मेलम्चीको पानी २०७३ भित्र काठमाडौं आउन सक्ने, ४० प्रतिशत समय सकिँदा काम १७ प्रतिशत मात्रै

बिजमाण्डू
२०७१ पुष ५ गते ००:०० | Dec 20, 2014
मेलम्चीको पानी २०७३ भित्र काठमाडौं आउन सक्ने, ४० प्रतिशत समय सकिँदा काम १७ प्रतिशत मात्रै

सविन मिश्र/बिजमाण्डू
मेलम्ची ।

Tata
GBIME
Nepal Life
  • काठमाडौंको खानेपानी समस्या समाधान गर्ने भनिएको बहूप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम सक्न तोकिएको समय अब एक वर्ष र नौ महिना मात्रै बाँकी छ। अर्थात सुरुङ निर्माणका लागि छुट्याइएको ६० प्रतिशत अवधी बाँकी छ । तर ४० प्रतिशत समय सकिँदा सुरुङ निर्माणको काम भने जम्मा १७ प्रतिशत मात्रै पुरा भएको छ।
  • समयमै निर्माण पुरा गर्न दैनिक ४० मिटर भन्दा धेरै सुरुङ खन्नुपर्छ। तर अहिले दैनिक बढिमा ३० मिटर मात्रै सुरुङ निर्माण भइरहेको छ। यसले आयोजना तोकिएको समयमा पुरा नहुने त निश्चित छ नै तर कहिलेसम्म पुरा हुने भन्ने पनि कुनै टुंगो छैन।
  • आयोजनाको काम गरिरहेको ठेकेदार सिएमसी डि राभेन्ना इटालीले स-साना कुरालाई समस्याको रुपमा देखाउँदै आएको छ। कामदारले अंग्रेजी नबुझ्ने, सामान विग्रने, दक्ष जनशक्तिको अभाव जस्ता कारणले काममा ढिलाइ भइरहेको उसले बताउँदै आएको छ। यस्तै भौगर्विक अवस्था, ड्रिलिङ र ब्लास्ट क्षमतामा कमी, सामान अभाव जस्ता कारणले पनि आयोजनाको काम ढिलाइ भइरहेको ठेकेदार कम्पनीले बताउने गरेको छ।

संसदको विकास समितिको टोली शुक्रबार मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुग्दा त्यहाँ काम गरिरहेका ठेकेदार तथा आयोजना प्रमुखले प्रस्तुत गरेको आयोजनाको प्रगति विवरणको संक्षेप हो यो।

२०७३ सालको वैशाख एक गते मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम भए/नभएको बुझ्न संसदीय टोली मेलम्ची पुगेको थियो। आयोजनाको मुहान र टनेल निर्माण भइरहेको स्थानको अवलोकन पछि विकास समितिका सभापति रवीन्द्र अधिकारी निश्कर्षमा पुगे, 'काठमाडौंमा मेलम्चीको पानी २०७१ को वैशाखमा चाँही होइन चैतसम्ममा आउने संभावना देखिन्छ।'

समिति सभापति अधिकारी मात्रै होइन, आयोजना प्रमुख घनश्याम भट्टराई पनि मेलम्चीको पानी २०७३ साल भित्र काठमाडौं पुग्नेमा भने निश्चिन्त देखिन्छन्। 'अहिले भइरहेको कामको गति हेर्दा २०७३ को वैशाखामा पानी काठमाडौं पुग्नेमा त शंका छ,' भट्टराई भन्छन्, 'वैशाखमा पानी नपुगे पनि २०७३ साल भरीमा चाँही पानी काठमाडौं पुग्छ।'

केके काम भए त अहिलेसम्म?
मेलम्ची आयोजनाको हेडवर्क्स (मुहान), सुरुङ निर्माण तथा काठमाडौंको सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम एकैसाथ चलिरहेको छ। अहिले यो आयोजनाको मुहान बनाउनका लागि खोलाको धार परिवर्तन गर्ने र दीर्घकालीन रुपमा प्रयोग गर्नका लागि मुहानमा छोटो टनेलको निर्माण भइरहेको छ। यो टनेल निर्माणको काम आउने जनवरीसम्ममा सकिने छ।

यस्तै अम्बाथानमा अडिट टनेल निर्माण गरी तल तथा माथि, ग्याल्थुम अडिट टनेलबाट तल तथा माथि, सिन्धु अडिट टनेलबाट तल तथा माथि र सुन्दरीजलबाट माथि सुरुङ निर्माण भइरहेको छ।

अहिले सिन्धुपाल्चोकको अम्बाथानबाट तल ६ सय मिटर, ग्याल्थुमबाट माथि ६ सय ९५ मिटर तथा तल तीनसय ६२ मिटर, सिन्धुबाट माथि एकसय मिटर तथा तल ६ सय ७२ मिटर र सुन्दरीजलबाट माथि ११ सय ९५ मिटर सुरुङ खनिएको छ। पहिलेको ठेकेदारले समेत गरी हालसम्म जम्मा १०.२ किलोमिटर सुरुङ निर्माण भएको छ । अझै १७ किलोमिटर सुरुङ खन्न बाँकी छ ।

यस्तै सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम पनि सँगै अघि बढिरहेको छ। पहिलो चरणमा यो केन्द्रको क्षमता दैनिक साढे आठ करोड लिटर हुनेछ। आयोजनाले निर्माणस्थलसम्म पुग्ने सडक निर्माण गरेको छ भने अहिले त्यसको स्तरोन्नती पनि भइरहेको छ।

