नेतृत्वको तनावले नेप्सेको कारोबार प्रभावित, सबै उपसूचकसहित कारोबार रकम पनि घट्यो

बिजमाण्डू
२०७५ साउन २ गते १६:०० | Jul 18, 2018


काठमाडौँ। शेयर कारोबारको सुरुवातमै प्राविधिक गडबडी र नेतृत्वमा  देखिएको तनावले बुधबार शेयर बजार प्रभावित भएको छ।

Tata
GBIME
Nepal Life

बुधवार शेयर कारोबारकालगि बजार पुगेका लगानीकर्ता अलमलमा पर्दा शेयर कारोबार मापक सूचक ५.६३ अंकले घटेर ११९८.६८ अंकमा ओर्लिएको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत १.२२ अंकको गिरावट आउँदा सूचक २५२.४० अंकमा झरेको छ।

बुधबार नियमित कारोबारकालागि तयारी अवस्थामा रहेका लगानीकर्ता तोकिएको समयमा नेप्सेको आधिकारिक वेबसाइट नखुलेपछि अलमलमा परेका थिए।

घरैमा बसेर साइट हेरेर खरिद बिक्री आदेश दिने लगानीकर्ता अलमलमा परेपछि कारोबारकालागि ब्रोकर अफिस पुगेका लगानीकर्ता समेत नियमित कारोवार सुरु नभएपछि अन्योलमा परेका एक ब्रोकरले बताए।

केही समयपछि ब्रोकर कार्यालयमा कारोबार सुरु भएपनि पहिलेकै गतिमा कारोबार नहुँदा कारोबार रकममा त्यसको प्रभाव देखिएको थियो।  करिव एक घण्टापछि ब्रोकर कार्यालयमा कारोवार सुरु भएपछि भने कारोवारले गति लिएको थियो।

सुरुवाती कारोवारमा प्राविधिक गडबडी आउँदा समस्या देखिएको नेप्सेले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ।

यसैगरी सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत नियमित काममा फर्किएका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर गर्न नदिएको खबर सार्वजनिक भएपछि लगानीकर्ता थप अलमलमा परेका थिए।

अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई बुधबार नेप्सेमा हाजिर गर्नबाट रोकिएको र प्रविधिक गडबडी एकैपटक हुँदा लगानीकर्ताले खुलेर कारोबार गर्न नसक्दा कारोबार रकममा समेत त्यसको प्रभाव देखियो।

बुधबार १३९ कम्पनीका चार लाख ७७ हजार कित्ता शेयर १७ करोड रुपैयाको मात्रै कारोबार भयो।

मंगलबार २० करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनभन्दा तीन करोड रुपैयाँ कारोबार रकम कम हो। बुधबार सबैभन्दा बढी नबिल बैंकको दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका ११ समूहमा नौ समूहको उपसूचक घटेका छन्। फाइनान्स ०.७६ अंकले बढेको छ भने होटल समूहमा कुनै हेरफेर भएन।

बुधबार सबैभन्दा बढी नेशनल हाइड्रोपावरका शेयरधनीले करिब पाँच प्रतिशत कमाए भने नयाँ नेपाल लघुवित्तका शेयरधनीले करिब सात प्रतिशत गुमाए।