राष्ट्रवाद हावी हुँदा साउदीमा कामदार हाहाकार, बिदेशीलाई बिस्थापन गर्दै आफ्नै कामदार





रियाद। साउदी राजधानीमा चाँडै नै खुल्न लागेको नोबु होटलको अगाडि सुसी सेफ उभिन थालिसकेका छन् भने बालुवाले बनेको झरना पनि लगभग तयार भैसकेको छ।
 
जापानी थिमको होटल तथा रेष्टुरेन्टमा कमी छ त एउटै, त्यहाँको भान्छामा काम गर्नका लागि पर्याप्त साउदी कामदार छैनन्। 
 
नोबुले आगामी असोज/कात्तिकमा ‘फल’ सिजन पारेर होटल ओपनिङको योजना बनाएको छ तर यसका लागि उसलाई ३०० कामदार अझै जुटाउनु पर्नेछ। 
 
साउदी कानुन अनुसार कुनै पनि कम्पनीमा ४० प्रतिशत कामदार साउदी नागरिक हुनैपर्छ। केही पदहरु, जस्तो फ्रन्ट डेस्कहरुमा त कर्मचारी भर्ना गर्न सजिलै होला तर कुक, वेटर र बेल-ब्वाइ जस्ता पदमा भने पदपूर्ति कठिन देखिएको छ।
 
होटलका जनरल म्यानेजर सिमोन फ्रिकर भन्छन्- साउदी नागरिक राखेर पदपूर्ति अत्यन्तै कठिन काम हो। तल्लो तहमा काम गर्न म योग्य छैन अर्थात मेरो लेभल योभन्दा माथि हो भन्ने ‘माइन्ड-सेट’ भएकाले साउदी कामदार पाउनै समस्या छ। 
 
नोबुको समस्याले के देखाउँछ भने साउदी कामदारहरु नै साउदी अरेबियाको इकोनोमिक मेकओभरका लागि ठूलो चुनौतीका रुपमा देखा परेका छन्।
 
साउदी अरेबियाको आर्थिक सुधारका आर्किटेक मानिएका यूवराज मोहम्मद बिन सलमान नागरिकका लागि पर्याप्त अवसर सिर्जना गर्न चाहन्छन् भने देशको समग्र आर्थिक बृद्धि पनि चाहन्छन्। तर ब्यावसायिक कम्पनीहरु भने सरकारी माग अनुसारको कामदार परिपूर्ति गर्ने चुनौती सामना गरिरहेका छन्। 
 
दशकौंसम्म साउदी अरेबियामा भारत, फिलिपिन्स जस्ता देशहरुबाट कामदार लगिएको छ। नेपालबाटै पनि हजारौं कामदार साउदी पुगेका छन्। साउदी अरेबियाको उच्च जीवनस्तरका कारण साउदी नागरिकहरुलाई अब भान्छा तथा निर्माण परियोजना तथा स्टोर काउन्टरहरुमा काम गर्न कठिन छ। 
 
तेलको धनी देशमा नागरिकका लागि अत्यावश्यक वस्तु तथा सुविधाहरु सरकारले नै उपलब्ध गराइदिएको छ यसका लागि त्यहाँका नागरिकले कुनै सिप सिक्न वा काम गर्नका लगि उत्साहित हुनुपर्ने वा मरिमेट्नुपर्ने अवस्था छैन। यसले गर्दा साउदी नागरिकमा कामप्रति मोटिभेसन देखिएको छैन। 
 
तर हालै साउदी सरकारले बनाएको नियममा बाँधिएका ब्यावसायिक कम्पनीहरुका लागि भने दबाब सिर्जना भएको छ। साउदी नागरिकका लागि धेरै तलब र छोटो कार्यअवधि बनाएर भएपनि उनीहरुलाई काम दिनैपर्ने बाध्यतामा कम्पनीहरु छन्। केही ब्यावसायिक कम्पनीहरुले भने आफ्ना लागि जरीवाना र भिसा समस्याको खतरा मोलेरै भएपनि घरमै बसेका साउदी नागरिकहरुलाई कामदारका रुपमा दर्ता गरेर ब्यवसाय चलाइरहेका छन्। 
 
