युवा परिषदले शैक्षिक प्रमाणपत्र धितोमा २ लाखसम्म ऋण दिने, यस्तो छ प्रक्रिया, कसले पाउँछ ऋण?

बिजमाण्डू
२०७५ असार ६ गते १४:४३ | Jun 20, 2018

काठमाडौं। राष्ट्रिय युवा परिषदले २ लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने भएको छ। १६ देखि ४० वर्षसम्मका युवालाई विना ब्याज शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने परिषदले जनाएको छ।

Tata
GBIME
Nepal Life

परिषदका अनुसार ३५ जना बेरोजगार युवालाई ऋण दिइनेछ। सामान्य विषयमा स्नातक उत्तिर्ण र प्राविधिक विषयमा डिप्लोमा उत्तिर्ण गरका युवाले ऋणका लागि आवेदन दिन पाउनेछन्।

परिषदका अनुसार असार मसान्तिभत्रमा नै छनौट भएका युवाले ऋण पाउने छन्। ऋण लिनका लागि शैक्षिक प्रमाणपत्रको साथै आफूले व्यवसाय गर्ने स्थानीय तहको सिफारिस बुझाउनु पर्नेछ।

आवेदन दिएका उद्यम गर्न चाहने युवामध्ये परिषदले विभिन्न क्षेत्र समेटिने गरी छनौट गर्ने र त्यसैका आधारमा ऋण पाइने परिषदका उपसचिव कर्णबहादुर भुवाजीले जानकारी दिए। उनका अनुसार परिषदले छनौट भएका युवालाई वित्तीय संस्थामार्फत ऋण दिनेछ।

परिषदले विशेष प्राथमिकता क्षेत्र र प्राथमिकता क्षेत्र गरी दुई समूहमा आवेदकलाई छुट्याएर ऋण दिनेछ। पिछडिएको क्षेत्र, गरिबी, दलित र अपांगता भएका व्यक्तिलाई विशेष प्राथमिकता प्राप्त क्षेत्र भनिएको छ। अन्य बेरोजगार युवालाई प्राथमिकता क्षेत्र भनी वर्गीकरण गरिएको छ।

व्यवसाय गर्न चाहने युवाले आफूले ऋण लिएको ५ वर्षभित्रमा परिषदलाई ऋण तिर्नुपर्नेछ। ऋण दुरुपयोग भएमा कडाईका साथ कारबाही गरिने पनि षरिषदले जनाएको छ। परिषदबाट ऋण लिने युवाले सेवा शुल्कलगायत कुनै पनि शुल्क तिर्नु पर्दैन।

सरकारले चालु आर्थिक वर्षमा परिषदलाई स्वरोजगार कार्यक्रम अघि बढाउन ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु वर्षमा यो कार्यक्रम पहिलोपटक कार्यान्वयन गर्न खोजिएकाले कार्यविधिलगायत अन्य प्रक्रिया पुरा गर्न समय लागेका ढिलाई भएको भुवाजीले बताए।

यसअघि परिषदले गत वर्षबाट एक निर्वाचन क्षेत्रमा एक समूहलाई ५ लाख रुपैयाँ निर्ब्याजी ऋण दिन सुरु गरेको छ। गत वर्ष २३१ समूहलाई समूहमा ऋण दिइएकोमा यो वर्ष १७२ समूहलाई दिइएको छ।