कर्मचारीले पिकनिकमा सुन्नुपर्यो नाङ्लो बन्द भएको खबर, व्यवस्थापन भन्छ, ‘विषेश परिस्थिती’

बिजमाण्डू
२०७१ पुष ६ गते ००:०० | Dec 21, 2014
कर्मचारीले पिकनिकमा सुन्नुपर्यो नाङ्लो बन्द भएको खबर, व्यवस्थापन भन्छ, ‘विषेश परिस्थिती’


काठमाडौं। नाङ्लोका संस्थापक श्यामसुन्दर लाल कक्षपतीको शनिवार जन्म दिन थियो, यही दिन नाङ्लोको ३८ ‌औं जन्मदिन पनि । आफ्ना संस्थापक र कम्पनीको स्थापना दिवश मनाउन नाङ्लो दरवारमार्गका ८० कर्मचारी संस्थापकसँगै पिकनिक खान ललितपुर लामाटारमा थिए ।

Tata
GBIME
Nepal Life

दिनभर मोजमस्ती चल्यो, खानपिन भयो, रमाइलो गरियो, संस्थापकलार्इ कर्मचारीले सुख र दुखका कुरा सुनाए । पिकनिक सकिन लाग्यो । सबै हिंड्ने तरखर गर्दै थिए । तब कक्षपतीले आफ्ना सुखदु:खका कुरा सुनाउन थाले ।
उनले कर्मचारीलार्इ सम्वोधन गर्दै भने, नाङ्लोमा आज तपार्इहरुको अन्तिम दिन हो । भोलीदेखि रेष्टुरेण्ट आउनु पर्दैन्, एचआरमा गएर हिसाव मिलान गर्नुहोला ।
 
रमाइलो पीडामा परिणत
शनिबार सबै कर्मचारी पिकनिकमा रमाइरहेका थियैं। कसैलाई पनि भोलिबाट जागिर जाँदैछ भन्ने सुर्इंको समेत थिएन,  स्वतन्त्र होटल मजदूर युनियन नाङ्लो इकाइका सचिव सोमनाथ देवकोटाले भने,  'सबै साथीहरु पिकनिकमा रमाइरहेका थियौं, एक्कासी रेष्टुरेन्ट बन्द हुन्छ भन्ने सुन्दा छाँगाबाट खसेजस्तै भयौं,' सचिव देवकोटाले भने, 'अब के गर्ने कहाँ जाने केही सोच्न सकेका छैनौं।'
दरबारमार्गमा रहेको नाङ्लो रेष्टुरेन्टमा ८० कर्मचारी कार्यरत थिए। रेष्टुरेन्ट बन्द भएपछि उनीहरुको बिचल्ली भएको छ। बन्दको सूचना अचानक आएको भन्दै उनीहरुले आफूहरु अप्ठेरोमा परेको बताए।
'बन्द हुँदैछ भन्ने सूचना एक/दुई महिना अगाडि पाएको भए आफ्नो व्यवस्था हामी गर्थ्यौं,' उनले भने, 'के गर्ने कसो गर्ने अन्यौल भइरहेको छ।
 
३८ वर्षको यात्रामा पूर्णविराम !
३८ वर्षअघि खुलेको नाङ्लो रेष्टुरेन्ट बन्द भएको छ। काठमाडौंको दरबारमार्गमा रहेको रेष्टुरेन्ट आइतबार सूचना प्रकाशन गरी बन्द भएको जानकारी दिएको छ। नाङ्लो भित्र रहेका नाङ्लो पब, नाङ्लो बेकरी तथा नाङ्लो चाइनिज रेष्टुरेन्ट बन्द भएका छन।
रेष्टुरेन्ट व्यवसायी दाजुभाइ श्याम सुन्दरलाल कक्षपति र गोपाल सुन्दरलाल कक्षपतिको लगानी रहेको यो रेष्टुरेन्ट हाललार्इ बन्द भएको गोपालले बिजमाण्डूलार्इ बताए । हामी खोल्नका लागि नयाँ ठाउँ हेरिरहेका छौँ, उनले भने ।
नाङ्लोले निकालेको सूचनामा भनिएको छ, 'सेवा बन्द गर्नु परेकोमा हामी दुखी छौं, तर हाम्रा ग्राहकसमक्ष प्रतिबद्धता जनाउछौं कि छ तपाईंहरुले मन पराएको रेष्टुरेन्ट फेरि फर्केर आउनेछ।'
 
