विराटनगर भन्सारको असुली लक्ष्य नजिक, कुन बस्तु सबैभन्दा बढी आयात भयो?

बिजमाण्डू
२०७५ असार ७ गते २१:३९ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

विराटनगर।देशका अन्य प्रमुख भन्सार कार्यालयमा राजस्वको लक्ष्य नपुगिरहेका बेला विराटनगर भन्सारले भने लक्ष्य पुग्ने देखिएको छ।
 

विराटनगर भन्सारले जेठ मसान्तसम्ममा कुल २९ अर्ब १ करोड ५४ लाख रुपैयाँ सङ्कलन गरेर लक्ष्यको नजिक पुगेको छ । चालु आर्थिक वर्षमा कार्यालयले ३१ अर्ब २४ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस हिसाबले कार्यालयले राजस्वको लक्ष्य हासिल गर्न अब २ अर्ब २३ करोड रुपैयाँ असुल गर्नुपर्ने हुन्छ ।
 
कार्यालयले जेठ महिनामा ३ अर्ब ६७ करोड र वैशाखमा ३ अर्ब असुल गरेको थियो । त्यस्तै चैत र फागुनमा क्रमशः ३ अर्ब र २ अर्ब ८२ करोड सङ्कलन गरिएको थियो । कार्यालयले कात्तिक महिनायता मासिक २ अर्ब २३ करोडभन्दा बढी राजस्व उठाइरहेको छ । साउन, भदौ र असोजमा भने बाढीका कारण मीरगञ्जको पुल भत्किएर रिरुट गर्नुपरेकाले राजस्वको लक्ष्य पुगेको थिएन ।
 
चालु आर्थिक वर्षको कात्तिक महिना यताको विवरण हेर्दा मासिक २ अर्ब २३  करोड सजिलै पुगेको देखिन्छ ।  असारमा अन्य महिनामा भन्दा बढी काम हुने भएकाले असुली पनि उल्लेखनीय हुने हुँदा २ अर्ब २३ करोड सजिलै पुग्ने देखिएको हो । 
 
यसपछि भन्सारले सङ्कलन गर्नुपर्ने राजस्वको लक्ष्य प्राप्ति हुन्छ ।जेठ मसान्तसम्ममा कार्यालयले भन्सार महसुलको १२ अर्ब १० करोडको लक्ष्यमा १२ अर्ब २० करोड, मूअकरको ११ अर्ब ९० करोडको लक्ष्यमा १५ अर्ब ५४ करोड र अन्तःशुल्कको ४ अर्ब ११ करोडको लक्ष्यमा १ अर्ब २७ करोड असुल गरेको तथ्याङ्क उपलब्ध गराएको छ ।
 
कार्यालयले अन्तःशुल्कको लक्ष्य हासिल गर्न नसके पनि यसबाट लागेको घाटा मूअकरले पूरा गरेको देखिन्छ ।
 
राजस्व दिने टपटेनमा डिजल पहिलो चिनी दोस्रो
 
जेठ मसान्तसम्म विराटनगर भन्सारमा सबैभन्दा बढी राजस्व प्रदान गर्ने पदार्थ हाइस्पिड डिजल भएको छ । डिजलले २ अर्ब ७ करोड राजस्व दिएको छ ।

त्यस्तै दोस्रो नम्बरमा चिनीले १ अर्ब ३४ करोड, तेस्रो नम्बरमा मोटर साइकलले १ अर्ब ३३ करोड र चौथोमा फलामे सिआर सिटले १ अर्ब १९ करोड रुपैयाँ राजस्व दिएका छन् ।
 

यसपछि क्रमशः पेट्रोल, पोलिथिन दाना, एमएस बिलेट, स्टिल वायर रड, एचआर सिट, तयारी कपडा, एलपी ग्यास र क्लिङ्करबाट राजस्वमा योगदान पुगेको छ ।