साउदी लजिस्टिक्स कम्पनीका अब्दुर मोहसेनका अनुसार सरकारी कोटा पूरा गर्नकालागि आधाभन्दा बढी साउदी नागरिकहरुका नाम मात्रै राखिएका छन्। उनी भन्छन्- ‘हाम्रो कम्पनी बिदेशी कामदारबिना त ठप्प नै हुन्छ। ट्रक चलाउने काम साउदी नागरिकले गर्दै गर्दैनन् भने हामीले कहाँबाट साउदी ड्राइभर खोज्ने?’
 
सरकारले बिदेशी कामदारलाई बिस्थापन गर्नका लागि साउदी नागरिकलाई अघि सार्नु साउदी सरकारको इच्छा त हो तर साउदी नागरिकको आवश्यकता भने होइन। सरकारले पनि कामदारको ‘साउदाइजेसन’ गर्न खोज्नु बाध्यकारी लक्ष्य भने होइन। 


 
बर्तमान साउदी नेतृत्वले आफ्नो देशको निदाएको अर्थतन्त्रलाई डाइनामिक बनाउनका लागि बनाएको योजनाहरु धेरै छन्। यसअन्तर्गत सरकारी स्वामित्वको तेल कम्पनी साउदी अराम्कोलाई पब्लिक लिस्टिङ गरी सानो हिस्सा शेयर बेच्ने तयारी गरिरहेको छ। 
 
नेतृत्वले चाहे अनुसारको परिवर्तन पाउन भने अनावश्यक रुपमा थुप्रिएका सरकारी कर्मचारीको कटौती गर्ने र निजी क्षेत्रमा साउदी नागरिकलाई रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। हाल साउदीमा रोजगार प्राप्त साउदी नागरिकमध्ये दुई तिहाइभन्दा बढी नागरिकहरु सरकारी कर्मचारीका रुपमा कार्यरत छन्। 
 
बिदेशी कामदारको बिस्थापनका लागि सरकारले किन पनि दबाब दिइरहेको छ भने सन् २०१७ को अन्त्यमा साउदीमा बेरोजगारी दर १२.८ प्रतिशत देखिएको छ। सरकारले सन् २०३० सम्ममा यो दर घटाएर ७ प्रतिशत बनाउने लक्ष्य राखेको छ। 
साउदी सरकारले बिभिन्न ब्यापार ब्यवसाय हेरी कामदारलाई रोजगारीका लागि बिबिध कोटाको सिर्जना गरेको छ। आगामी सेप्टेम्बरदेखि साउदीका सबै बेकरी, बिद्युतीय सामाग्री पसल तथा फर्निचर पसलहरुमा साउदी नागरिक नै बिक्रेताहरु हुनुपर्ने बाध्यकारी ब्यबस्था गरेको छ।
 
गहना पसलहरुमा गत वर्षदेखि  नै बिदेशी कामदार हटाएर साउदी नागरिकलाई काममा राख्नुपर्ने सरकारी दबाबका कारण कतिपय पसलहरुको त ब्यापार नै चौपट पनि भएको छ। 
 
यसबाट सबै बिदेशी कामदारमात्रै  कार्यरत वसुल ब्राण्डको गहनाको चेनस्टोर डामाडोल भएको छ। अब कहाँबाट कसरी साउदी नागरिकको रिक्रुट सुरु गर्ने भन्ने समस्यामा कम्पनी परेको छ। उनीहरुले आफ्ना सय जना बिदेशी कामदारलाई बिदा दिएका छन् भने २५ मध्ये दुईवटा स्टोर मात्र संचालन गरिरहेका छन्। 
 
५० वर्षदेखिको पारिवारिक बिरासतका रुपमा चलाइरहेको सुन पसल एक्लैले हाँक्न नसक्ने भन्दै २४ वर्षका अलि अल अयाद भन्छन् ‘साउदी युवाहरुले यसबारेमा पर्याप्त तालिम लिएका पनि छैनन् र गुणस्तरीय काम गर्न पनि सक्दैनन्।’ 
 
