काठमाडौं सबैभन्दा सस्तो, फागुनको तुलनामा वैशाखमा मूल्यवृद्धि घट्यो, खानेकुरा महँगिए

बिजमाण्डू
२०७५ जेठ २७ गते १६:१२ | Jun 10, 2018
काठमाडौं सबैभन्दा सस्तो, फागुनको तुलनामा वैशाखमा मूल्यवृद्धि घट्यो, खानेकुरा महँगिए


Tata
GBIME
Nepal Life
काठमाडौं। फागुनको तुलनामा वैशाखमा मूल्यवृद्धि घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। फागुनमा ६ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिती वैशाखमा ४.१ प्रतिशतमा सिमित भएको छ। यद्यपि गत वर्षको वैशाखको ३.४ प्रतिशतको मूल्यवृद्धिको तुलनामा भने यो वर्षको वैशाखको केही धेरै हो। 
 
वैशाख मसान्तमा खाद्य मुद्रास्फिती ३.२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो दर ०.२ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा तरकारी, फलफूल, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डालगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 
 
वैशाखमा गैर–खाद्य मुद्रास्फिती ४.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, घरायसी उपयोगका सामानलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 
क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.३ प्रतिशत, पहाडमा ५.७ प्रतिशत, तराईमा ४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ।
 
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ४ प्रतिशत, तराईमा ३.६ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो।