वारेन बफेटलाई उछिन्दै फेसबुकका जुकरबर्ग बने विश्वका तेस्रो धनी, टप थ्रीमा प्रविधिकै वर्चश्व

बिजमाण्डू
२०७५ असार २४ गते १२:३९ | Jul 8, 2018

Tata
GBIME
Nepal Life

फेसबुकका को-फाउन्डर तथा सिइओ मार्क जुकरबर्गले वारेन बफेटलाई पछि पार्दै विश्वका तेस्रो धनी बनेका छन्।

गत शुक्रबार फेसबुकको शेयरमा २.४ प्रतिशतको बृद्धि भएपछि जुकरबर्गले तेस्रो धनीको स्थान सुरक्षित गर्न सफल भएको ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सले देखाएको छ।

यो पहिलो पटक हो जहाँ प्रविधिको क्षेत्रमा लागेकाहरु नै विश्वका टप थ्री धनाढ्य बनेका छन्।

पहिलोमा अमेजनका फाउन्डर जेफ बेजोस्,  दोस्रोमा माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्स र अब तेस्रोमा मार्क जुकरबर्ग तीनैजना प्रविधिको क्षेत्रबाट धनी बन्न सफल भएका हुन्।  

३४ वर्षका जुकरबर्गको कुल सम्पति ८१.६ अर्ब डलर रहेको छ। चौथोमा झरेका वर्कशायर हाथवेका अध्यक्ष तथा सिइओ ८७ वर्षका बफेटको भन्दा यो सम्पति ३७ करोड ३० लाख डलर बढी हो।

सोसल नेटवर्क जायन्ट फेसबुकले डाटा लिक गरेको पुष्टि भएपछि यसको शेयर निकै खस्किएको थियो। गत मार्चमा ८ महिनाकै तल्लो स्तरमा छुँदै शेयरको मूल्य १५२.२२ डलरमा झरेको थियो ।

बिस्तारै लगानीकर्ताहरुको गुमेको विश्वास फिर्ता पाउँदै गत शुक्रबार न्यूयोर्क स्टक एक्सचेन्जमा यसको शेयरको भाउमा रेकर्ड स्तरको बृद्धि देखियो। शुक्रबार बजार बन्द हुँदा फेसबुकको शेयर मूल्य २०३.२३ डलर पुगेको थियो।

कुनै बेलाका विश्वकै धनाढ्य वारेन बफेट भने उनले दिएको च्यारिटीहरुकै कारण धनाढ्यको सूचिमा तल झरेका छन्। उनले वर्कशायर हाथवेको बि क्लासका २९ करोड इकाइ शेयर च्यारिटीलाई दिएका थिए। ति शेयरको मूल्य ५० अर्ब डलर पर्छ।

सन् २००४ मा जुकरबर्गले १९ वर्षको उमेरमै हार्वर्ड पढ्दा फेसबुक खोलेका थिए। उनले सन् २०१२ मा फेसबुकको शेयर सर्वसाधारणलाई बेचे । उनीसँग फेसबुकको १७ प्रतिशत शेयर छ।

जुकरबर्गले पनि आफ्नो फेसबुकको शेयरमध्ये ९९ प्रतिशत आफ्नो जीवनकालमै च्यारिटीलाई दिने घोषणा गरिसकेका छन्।