अलिका बुवा संस्थापक भएको कम्पनीमा पहिलो साउदी कामदारका रुपमा संस्थापकै चारजना छोराहरु नियुक्त भएका हुन् जसले अन्य ठाउँको जागिर छोडेर हाल आफ्नै दुईवटा स्टोरमा काम गरिरहेका छन्। 
 
कम्पनीका तर्फबाट उनीहरुले वेबसाइटमा जागिरका लागि आवेदन माग गरे। धेरै साउदी नागरिकले चासो देखाए तर केहीले मात्रै जागिर ज्वाइन गरे। तर तलब राम्रो दिएपनि थोरै छुट्टी र लामो घण्टा वर्किङ आवर भएको भन्दै उनीहरुले पनि छिट्टै काम छोडे।
 
त्यसपछि उनीहरुले दुईजना भारतीय कामदार समेत राखेर काम थाले। भारतीय कामदारलाई क्लिनरका रुपमा राखेपनि उनीहरुले नै साउदी नागरिकलाई सबै काम सिकाउनुपर्ने अवस्था छ। 
 
जेद्दाकै एउटा घडी पसलले भने साउदी कामदार खोजेर काममा राख्ने झण्झट गर्नुभन्दा तीन महिनापछि  ब्यवसाय नै बन्द गर्ने योजना बनाएको छ। कम्पनीका बिदेशी कामदार तौफिक इमान खान भन्छन्- हामी हजपछि भारत नै फर्किन्छौं र त्यहिँ ब्यवसाय गर्छौं। 
 
साउदी सरकारले कम्पनीका बिदेशी कामदारलाई भिसा दिने प्रक्रिया महँगो बनाउँदै लगेको छ भने ती कम्पनीहरुमा भनेजति साउदी कामदार छ छैन भन्नेबारे पनि कडा जाँच गर्न थालेका छन्। 
 
जेद्दामा रहेको एड एजेन्सीका म्यानेजर अबुजायदका अनुसार गत वर्ष सरकारी अधिकारीहरु फर्मको केन्द्रीय कार्यालयमा आए र साउदी कामदार छ छैन खोज्न थाले। 
 
जोडर्नको पासपोर्ट बोकेका प्यालेस्टिनी नागरिक अबुजयादका अनुसार त्यसबेला कम्पनीमा कामदारका रुपमा दर्ता भएका २० मध्ये जम्मा १ जनामात्र कार्यरत थिए। 
 
जाँच गर्न आएकालाई उनले भने, ‘हामीसँग साउदी नागरिकका नाम छन्। उनीहरु दर्ता भएका छन्। उनीहरुले तलब पनि पाउँछन् तर उनीहरु काम भने गर्दैनन्।’ त्यसपछि उनको एड एजेन्सीले ६५ हजार रियाल अर्थात १८ हजार डलर रुपैयाँ सरकारलाई जरीवाना तिर्नुपर्यो। 
 
जरीवाना तिरेपनि सरकारले उनको एजेन्सीले थप बिदेशी कामदारका लागि भिसा आवदेन दिन नपाउने गरी ब्लक भयो। हाल आफ्नो एड एजेन्सी बिजुलीको बिल समेत तिर्न नसक्ने गरी समस्यामा रहेको अबुजायदले सुनाए। कम्पनी यस बर्षको अन्तिमसम्म पनि टिक्न सक्नेमा उनी शंका ब्यक्त गर्छन्। 
 
केही समयअघि मात्रै राजा सलमानले आफ्ना श्रम मन्त्रीका रुपमा अहमद अल राज्हीलाई नियुक्त गरेका छन्। उनी एक ब्यापारी पृष्ठभूमिका ब्यक्ति हुन् भने उनका पिताले साउदी अरेबियाको अल राज्ही बैंक संचालन गर्छन्। यसबाट सरकारले निजी क्षेत्रलाई कसरी संरक्षण गरेको छ भन्ने आँकलन गर्न सकिन्छ। 
 
