बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणका पछिल्ला अभियुक्त पोदारको घरमा छापा

सविन ढकाल/बिजमाण्डू
२०७५ असार ७ गते १५:२९ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणमा समातिएका विमल पोदारको घरमा अनुसन्धान टोलीले छापा मारेको छ।

सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार समातिएका थिए। ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्।

उनको घरमा छापा मार्न प्रहरीसहित गृहको टोली पुगेको हो। हुन्डी कारोबारमा समेत सक्रिय रहेका पोदारको घर खानतलासीबाट महत्वपूर्ण सूचना हात लाग्ने टोलीको अपेक्षा छ।

समातिएका पोदारलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ। सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखिएको हो।

सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पोदारसँग समितिले बयान लिए पनि उनले मुख नखोलेको टोलीका एक सदस्यले जानकारी दिए। पोदारको गाडीसमेत नियन्त्रणमा लिइएको थियो।

मन्त्रिपरिषद बैठकले टोलीको म्याद थप गरेपछि सक्रियता बढेको हो। जेठ ३० गतेमात्रै टोलीको म्याद थप गरिएको थियो।