प्रधानमन्त्रीले भने, ‘अनुसन्धानविना विश्वविद्यालयले सम्बन्धन दिइरहँदा देशमा बेरोजगार बढे’

बिजमाण्डू
२०७५ साउन ५ गते १५:५६ | Jul 21, 2018
प्रधानमन्त्रीले भने, ‘अनुसन्धानविना विश्वविद्यालयले सम्बन्धन दिइरहँदा देशमा बेरोजगार बढे’

 
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्।
 
त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिक दिवश बैठकलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धानविना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको बताए। 
 
पढेका मान्छे बेरोजगार नहुन भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा नीति तर्जुमा गर्न लागेको उनको दावी थियो। 
 
‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रुपमा जनशक्तिको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना अयोगले यो अध्ययन गर्दैछन्। यसको प्रतिवेदन आएपछि हामीले कुन क्षेत्रमा कति जनशक्ति उत्त्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउँछ।”
 
विश्वविद्यालय अनुसन्धान केन्द्र भएकाले देशलाई आवश्यक पर्ने अनुसन्धान यही संस्थाबाट हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए। उनले विश्वविद्यालयलाई अनुसन्धानमा अब्बल बनाउन निर्देशनसमेत दिए। 
 
देशको करिब दुई तिहाइ जनसंख्या कृषिमा निर्भर रहेको र यो क्षेत्र निर्वाहमुखिमात्र भएकाले यसलाई थप व्यवसायिक बनाउनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। प्रधानमन्त्री ओलीले भने,  ‘कृषिलाई आधुनिकीकरण र मेसिनिकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्दछ। यसका लागि विश्व विद्यालयले पनि त्यसै अनुसारको नीति तय गर्नुपर्दछ।‘
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान पनि गरेका थिए।

Tata
GBIME
Nepal Life