यी हुन् फोर्ब्सकी सबैभन्दा कान्छी सेल्फ-मेड बिलेनियर, जसको एक ट्विटले बदलिन्छ शेयर बजार!

बिजमाण्डू
२०७५ असार २९ गते १३:०० | Jul 13, 2018
यी हुन् फोर्ब्सकी सबैभन्दा कान्छी सेल्फ-मेड बिलेनियर, जसको एक ट्विटले बदलिन्छ शेयर बजार!

Tata
GBIME
Nepal Life

काइली जेनर जम्मा १० वर्षकी थिइन् जतिबेला उनले पारिवारिक रियालिटी सिरिजमा डेब्यू गरिन्। किपिङ अप विथ कादर्सियन्स नामक सिरिज उनको  घरभित्रकै  चर्चित सिरिज थियो जुन  उनकी दिदी किम कादर्सियनले होस्ट गर्थिन्।

सिरिजमा आएको एक दशकपछि उनी ग्ल्यामर क्षेत्रमा चर्चित मात्र बनिनन् विश्वप्रसिद्ध फोर्ब्स म्यागेजिनको सूचिमा सबैभन्दा कान्छी ‘सेल्फ मेड’ अर्बपतिका रुपमा दरिइन्।

२ वर्षअघि काइलीले मात्र २९ डलरको लिपकिट उत्पादन गर्दै कस्मेटिक ब्यवसायमा हात हालेकी थिइन्।  दुई वर्ष अघि खोलेको त्यही कस्मेटिक कम्पनीले उनलाई आफ्नै बलबुतामा अर्बपति बन्ने सबैभन्दा कान्छी अमेरिकीको हैसियत दिलायो। फोर्ब्सका अनुसार काइलीले हालसम्म ६३ करोड डलरको उत्पादन बेचिसकेकी छिन्।

उनको सफलता सौन्दर्य प्रशाधन उद्योगमा मात्र नभइ मिडियामा समेत देखिन्छ। काइलीका कस्मेटिक्सहरु कुनै स्टोर वा परम्परागत बिज्ञापन शैलीबाट बेचिन्नन्। अरु उत्पादन वा प्रतिस्पर्धीहरुभन्दा फरक छ उनको  शैली।  

उनलाई कुनै बिज्ञापनको साहारामा उत्पादन बेच्न पनि परेको छैन। उनी आफै सोसल मिडिया पावरहाउसका रुपमा मानिन्छिन्। उनको इन्स्टाग्राममा पनि अढाइ करोड फलोवर्स छन् भने ट्विटरमा उनलाई १६ करोडले फलो गर्छन्। उनी वेबसाइटमै उत्पादनहरु बेच्ने गर्छिन्।

उनको सोसल मिडियामा पकड यति दह्रो छ कि उनले गर्ने एक ट्विटले धेरै असर पार्छ। हालैमात्र उनले स्न्यापचाटका वारेमा गरेको एक ट्विटले स्नापच्याटको शेयरमा भारी गिरावट आएको थियो।

उनले सन् २०१५ मा आफ्नो नामको लिप किट बजारमा ल्याएकी थिइन्। उनले पहिलोपटक उत्पादन ल्याउँदा वेबसाइट नै क्रयास हुनेगरी एक मिनेटभन्दा कम समयमै उनका सबै उत्पादन बिकेको थियो।

पहिलो किट सार्वजनिक गरे लगत्तै उनले काइली कस्मेटिक्सको बिजनेसलाई अघि बढाइन् जसले एक दिनमा १ करोड ९० लाख डलरसम्मको कमाइ गरेको थियो।

उनको कम्पनीमा जम्मा १२ जनामात्र कर्मचारी छन् जसमध्ये ७ जना मात्र फूलटाइमर। काइलीको कम्पनीले उत्पादन तथा संचालनकालागि बिशेषज्ञ फर्महरु आउटसोर्स गर्ने गर्छ।

ब्यापारको केही वर्षमै उनले ६३ करोड डलर बराबरको लिप ग्लस, हाइलाइटर र आइस्याडोको बिक्री गरिन्। उनको कम्पनीको ९० करोड डलर बराबरको सम्पति भैसकेको फोर्ब्सले जनाएको छ जुन उनकी दिदी किम कादर्सियन भन्दा तीन गुनाले बढी हो।

२० वर्षकै उमेरमा उनले पाएको सफलताले उनलाई परिवारका अन्य सदस्यहरुको भन्दा बढी कमाइ गर्ने अर्बपति बनाइदिएको छ।