अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म, पनामा पेपर्स-२ मा यसपाली नेपाली परेनन्

बिजमाण्डू
२०७५ असार ७ गते ०९:४७ | Jun 21, 2018
काठमाडौं। खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ। विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आइसीआइजे) ले बुधवार राति अर्को खुलासा गरेको छ। २०७३ वैशाख २७ गते आइसीआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरेको थियो। 
 
मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आइसीआइजेले पाएको विवरणअनुसार, चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीहरु अवैध सम्पत्ति राखेको र करछली गरेको प्रकरणमा जोडिएका छन्।  यसपाली नेपाली कोही पनि परेको छैन।
 
आइसीआइजेले विश्वभरका १०० बढि सञ्चार माध्यमसँग मिलेर सार्वजनिक गरेको ‘पनामा पेपर्स–२’ खुलासामा चर्चित फुटबल खेलाडी मेस्सी र उनका पिता गोर्खे होरासियो मेस्सी पनि ट्याक्स हेभनमा अवैध सम्पत्ति राखेको मामिलामा जोडिन पुगेका छन्। आइसीआइजेको विवरणअनुसार, पनामामा खोलिएका अफशोर कम्पनीहरुको प्रयोग गरी अर्बौं डलर कर छली गरेको खुलासा भएको हो। कर छली गर्न सुरक्षित मुलुक मानिने पनामामा लियोनल मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलिरहेको उल्लेख छ। 
 
आइसीआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरे लगत्तै मेस्सीले उनको नाम जोडिएको मेघा स्टार इन्टरप्राइजेज ‘पूरै निष्क्रिय’ कम्पनी रहेको दावी गरेका थिए। तर, उनले यो कम्पनी सक्रिय राखि अहिले पनि कर छली गरिहेको थप विवरण बुधबार राति आइसीआइजेले सार्वजनिक गरेको छ। “मोसेक फोन्सेकाको आन्तरिक इमेलको अभिलेखले मेसीको दावी माथि प्रश्न खडा गरिदिएको छ” आइसीआइजेले भनेको छ। 
 
कर छलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेस्सीलाई स्पेनिस कोर्टले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर (करिब २४ करोड रुपैयाँ) जरिवाना गर्ने सजाय सुनाएको थियो। तर, बीबीसीका अनुसार, ‘स्पेनको कानून अनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नु नपर्ने व्यवस्थाका कारण’ उनी जेल बस्नु परेन।
 
दूई वर्षअघिको पनामा पेपर्स खुलासामा आइसीआइजेले २० नेपालीको समेत नाम सार्वजनिक भएको थियो। आइसीआइजेले अवैध सम्पत्ति राखेको र कर छली गरेको भनेर एक पटक १३ र त्यसपछि ७ नेपालीको नाम सार्वजनिक गरेको थियो। यसबारे नेपालका सरकारी निकायले अहिलेसम्म कुनै छानविन तथा कारबाही अघि बढाएको सार्वजनिक जानकारीमा छैन। 
 
अर्जेन्टिनी राष्ट्रपति 
पनामा पेपर्स–२ खुलासामा अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की कर छलीमा फेरि मुछिएका छन्। आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर म्यार्की चोखिन खोजेका थिए। यो कुरा, पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखा बिचमा सन् २०१६ को सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसीआइजेले जनाएको छ। बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबिच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए।
 
कर छली लुकाउन फोन्सेकाका लेखापालले सन् २०१६ मा एउटा हस्तलिखित कागजात तयार पार्न खोजेका थिए, जसमा कम्पनी स्थापना भएको वास्तविक मिति परिवर्तन गरेर अर्को मिति लेख्ने प्रयास गरिएको थियो। तर लेखापालले मिति परिवर्तन गर्नु ‘एकदमै जोखिमपूर्ण’ हुने र कुनै पनि क्यालीग्राफर (कलात्मक हस्तलेखन गर्ने व्यक्ति) ले पत्ता लगाउन सक्ने जोखिम ठानेर पछि हटेका थिए। उनीहरु बिचको यो असफल प्रयासको कुराकानी इमेलबाटै खुलेको छ। “ती लेखापालले जोखिम लिन चाहेनन्” इमेलमा भनिएको छ, “किनकि त्यहाँ अर्जेन्टिनाका राष्ट्रपति जोडिएका थिए।” 
 
