सुचक सुधार हुँदै गएको अवस्थामा पनि पुँजी बजार घटेको भन्दै अर्थतन्त्रलाई सेयर बजारले रिफ्लेक्ट गर्न नसकेको बताएका हुन् ।

Tata
GBIME
Nepal Life
अर्थमन्त्रीको अडियो सुन्नुस्
‘निर्वाचनपछि देशको अर्थतन्त्रमा निकै सुधार भएर गएको छ, स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि नेपालमा लगानी वातावरण पनि बनेको छ,’ स्टक ब्रोकर संघको २०औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै महतले भने, ‘त्यही पनि नेपालको सेयर बजार भने ओरालो लागेको छ ।’
 
उनले सेयर बजारको विस्तारका लागि बैंक तथा वित्तीय संस्थाका साथै वास्तविक क्षेत्र पनि अगाडि आउनु पर्ने बताए । ‘जलविद्युतमा लगानी भइरहेको छ, यि कम्पनीहरु सेयर बजारमा पनि आउँदैछन्,’ उनले भने, ‘ठूला ठूला सिमेन्ट तथा अन्य कम्पनीहरु पनि सञ्चालमा आउन थालेका छन् तर उनीहरु पुँजी बजारमा आइरहेका छैनन् । उनीहरु पनि बजारमा आउनु पर्छ ।’
 
उनले पुँजीगत लाभकरका विषयमा छलफल गर्न सकिए पनि यसको साटो कारोबार कर ल्याउन तत्काल नसकिने बताए । उनले धेरै विषय मिलाउनु पर्ने भएकाले तत्काल कारोबार गरमा जान नसकिने तर्क गरे ।
 
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले ब्रोकरहरु पनि आधुनिकीकरणतर्फ जानु पर्ने बताए । उनले अरुलाई भन्दा प्रविधि तथा वित्तीय क्षेत्रका सुचना पहिले ब्रोकरलाई थाहा हुने भन्दै उनीहरु अझ आधुनिकीकरण तर्फ जान आवश्यक रहेको बताए ।
 
डा. नेपालले मार्जिन ट्रेडिङको व्यवस्था गर्नु पर्ने भन्दै यसबाट लगानीकर्ता तथा सेयर ब्रोकरहरुको आत्मवल वढ्ने बताए । उनले सेयर कारोबारमा लाग्ने शुल्क तथा कमिसन समय अनुसार घटाउँदै जानु पर्ने बताए । 
 
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सेयर बजार दीर्घकालिन लगानीका लागि उपयुक्त भएको भन्दै तत्काल लगानी गरेर नाफा खोज्नेहरु सतर्क हुनु पर्ने बताए ।

गभर्नरको अडियो सुन्नुस् 
उनले सेयर बजार घट्नु पर्ने खासै कारण नहुँदा नहुँदै पनि घटेको बताए । ‘अहिले सेयर बजार घट्नु पर्ने कारण छैन । तर प्रतिफलका लागि लगानी गर्ने हो भने राष्ट्र बैंकले वित्तीय क्षेत्रको स्वास्थका लागि चालिएका कदमबाट बैंकहरु मुनाफा घट्ने अवस्था पनि छ,’ उनले भने, ‘छोटो अवधिमै नाफा गर्छु भन्नेका लागि सेयर बजार उपयुक्त नहुन सक्छ ।’
 
गभर्नरले सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको वोलवालालाई कम गर्न वास्तविक क्षेत्रका कम्पनीहरु सुचिकृत हुनु पर्ने बताए । ‘बार्षिक २० अर्ब नाफा गर्ने कम्पनीहरु अहिले पनि सुचिकृत छैनन्,’ उनले भने, ‘यस्ता कम्पनीहरुलाई सुचिकृत गर्नका लागि कानुनी व्यवस्था गर्न जरुरी छ ।’
 
कार्यक्रममा धितोपत्र वोर्डका अध्यक्ष वावुराम श्रेष्ठले पुँजी बजारको विकासका लागि वोर्डले सकारात्मक भूमिका खेल्ने बताए । नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धकले सेयर बजारमा क्रमिक रुपमा पुर्वाधारको विकास हुँदै गएको जानकारी दिए । सिडिएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत सुवोध शर्मा सिग्देलले सिडिएसलाई पूर्ण कार्यान्वयनमा ल्याउन पहल भइरहेको बताए ।