५० करोडको लागतमा डाल्मिया ग्रुपको पेपर उद्योग, दैनिक सय टन कागज उत्पादन

बिजमाण्डू
२०७५ जेठ २६ गते १५:१७ | Jun 9, 2018
५० करोडको लागतमा डाल्मिया ग्रुपको पेपर उद्योग, दैनिक सय टन कागज उत्पादन

वीरगंज।चितवनलाई आधार बनाएर उद्योग व्यापार क्षेत्रमा सकृय रहेको डाल्मिया ग्रुपले वीरगंज–पथलैया औद्योगिक करिडोरमा ५० करोड रुपैयाँ लगानीमा कागज उद्योग संचालनमा ल्याएको  छ ।

Tata
GBIME
Nepal Life

करिडरको चोर्नीमा अवस्थित मारुती पेपर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिले हाल दैनिक एक सय टन कागज उत्पादन गरिरहेको छ । दुई बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले प्रयोग भइसकेका कागज र कार्टुनलाई पुनःप्रयोग गरेर कागज उत्पादन गरिरहेको उद्योगका संचालक दिपेश अग्रवालले जानकारी दिए ।

उद्योगका प्रशासन प्रमुख निभेश अग्रवालले आधुनिक प्रविधिबाट उत्पादन भइरेको कागज १६ देखि २२ बिएफसम्म उत्पादन हुन्छ । उद्योगले ६० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको र अन्य दर्जनौलाई अप्रत्यक्ष रोजगारी वातावारण सृजना गरेको उनले बताए।भारतबाट आयात गरिने कच्चा पदार्थमा सरकारले लगाएको भन्सार महशुल र औद्योगिक करिडरको भोल्टेज ट्रिपिङ्ग हुने समस्याले उद्योग संचालनमा चुनौती थपेको संचालक दिपेशले गुनासो गरे ।

भारतबाट रद्दी कागज भित्र्याउँदा भन्सार महशुल तिर्नुपर्छ,तर यहाँबाट भारत निकासीमा कुनै महशुल तोकिएको छैन । यसैका कारण पनि पुनःप्रशोधन गरेर प्रयोगमा ल्याउन सकिने भएपनि बिना महशुल भारत निकासी गर्दा बढी लाभ हुने भएकाले अधिकांश रद्दी कागज तथा कुट भारत निकासी भइरहेको उद्योगीको गुनासो छ ।

कागज उद्योगका लागी २४ सै घण्टा विद्युत चाहिने भएपनि यस औद्योगिक करिडरमा दुई महिना यता शुरु भएको भोल्टेज ट्रिप हुने समस्याले कठिनाई थपिएको छ,,प्रशासन प्रमुख निभेशले गुनासो गरे । उनले एक पटक ट्रिप हुँदा भट्टीमा तातिरहेको कागजलाई पुनःप्रशोधन गर्न थप खर्च लाग्ने र कम्तीमा दुई घण्टापछि मात्र प्रशोधन प्रकृया शुरु गर्न सकिने बताए । विद्युतीय समस्याबाट मुक्ति पाउन जेनरेटर र टर्बाइन जडान गर्न लागिएपनि उत्पादन लागत थपिएर मूल्य प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने छ ।