बैंकर्स संघको धारणा: सहजीकरण नगर्ने हो भने प्राथमिक बजारमै अब हकप्रद र एफपिओ बिक्दैन

बिजमाण्डू
२०७५ साउन २ गते १४:४४ | Jul 18, 2018
बैंकर्स संघको धारणा: सहजीकरण नगर्ने हो भने प्राथमिक बजारमै अब हकप्रद र एफपिओ बिक्दैन

 
काठमाडौं। आगामी दिनमा बैक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको हकप्रद तथा एफपिओ बिक्री हुन कठिन हुने बैंकर्स संघले प्रतिकृया दिएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले शेयरको दोस्रो बजार निक्कै झरिसकेको भन्दै प्राथमिक बजारबाट पनि शेयर बिक्ने अवस्था नरहेको बताएका हुन्।
 
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरवहादुर थापाले प्राथमिक बजारबाट पूँजी परिचालन गर्ने राष्ट्र बैंकको नीति रहेको भन्दै दोस्रो बजारको उतारचढावमा हस्तक्षेप नगर्ने बताएका थिए।
 
थापाको तर्कलाई ढुङ्गानाले खण्डन गर्दै प्राथमिक बजारमा पनि शेयर बिक्री हुन छाडेको जबाफ फर्काएका हुन्। 'अहिले नेपाल बैंकको शेयर बिक्री भइरहेको छैन। एनएमबी बैंकको एफपिओ पनि बल्ल बल्ल बिक्री भएको छ' ढुङ्गानाले भने, 'प्राथमिक बजारमै शेयर बिक्री हुन छाडेकाले यस बारेमा नीतिगत सबोधन गर्दा राम्रै हुन्छ।'
 
अझै केही बैंकको हकप्रद निस्कासन गर्नु पर्ने भएकाले ती संस्थाको शेयर बिक्री हुन कठिन हुने ढुङ्गानाले बताए। 'यसमा केही सहजीकरण गरिदिनु पर्ने बेला भइसकेको छ' नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले आयोजना गरको कार्यक्रममा उनले भने।

Tata
GBIME
Nepal Life