सुस्त प्रगति
२०१२ मा चिनियाँ ठेकेदारसँग मेलम्ची आयोजनाको ठेक्का तोडिँदा ६ हजार चासय ४४ मिटर सुरुङ निर्माण भइसकेको थियो। त्यसपछि ठेक्का पाएको इटालियन कम्पनी सिएमसी डि राभेन्नाले अहिलेसम्म ४० प्रतिशत समय गुजारिसक्दा जम्मा १७ प्रतिशत मात्रै काम सकेको छ।

'हामी समयमै काम सक्न प्रतिबद्ध छौं,' कम्पनीका आवासीय म्यानेजर रोबर्ट स्मिथले भने, 'सकेसम्म धेरै काम गरेर हामी समयमै स्क्छौं।' ठेकेदार कम्पनीका प्रतिनिधिले काम समयमै सकिने बताए पनि तोकिएको समय अर्थात ३० सेप्टेम्बर २०१६ मा काम सकिने आधार देखिँदैन। किनभने, यो मितिमा काम पुरा गर्न अहिले दैनिक ४० मिटर सुरुङ खन्नुपर्छ। तर विभिन्न ६ ठाउँबाट काम भइरहेपनि दैनिक अधिकतम ३१ मिटर भन्दा बढी सुरुङ खन्न नसकेको इन्जिनियरिङ प्रतिवेदनले नै देखाउँछ।

प्रतिवेदन अनुसार अहिलेसम्म कुनै पनि साइटबाट लक्ष्य अनुसार सुरुङ खनिएको छैन। अम्बाथानदेखि तल, ग्याल्थुमबाट तल र माथि, सिन्धुबाट तल र माथि तथा सुन्दरीजलबाट माथि सुरुङ खनेपनि कुनै पनि साइटमा १०० प्रतिशत काम हुन सकेको छैन। समय भने ३६ महिना तोकिएकोमा साढे १४ महिना सकिइसकेको छ।

ठेकेदारको पन्छिने दाउ
इटालियन कम्पनी सिएमसी डि राभेन्नाले काम थालेयता सन्तोषजनक उपलब्धि हात पार्न नसकेपछि उसले अहिले कमजोर भौगर्विक अवस्था र कमशल खालको चट्टान फेला परेकाले काममा ढिलाइ भएको बताएको छ।
कम्पनीका आवासीय प्रतिनिधि स्मिथले अनुसार अहिले काम भइरहेका ठाउँमा सोचेभन्दा कमजोर चट्टान र कमजोर भू-बनोट फेला परेकाले ढिलाइ भएको बताए।
कामका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्था ठेकेदारले नै गर्नुपर्ने भए पनि उसले समयमै सामान नपाइने तथा सामानको मर्मत पनि समयमै नहुँदा काममा ढिलाइ भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

स्थानीय अदक्ष कामदार पनि अर्को समस्या भएको कम्पनीले बताउने गरेको छ। मेलम्ची आयोजनामा काम गर्ने मध्ये ४० प्रतिशत स्थानीय कामदार छन्। उनीहरुमा सम्बन्धित कामको दक्षता नहुनु र त्यसका लागि तालिम दिनुपर्ने भएकाले काममा ढिलाइ भएको स्मिथले बताए।

प्रगति विवरण मासिक रुपमा बुझाउन अधिकारीको निर्देशन
आयोजनाको निरीक्षणपछि विकास समितिका सभापति अधिकारीले मासिक रुपमा प्रगति विवरण समितिमा पेश गर्न आयोजना विकास समितिलाई निर्देशन दिएका छन्।



'अहिलेसम्मको काम हेर्दा सन्तोष मान्ने अवस्था छैन। तर हामी २०७३ वैशाखमा नभए पनि सालभरीमा मेलम्चीको पानी काठमाडौंमा झरेको हेर्न चाहन्छौं। त्यसका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सहयोग गर्न समिति तयार छ'

रवीन्द्र अधिकारी
सभापति विकास समिति

 

'समितिले अघिल्लो पटक निर्देशन दिएपछि अहिलेसम्ममा निकै प्रगति भएको हामीले पायौं,' अधिकारीले भने, 'अब पनि मासिक रुपमा प्रगति विवरण पठाउनुस भनेका छौं, काम कसरी अगाडि बढिरहेको छ समितिले अनुगमन गरिरहन्छ।'

सभापति अधिकारीले अहिले भइरहेको काम सन्तोषजनक नभएको भन्दै छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिए।

हाम्रो चेलीलाई छिटो अन्माउनुस: तामाङ
सिन्धुपाल्चोक क्षेत्र नं ३ का सभासद शेरबहादुर तामाङले मेलम्ची आफूहरुको चेली भएको भन्दै यसलाई अन्माएर काठमाडौं पठाउन आफूहरुलाई हतार भइसकेको बताए। काममा ढिलाई भएको तर्फ संकेत गर्दै तामाङले छिटो काम सक्न आग्रह गरे।

'यो आयोजनाको कुरा हुन थालेको २४ वर्ष भएछ,' तामाङले भने, 'हामीलाई २४ वर्षकी चेली अन्माउन हतार भइसक्यो, छिटो लैजानुस भनेको काम नसकिएर रोकिएको रोकियै छ।' तामाङले मेलम्ची आयोजनाबाट आफूहरुले लेबी पाउनुपर्ने भन्दै त्यसको सुनिश्चितता गर्न आग्रह गर्नुभयो।

आयोजना अन्तर्गत मेलम्ची खोलामा मुहान बनाइ त्यहाँदेखि सुन्दरीजलसम्म २६.५ किलोमिटरको सुरुङ निर्माण हुनेछ। मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने छ भने दोस्रो चरण अन्तर्गत याङग्री र लार्के खोलाबाट पनि १७/१७ करोड लिटरका दरले थप पानी काठमाडौं ल्याउने तयारी छ। मेलम्ची खोलाको पानी काठमाडौं आइसकेपछि मात्रै दोस्रो चरणको काम सुरु हुने छ।