भाडाविवाद देखाइयो
'पिकनिकमा हामी सबै रमाइरहेका थियौं, श्याम सरले जग्गाको कन्ट्रयाक्ट सकिएकाले बन्द गर्नुपर्यो भन्नुभयो, अरु केही भन्नुभएन।' सचिव देवकोटाले भने ।
नेपालमा रेष्टुरेन्ट संस्कृतिको 'ट्रेन्ड सेटर' नाङ्लो बन्द हुनुको कारण व्यवस्थापन पक्षले सार्वजनिक गरेको छैन। उसले 'अनएभोइडेबल सर्कमटान्सेस' अर्थात अकाट्य परिस्थितिका कारण रेष्टुरेन्ट बन्द भएको जनाएको छ। तर नाङ्लोका प्रबन्ध निर्देशक गोपाल सुन्दरलाल कक्षपतिले रेष्टुरेण्ट बन्द हुनुमा भाडाको विवाद पनि एउटा कारण भएको बिजमाण्डूलार्इ बताए ।
नाङ्लो प्राली रहेको दरबारमार्गको जग्गा स्वर्गीय दयारामभक्त माथेमा तथा स्वर्गीय भुवनेश्वर अमात्यको नाममा छ। भुवनेश्वर अमात्यका छोरा गायक योगेश्वर अमात्य हुन् । जो शनिबार मात्रै दुई महिनाका लागि लन्डन उडेका छन्।
दुर्इ जनासँग नाङ्लोले मासिक दश लाख रुपैयाँमा जग्गा भाडामा लिएको थियो । अहिले भाडा रिभिजनको कुरा पनि चलेको थियो तर रेष्टुरेण्ट नै बन्द हुनुमा त्यो मात्रै कारण होइन्, नाङ्लो सम्वद्ध स्रोतले भन्यो ।
रेष्टुरेण्टका लागि लिएको जग्गाको मासिक भाडा दश लाख रुपैयाँ पुगेको पहिले नै हो, उहाँहरुले तिर्दै पनि आउनु भएको थियो, अमात्य परिवार स्रोतले भन्यो । भाडाभन्दा विवाद अन्यत्र छ ।
नाङ्लो बेकरीमा भाडाको विवाद भने पनि यो विषयलार्इ नजिकबाट नियालल्ने स्रोतले भन्यो, यो कक्षापती परिवारको विवाद हो । रेष्टुरेण्ट बन्द हुनुमा कक्षपति दाजुभाइबीचको विवाद प्रमुख देखिन्छ, स्रोतले भन्यो ।
 
रेष्टुरेन्ट मात्रै होइन, अरु व्यवसाय पनि
नाङ्लोमा प्रा.ली.मा कक्षपति दाजुभाइको लगानी रहेको छ भने नाङ्लो बेकरीमा श्याम सुन्दरको मात्रै लगानी छ। त्यसैगरी द बेकरी क्याफे सञ्चालन गर्ने नाङ्लो इन्टरनेशनलमा पनि श्यामसुन्दरको लगानी छ ।
दरवारमार्गको नाङ्लोमा गोपाल प्रवन्ध निर्देशक थिए, उनैले त्यहाँको सबै अपरेशन पनि हेर्दै आएका थिए । उनी मिस नेपाल छान्ने कम्पनी हिडेन ट्रेजरका पनि अध्यक्ष हुन् ।
नाङ्लो रेष्टुरेन्टका रुपमा मात्रै परिचित थिएन। उसले १९९१ देखि दि बेकरी क्याफे पनि संचालनमा ल्याएको थियो। बेकरी क्याफेको पहिलो आउटलेट तीनधारामा खुलेको थियो भने नवौं शाखा भाटभटेनीमा।
उसले बौद्ध, धरहरा, जावलाखेल, महाराजगंज, नयाँ वानेश्वर, पुलचोक तथा टेकुबाट पनि सेवा दिँदै आएको थियो। यसका विभिन्न आउटलेटमा गरी दुईसय ९० कर्मचारी कार्यरत छन्।
यो समूहले रिभरसाइड स्प्रिङ रिसोर्ट पनि संचालनमा ल्याइसकेको छ। काठमाडौंबाट एक सय दुई किलोमिटर टाढा रहेको यो रिसोर्ट काठमाडौं-पोखरा खण्डमा पर्छ। त्रिशुली नदीको किनारामा रहेको यो रिसोर्टबाट कम्पनीले सेवा दिँदै आएको छ।

गोपाल नाङ्लो एक्सप्रेस खोल्दै
नाङ्लोका प्रवन्ध निर्देशक गोपालका छोरा तैजस विदेशबाट अध्यन गरेर फर्केपछि अहिले रेष्टुरेण्ट व्यापारमा प्रवेश गरेका छन् । उनले हालै मात्रै न्युरोडमा नाङ्लो एक्सप्रेस सञ्चालनमा ल्याएका छन् । यो रेष्टुरेण्टमा पनि नाङ्लोमा पाइने परिकार छिट्टो सर्भ गर्ने गरी खोलिएको हो ।