एशियाली देश पनि
पनामा पेपर्स–२ ले अवैध रुपमा अर्बौं रकम लुकाएको र कर छली गरेको भनेर मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नाम सार्वजनिक गरेको छ। विवरणअनुसार, मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाई मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्याण्डस्मा कम्पनी दर्ता गरेका थिए। इभर ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको केहि सम्पत्ति छ। २०१७ मे महिनामा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौ डलर (खरब रुपैया) हिनामिना गरेका थिए। आइसीआइजेले लेखेको छ “रजाकको बैंक खातामा १६ लाख अमेरिकी डलर ट्रान्सफर भएको छ।” तर पूर्व प्रधानमन्त्री रजाकले भने यो आरोपलाई अस्वीकार गर्दै आएका छन्। तर, पानामा पेपर्सले रजाकका छोरा मोह्द नजिफुद्दिन बिन मोह्द नजिबको नाममा दुई वटा अफशोर कम्पनी दर्ता भएको खुलासा गरेको छ।
 
आइसीआइजेले हात पारेका नयाँ कागजात अनुसार, मोसेका फोन्सेकाले दर्ता गरेको एउटा कम्पनीको स्वामित्व कुवेतको सामाजिक सुरक्षा प्रणाली हेर्न एजेन्सीका पूर्व प्रमुख फहदअल–रजानको रहेको छ। रजानले हुँदै नभएको व्यक्तिको नाममा ३९ करोड अमेरिकी डलर (साढे ४२ अर्ब रुपैयाँ) अपचलन गरेका थिए। रजानको स्वामित्व टावनी रियल इस्टेट्स लिमिटेडमा छ। 
 
रूसका धनाड्य व्यापारी तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुलाई उद्धृत गर्दै आईसीआइजेले लेखेको छ, “मल्किन अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेड र टप मेट्रिक्स होल्डिङ्गस् लिमिटेड नाममा दुई ब्रिटिस भर्जिन आइल्याण्डस् कम्पनीका मालिकका रुपमा देखा परेका छन्।” अउड्रे होल्डिङ्गस् ग्रुप लिमिटेडका नाममा स्वीस बैंकको अकाउन्टमा २० करोड अमेरिकन डलर (करिब २२ अर्ब रुपैयाँ) रहेको देखिएको छ। काजकस्थानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभ पनि ब्रिटिस भर्जिन आइल्याण्डस्को कम्पनीकी लगानीकर्ता देखिएकी छिन्।
 
विश्वका चर्चित राजनीतिककर्मी, सेलिब्रेटी, अपराधी लगायतको नाम पनि पनामा पेपर्स–२ ले सार्वजनिक गरेको छ। पनामामा मुख्य कार्यालय रहेको मोसेक फोन्सेका नामको बिचौलिया कम्पनीले दर्ता गराइदिएका हजारौ सक्रिय कम्पनी अवैध सम्पत्ति लुकाउने र कर छलीको विवादमा तानिएका छन्। ब्रिटिस भर्जिन आइल्यान्डस्मा सक्रिय २८ हजार ५ सय कम्पनी मध्ये ७० प्रतिशत कम्पनीका मालिकहरुको बारेमा मोसेक फोन्सेका आफै जानकार छैन। पनामामा दर्ता भएका १० हजार ५ सय सक्रिय छायाँ कम्पनी मध्ये ७५ प्रतिशत कम्पनीका मालिकहरुको बारेमा पनि मोसेका फोन्सेका बेखबर छ।
 
‘आफ्ना ग्राहकलाई चिन’ भन्ने स्थापित मान्यताविरुद्ध कुनै जानकारी नै नभएका हजारौँ छायाँ  कम्पनीहरुलाई दर्ता गर्ने मोसेक फोन्सेकाको व्यवहारले सम्पत्ति शुद्धीकरण र आतंकवादलाई सघाउ पुग्ने विज्ञहरुले बताएका छन्। “मोसेक फोन्सेका जस्तो कम्पनीले एउटा मात्र छायाँ कम्पनीको मालिक नचिन्नु स्वीकार्य हुनु हुँदैन” अमेरिकास्थित कर छली तथा सम्पत्ति शुद्धीकरण विज्ञ ज्याक ब्लमले भने, “यसले नक्कली व्यापारको अवस्था कस्तो हुँदै गइरहेको भन्ने देखाउँछ।”
 
पनामा मुख्य कार्यालय रहेको फोन्सेकाको प्रमुख शाखा कार्यालय बाहामास, ब्रिटिस एंगुइला, पनामा, अमेरिकाको सामोआ र सेसल्समा छन्। युरोप, ल्याटिन अमेरिका र एशिया महादेशका दुई दर्जन भन्दा बढी मुलुकमा उसका प्रतिनिधि र सम्पर्क कार्यालयहरु रहेको खुलेको छ। कालो धन सेतो बनाइदिने र कर छलीका लागि मध्यस्थता गर्ने बारेमा विश्वभर समाचारहरु सार्वजनिक भएपछि फोन्सेकाले तीन महिना अघि फर्म बन्द गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life