दुई अर्बको सेयर जारी गर्दै जलविद्युत विकास कम्पनी, नागरिक लगानी कोष विक्री प्रबन्धक नियुक्त

बिजमाण्डू
२०७१ पुष ६ गते ००:०० | Dec 21, 2014
दुई अर्बको सेयर जारी गर्दै जलविद्युत विकास कम्पनी, नागरिक लगानी कोष विक्री प्रबन्धक नियुक्त

काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ। यो हालसम्मकै ठुलो सेयर निष्काशन हो। कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न नागरिक लगानी कोषलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनी र कोषबीच विक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी संझौतामा आइतबार संझौता भएको हो। यो सझौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियार र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरे।

यो कम्पनीको चुक्तापूँजी १० अर्ब छ। सस्थापकहरुले आठ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् भने दुई अर्ब रुपैयाँको सेयर जारी गर्न लागिएको हो। प्रतिकित्ता सय रुपैयाँका दरले दुई करोड कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो।

'सेयर निष्काशनको प्रक्रिया सुरु भइसकेको छ, कम्पनीका प्रमुख कार्यकारी निर्देशक रौनियारले भने, नेपाल धितोपत्र बोर्डले अनुमति दिनासाथ सेयर जारी हुन्छ।' सेयर निष्काशनका लागि कम्पनीले बोर्डमा आवेदन दिइसकेको छ। गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको विवरण बोर्डमा बुझाउन बाँकी छ।

कम्पनीमा तीन वटा मन्त्रालय अर्थ, उर्जा, कानुन र महालेखा नियन्त्रकको कार्यालय जम्मा पाँच अर्ब रुपैयाँ लगानी गरेका छन्। त्यस्तै कर्मचारी सञ्चयकोष, राष्ट्रिय बीमा सस्थान र नागरिक लगानी कोषले एक एक अर्बका दरले जम्मा तीन अर्ब रुपैयाँ लगानी गरेका छन्।

यो कम्पनीले हालसम्म ६ वटा आयोजनामा लगानी गर्न संझौता गरिसकेको छ। केही सयमभित्रै थप एक कम्पनीमा लगानी गर्न संझौता गर्ने तयारी भइरहेको जानकारी दिइएको छ। कम्पनीले एशियाली विकास बैंकबाट करिब आठ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ। ऋण लिएको पैसा पनि जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत रौनियारले दिए।

सस्थापकहरुले जम्मा गरेको पैसा बैंकमा जम्मा गरेर कम्पनीले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।