इन्भेष्टमेन्ट बैंकले एक्सिलेन्स अवार्ड पायो, विश्वभरका १५ सय बित्तीय संस्थामध्येबाट चयन

बिजमाण्डू
२०७५ साउन ३ गते १७:०९ | Jul 19, 2018


 काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

Tata
GBIME
Nepal Life

प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा गरेको समारोहमा बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई पुरस्कार  प्रदान गरेको बैंकले जनाएको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो ।

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार,  संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाकाबारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछि प्रदान गरिन्छ  ।

१५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा कार्यक्रममा सहभागिता जनाएका थिए । 

बैंकको हाल ७७ वटा शाखा  तथा १०४ वटा एटिएम रहेको बताइएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधा रहेको छ।

बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

एस डेभलपमेण्ट बैंकको प्राप्तिपश्चात नेपाल इन्भेष्टमेण्ट बैंक लि.को आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा चुक्ता पूँजी १०.६५ अर्ब  रुपैयाँ पुगेको छ भने बैंकको प्राथमिक पूँजी २०.९४ अर्ब रुपैयाँ पुगेको पनि बैंकले जनाएको छ  ।

बैंकले १३०.२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी  ११८.८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिसम्ममा बैंकले  २.८४ अर्ब रुपैयाँ खुद नाफा गरेको बिज्ञप्तीमा जनाइएको छ।  

बैंकका अनुसार तेस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.२५ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७६ प्रतिशतमा सिमित पारेको छ ।
३२ वर्ष पुरानो बैंकले पाँच पटकसम्म  बैंक अफ द इयर प्राप्त गरिसकेको जनाएको छ।