सरकारका प्रवक्ताले भने हाल सरकारले लिएको श्रम सम्बन्धी नितिले निजी क्षेत्रलाई कस्तो प्रभाव पर्ला भन्ने बारे प्रतिक्रिया दिएका छैनन्।  


 
साउदी कामदार अनिवार्य गर्नुपर्ने प्रावधानबाट महिलाहरुलाई भने फाइदा पुगेको देखिन्छ। ३२ वर्षकी घलिया अब्दुल्लाहलाई सँधै आफ्ना भित्री वस्त्रहरु किन्न जान समस्या हुन्थ्यो किनभने स्टोरहरुमा बिदेशी पुरुषहरु बिक्रेताका रुपमा हुन्थे। 
 
जेद्दामा खुलेको भिक्टोरिया सिक्रेट स्टोरमा किनमेल गर्दै गरेकी उनले भनिन्, ‘म सँधै बिदेश जाने मौका खोज्थेँ किनभने यहाँ कुनै पुरुषसँग डिल गर्नुभन्दा म अन्तै किन्न चाहन्थें। अब स्टोरमा अधिकांश कामदार महिला भएपछि किनमेल गर्न धेरै सहज भयो।’
 
साउदी सरकारले कामै नगरी तलब खाने गरी साउदी नागरिकलाई काममा राख्नुको बिकल्पहरु पनि सोच्न थालेको छ। सरकारले समानान्तर राष्ट्रिय कार्यक्रम अन्तर्गत रोजगारदाता कम्पनीले साउदी कामदार राखे बराबरको पैसा सरकारलाई तिरेमा नक्कली साउदी कामदार राख्नुभन्दा ‘भर्चुअल कामदार’ राखी सरकारी कोषमा रकम बुझाउने ब्यबस्था पनि गरेको छ। सरकारलाई त यो ब्यबस्था ‘पे चेक’ का रुपमा हुनेछ तर सबै साउदी नागरिकहरु यो ब्यबस्थाबाट सन्तुष्ट छैनन्। 
तीन वर्षअघि साउदी फास्ट फुड चेनका संचालकले पूर्व फूटबलर अहमदलाई जागिरको अफर गरे। यसबाट दुबै पक्षलाई फाइदा थियो। हाइस्कुलसम्म पढेका अहमदले घरमै बसी तलब पाउन सक्थे अनि कम्पनीका मालिकको कामदारको साउदी कोटा पनि पूरा हुने थियो। 
 
अहमदले घरमै बसी मासिक २५ सय रियाल अर्थात ६७० डलर पाउन थाले। सरकारी जाँच टोली आएका बखत भने उनले त्यहाँ देखिन पुग्नुमात्र पर्थ्यो। अहमद भन्छन्, ‘मैले राम्रो काम पाउने आशा राखेको छु। काम पाएँ भने म मेहनत गर्न पनि पछि पर्दिन।’ 
 
तर अझैपनि उनी १ हजार डलर मासिक आम्दानीको कामलाई गन्दैनन्। भन्छन्- म कुनै तल्लो स्तरको जागिर खान्न किनभने यस्तो महंगाइमा थोरै पैसाले धान्नै सकिन्न।  
 
साउदी नागरिकहरुको जीवनस्तर पनि फेरिएको छ। उच्च जीवनस्तरतर्फ सिफ्ट भैरहेको बेला साउदी युवाहरुमा भने कामप्रतिको लगाव पनि झल्किन थालेको देखिन्छ। हालै सरकारले पानी, इन्धन र बिजुलीमा दिँदै आएको अनुदान घटाएको छ भने ५ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट पनि  सुरु गरेको छ। 
 
केही साउदी युवाहरु अचेल उबर र स्थानीय प्रतिस्पर्धी कम्पनी करिमको ड्राइभिङ सिटमा पनि देखिन थालेका छन्। साउदी युवाहरु पनि ट्रेन्डी कफी पसलहरुमा पार्ट टाइम काम गरिरहेका भेटिन्छन् जुन दृश्य दुई वर्ष अघि दुर्लभ थियो। 
 
