स्टक एक्सचेन्जमा हाजिर हुन पुगेका साउदलाई प्रवेशमा रोक, किन भयो नेप्से कारोबार प्रभावित

बिजमाण्डू
२०७५ साउन २ गते १२:४५ | Jul 18, 2018


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उत्पन्न तनावका कारण शेयर कारोवार प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत नियमित काममा फर्किएका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई हाजिर गर्न नदिएपछि शेयर कारोवार प्रभावित भएको हो।

अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई बुधबार नेप्सेमा हाजिर गर्नबाट रोकिएको स्रोतको भनाइ छ।

सरकारकै निर्देशन अनुसार हाजिर हुन रोकिएको बुझिएको छ। अर्थ मन्त्रालयले असार २२ गतेको मन्त्रीस्तारिय निर्णय बमोजिम अर्को व्यवस्था नभएसम्मकालागि सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा रमेश अर्याललार्इ नियुक्त गरेको थियो।

सोहि नियुक्तीलाई निरन्तरता दिन सरकारी दवावका कारण नेप्सेले साउदलाई हाजिर गर्न नदिएको स्रोतको दावी छ।

बुधबार नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा रमेश अर्यालले नै कार्यभार सम्हालिरहेका छन्। सरकारलेनै अदालती निर्णयको  कार्यान्वयनको विषयमा टुङ्गो नलगाएसम्म साउदलाई हाजिर हुन नदिने वुझिएको छ।

सरकारले गत आइतबार निवर्तमान प्रमुख कार्यकारी अधिकृत साउदलार्इ बर्खास्तीको पत्र थमाएको थियो।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेबसाइट मा समस्या देखिएको छ ।

नेप्सेको www.nepalstock.com  र Nepalstock.com.np दुबै साइटमा समस्या देखिएको हो।

कारोबारको सुरुवात देखिनै साइटमा समस्या देखिँदा लगानीकर्ताले कारोबारलाइ प्रत्यक्ष हेर्न पाएका छैनन्।
 
नेप्सेको डाटा सेन्टरमा समस्या आएका कारण साइटमा समस्या देखिएको नेप्सेले जनाएको छ।

नेप्सेले सम्पूर्ण डाटा सिंहदरवारस्थित सरकारी डाटा सेन्टरमा राख्दै आएको छ।
 
मर्मत सम्बन्धी काम सुरु भैसकेको तर कति समयमा समस्या समाधान हुन्छ भन्ने यकिन नभएको नेप्सेले जनाएको छ।
 
साइटमा समस्या देखिएपनि ब्रोकर अफिसमा भने कारोबार चलिरहेको छ।  ब्रोकर अफिसमा पनि कहिले कारोवार रोकिने कहिले खुल्ने गरिरहेको एक ब्रोकरले बताए।