ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै, साइबर नीति र साइबर सुरक्षाका बारेमा छलफल हुने

रासस
२०७५ साउन ७ गते २०:२१ | Jul 23, 2018
ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै, साइबर नीति र साइबर सुरक्षाका बारेमा छलफल हुने

Tata
GBIME
Nepal Life

काठमाडौँ।साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यही साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ । 

 
‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित नेपलामा पहिलोपटक हुन लागेको उक्त सम्मेलनमा विश्व परिवेशमा साइबर सुरक्षाका विभिन्न आयमबारे छलफल हुने आज यहाँ पत्रकार सम्मेलन गरेर आयोजकले जनाएका छन् । 
 
विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा सम्मेलनमा गम्भीररुपमा छलफल हुनेछ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि सम्मेलनमा हुनेछ ।
 
सम्मेलनमा साइबर सेक्युरिटीसम्बन्धी पूर्वाधार निर्माण गर्न विश्वव्यापीरुपमा भइरहेका अभ्यासहरुको जानकारीसमेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनीकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टका लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ ।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाइटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा  सम्मेलनको आयोजना हुने जनाइएको छ ।