जेद्दाको मेड क्याफेमा कफी बनाउँदै गरेका धेरै साउदी बारिस्टाहरु आफ्ना युवा ग्राहकहरुलाई सर्भ गर्दै थिए। तिनैमध्येका एक २१ वर्षिय मरिन इन्जिनियर योसुफ तुर्की भन्छन्, मैले दुई प्रकारका मानिसहरु फेस गर्नुपरिरहेको छ। केहीले मलाई सम्मान गर्छन् केहीले गर्दैनन्। 
 
‘मेरै आमा मेरो कामप्रति सकारात्मक हुनुहुन्छ भने बुवा हुनुहुन्न। उहाँले त मैले यस्तै कफी बेच्नका लागि सन्तानलाई ल्याभिस लाइफस्टाइल दिएको थिएँ भन्दै रिसाउनुहुन्छ। यी सबै कुराहरु झेल्न गार्हो हुन्छ तर हामी र समय दुबै परिवर्तन भैरहेको छ र हामीले यसलाई स्वीकार गर्दै अघि बढ्नुपर्छ’ बदलिएको समय अनुसार एडजस्ट गर्न इन्जिनियर तुर्की पार्ट टाइम जबका रुपमा कफी बेचिरहेका छन्।  
 
रियादको नोबु होटलले साउदी कामदार खोज्न सुरुमा केही हस्पिटालिटीफ स्कूलहरु चाहार्यो। होटलले ३२ जना बिद्यार्थीको पढाइ खर्च ब्यहोर्यो अनि तलब पनि दियो। तर अधिकांशले सम्झौता तोडे। ३२ मध्ये ५ ग्रयाजुयटले मात्रै नोबु ज्वाइन गरे। 
 
नोबुले तत्कालका लागि कामै नगरेका साउदीहरुलाई तलब दिएर कोटा पुरा गरेपनि यसको बिकल्प खोज्नुपर्ने पक्षमा छ। नोबुले समानान्तर राष्ट्रिय कार्यक्रमभन्दा पनि उत्तम बिकल्प अघि सारेको छ। उसले सरकारकै सहयोग लिएर साउदी नागरिकहरुलाई रोजगारी दिने तर उनीहरुलाई च्यारिटीका लागि काम गर्न लगाउने बिकल्प अघि सारेको छ। 
 
साउदी राजकुमार र नोबु मात्सुहिसा र अभिनेता रोबर्ट डे निरोको हस्पिटालिटी ग्रुपले संचालन गरिरहेको होटल नोबुले बोर्डमा नयाँ मानव संसाधन प्रमुखका रुपमा हातिम अल हमदानलाई ल्याएको छ जसले नयाँ योजनामा काम गरिरहेका छन्। 
 
स्थानीयलाई रोजगारी खोज्नका लागि अब्बल मानिएकैले हातिम ‘साउदी हन्टर’ उपनामले प्रसिद्ध  छन्। उनी भन्छन्, ‘सेवा क्षेत्रमा काम गर्नुलाई साउदीहरु लज्जाजनक रुपमा लिन्छन्। उनीहरुको योग्यता अनुसारको काम पाउन पनि निकै गार्हो छ।’ 
 
हमदानका अनुसार ब्यावसायिक कम्पनीहरु कामको अवधिका बिषयमा भने साउदी कामदारप्रित लचिलो र उदार हुनुपर्ने बताउँछन्। 
 
केही कामहरु यस्ता हुन्छन् जुन २ घण्टामै सकिन्छ तर कामदार भने काम सकिएपनि ५ घण्टा बसिरहनुपर्छ। उनी प्रश्न गर्छन्- काम सकिएपछि पनि ५ घण्टासम्म किन बस्नुपर्ने? हमदान स्पष्ट छन् ‘कामदारलाई हामीले नै आफ्नो कामप्रति माया गर्ने बनाउनुपर्छ।’ 


Share this Story

   

राष्ट्रवाद हावी हुँदा साउदीमा कामदार हाहाकार, बिदेशीलाई बिस्थापन गर्दै आफ्नै कामदार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.