जेठमा ७३ कम्पनीको विदेशी लगानी स्वीकृत, बैशाखको भन्दा दोब्बर संख्यामा उद्योगको लगानी स्वीकृत

बिजमाण्डू
२०७५ असार ५ गते १२:५९ | Jun 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। उद्योग विभागले जेठ महिनामा मात्रै ७३ वटा कम्पनीको विदेशी लगानी स्वीकृत गरेको छ।

वैशाखमा ३५ र चैत्रमा ३२ वटा मात्रै विदेशी कम्पनीको लगानी स्वीकृत गरेको विभागले जेठमा भने ७३ वटा कम्पनीको विदेशी लगानी स्वीकृत गरेको जनाएको छ।७३ वटा विदेशी कम्पनी मध्ये ४६ वटा चिनियाँ कम्पनी रहेका छन्। जुन र जुलाइमा अरु समय भन्दा बढी विदेशी लगानी भित्रिने गर्छ।

लगानीको हिसाबमा भने जेठको भन्दा वैशाखमै धेरै विदेशी लगानी स्वीकृत भएको थियो। वैशाखमा १५ अर्ब ९१ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको विभागले जेठमा २ अर्ब ४१ करोड रुपैयाँ मात्र लगानी स्वीकृत गरेको छ। चैत्रमा भने ६८ करोड ३० लाख रुपैयाँमात्र विदेशी लगानी स्वीकृत भएको थियो।

चालु आर्थिक वर्षको ११ महिनामा विभागले करिब ५० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्र बहादुर बस्नेतले जानकारी दिए। गत आर्थिक वर्षमा भने विभागले १५ अर्ब रुपैयाँ विदेशी लगानी मात्र स्वीकृत गरेको थियो।

३५ अर्बका उद्योग दर्ता
जेठमा दर्तातर्फ पनि सबैभन्दा धेरै ६७ कम्पनीले उद्योग दर्ता गराएका छन्। जेठमा ६७ उद्योगले ३५ अर्ब ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता गरेका छन्।

यो संख्या वैशाखमा २३ उद्योगमा सीमित थियो। बैशाखमा २३ उद्योगको लगानी प्रतिवद्धता पनि १३ अर्ब १५ करोड रुपैयाँ मात्र थियो। चैत्रमा भने ३३ उद्योगमा २३ अर्ब ५८ करोड रुपैयाँ लगानीको प्रतिवद्धता भएको थियो।