दोस्रो बजारमा शेयर कारोबार ४०.७६% ले घट्यो, सरकारले प्राप्त गर्ने पूँजीगत लाभकर तीन गुणाले घट्ने

बिजमाण्डू
२०७५ साउन ३ गते १७:२९ | Jul 19, 2018

 
काठमाडौं। शेयरको दोस्रो बजारमा कारोबार घटेसँगै सरकारले पाउने पूँजीगत लाभ कर पनि उल्लेख्य रुपमा घट्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार अघिल्लो वर्ष सरकारले पूँजीगत लाभकर एक अर्ब ४५ करोड रुपैयाँ पाएको थियो। 
 
यस वर्ष भने ४८ करोड रुपैयाँमै खुम्चिने अनुमान नेप्सेको छ। नेप्सेले गत आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिसम्ममा ४३ करोड रुपैयाँ तिरेको थियो। त्यसपछि पनि बजार घटिरहेको हुँदा थप ५ करोड रुपैयाँ मात्रै बढ्ने नेप्सेको अनुमान छ। 
 
बजार घट्दा लगानीकर्तालार्इ नाफा हुँदैन, जसले गर्दा पूँजीगत लाभकर पनि घटेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए।
 
निरन्तर ओरालो लागेको शेयर बजारमा कारोबार रकमसमेत घटेको छ। शेयर कारोबार ४०.७६ प्रतिशतले घटेको छ। दोस्रो बजारमा गिरावट आएसँगै गत आर्थिक बर्ष एक खर्ब २१ अर्ब रुपैयाँको कारोबार भएको छ। जबकी अघिल्लो आर्थिक बर्षमा यस्तो कारोबार दुर्इ खर्ब ४ अर्ब रुपैयाँको थियो। 
 
कारोबारमा आएका शेयर संख्या पनि २५.१९ प्रतिशतले घटेको छ। गत वर्ष २९ करोड ३६ लाख कित्ताको कारोबार भएको थियो। अघिल्लो वर्षको ३९ करोड २५ लाख कित्ता शेयर कारोबार भएका थिए। 
 
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पूँजी बृद्धि योजनाले शेयर बजारमा आपुर्ति बढेसँगै बजार घटेको पराजुलीको तर्क छ। 
 
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्याले ब्याजदर उच्च हुँदा लगानी योग्य पूँजीको अभाव पनि बजार घट्नुको कारण रहेको उनले बताए। 
 
ब्रोकरको नाफामा पनि ब्रेक
ब्रोकर कार्यालय कारोबार रकम
भिजन सेक्युरिटिज 12614340497
अनलाइन सेक्युरिटिज 12218079277
नासा सेक्युरिटिज 10640731550
श्री कृष्ण सेक्युरिटिज 10215942169
एविसी सेक्युरिटिज 10165289542
इम्पेरियल सेक्युरिटिज 8128611963
सनी सेक्युरिटिज 7145753052
डाइनामिक मनी म्यानेजर 6430148664
क्रियटिभ सेक्युरिटिज 6272012083
स्वेता सेक्युरिटिज 6036324417
जम्मा 89867233214
सरकारी राजश्वसँगै ब्रोकर कार्यालयको नाफा पनि घट्ने भएको छ। कारोबार रकम घट्दै गर्दा ब्रोकर कमिसन पनि घट्ने ब्रोकर एसोसियसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले बताए। 
 
उनले भने 'गत वर्ष ब्रोकर कमिसन ४० प्रतिशतले घटाउँदा उसै पनि नाफा घट्ने निष्चित थियो, यसपाली कारोबार रकम ४० प्रतिशतले घट्दा हाम्रो नाफा सत प्रतिशत नै घट्ने निष्चित छ। 
 
गत आर्थिक बर्ष सबैभन्दा धेरै कारोबार गरेर नेपाल स्टक एक्सचेन्जले अनलाइन सेक्युरिटिजलार्इ पुरस्कार प्रदान गरे पनि यस बर्ष भिजन सेक्युरिटज अगाडि देखिएको छ। भिजनले सबैभन्दा धेरै १२ अर्ब ६१ करोड रुपैयाँको कारोबार गरेको छ। त्यस्तै सबैभन्दा कम अरुण सेक्युरिटिजले १७ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको छ। 
 
मोफसलमा कारोबारको उत्साह 
समग्र कारोबार रकम घट्दै गर्दा मोफसलको कारोबारमा भने उत्साह देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष मोफसलमा १४.७३ प्रतिशतले कारोबार फस्टाएको छ। 
 
गत वर्ष मोफसलमा मात्रै ११ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो। 
 
धितोपत्र बोर्डले गत वर्ष मात्रै २० वटाभन्दा धेरै शाखा विस्तार गर्न अनुमति प्रदान गरेको थियो। नयाँ शाखा कार्यालय थपिएसँगै फोफसलमा कारोबार रकम बढेको हो। 
 
मोफसलको कारोबार कुल कारोबारको ९.२२ प्रतिशत रहेको छ। समग्र कारोबारमा अग्रस्थानमा रहेको भिजन सेक्युरिटिजले नै मोफसलमा पनि अधिकतम ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ। 

Tata
GBIME
Nepal Life