सात युवाले एक करोडमा रोबोट बनाए, बजार प्रवर्द्धनका लागि खोले स्मार्ट रेष्टुरेन्ट

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ साउन ११ गते ०८:१० | Jul 27, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका पाँच युवा र व्यवस्थापन पढेका दुर्इ युवा मिलेर पाइला टेक्नोलोजी कम्पनी खोले।कम्पनीले रोबोट बनाउन सुरु गर्यो।

उनीहरुले बनाएको रोबोट 'परि' नेपाल एसबिआर्इ बैंकले किन्यो।दरबारमार्गमा रहेको पहिलो स्मार्ट शाखामा रोबोट परिले कस्टुमर सर्भिसको काम गर्छिन्।बैकिङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार भएपछि उनीहरु होटल,रेष्टुरेन्टमा प्रयोग गर्न मिल्ने रोबोट बनाउन हौसिए।उनीहरु यो क्षेत्रमा हौसिनुको कारण थियो-सबैभन्दा बढी 'स्कोप'।अहिले होटल र रेष्टुरेन्टमा कामदारको लफडा सबैभन्दा बढी हुन्छ।अझ दक्ष कामदार पाउन कठिननै।
 

त्यसपछि उनीहरुले रेष्टुरेन्टमा चाहिने रोबोट  बनाए। मेकानिकल इन्जिनियरीङ पढेका रविन गिरि, सागर श्रेष्ठ, निरज बस्नेत , वसिम अक्रम खान र दीपकमल भुसालले रोबोट बनाए।र, रोबोटको बजार प्रवर्द्धनका लागि होटल र रेष्टुरेन्ट चहार्नु भन्दा आफ्नै रेष्टुरेन्ट खोल्ने 'आइडिया' बनाए।

रेष्टुरेन्ट खोल्दा आम्दानीको स्रोत पनि हुने र रोबोट बेच्ने माध्यम पनि बन्ने।रेष्टुरेन्टको योजना बनाएपछि उनीहरुलेे यसका लागि प्राइम लोकेसन आवश्यक हुने देखे।त्यसपछि प्राइम लोकेसन दरबारमार्गमा ठाउँ खोजी गर्न थाले।दरबारमार्गमा उनीहरुले भनेको जस्तै ठाउँ भेटे र दिनरात नभनी उनीहरुले दरबारमार्गमा इन्टेरियर डिजाइन गरे।उनीहरुले रेष्टुरेन्टको नाम राखे-नौलो।

केही  महिनाको मेहनतलेे बिहीबार रंग ल्यायो। बिहीबार यो रेष्टुरेन्टको शिक्षा तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेलले उद्घाट्न गरे। लामो प्रयासपछि रेष्टुरेन्ट खोल्न सकेकोमा उनीहरु खुशी मात्रै थिएनन् यसबाट आफ्नो सिर्जनाको सदुपयोग भएकोमा गर्व महशुस गर्दै थिए। रोबोट बनाउनेमध्येका एक रविन भन्छन्-‘हामीले उत्पादन गरेको रोबोटले रेष्टुरेन्टमा खाना सर्भ गर्छ।हामीले रेष्टुरेन्ट क्षेत्रमै नयाँ प्रयोग गरेका छौं।यसले रेष्टुरेन्टको व्यापार बढ्छ।हामीले उत्पादन गरेको रोबोटको समेत बजारीकरणका लागि बाटो खोल्छ भन्नेमा विश्वस्त छौं।’

यो रेष्टुरेन्टमा कागजी मेनु छैन।टेबुलमा डिजिटल प्रविधिमार्फत खानाको अर्डर गर्न सकिन्छ।‘टेबलमा मेनु देखिन्छ, क्लिक गरेपछि अर्डर हुन्छ,उनले भने, ‘खाना सबै रोबोटले सर्भ गर्छ।‘उनीहरुले रोबोटको नाम राखेका छन् जिन्जर र फेरी।जिन्जरले खाना सर्भ गर्छ भने फेरीले पानी,जुश लगायतका पेय पदार्थ सर्भ गर्छ।
 

प्रत्येक रोबोटमा १८ घण्टासम्म सेवा दिने क्षमता रहेको छ भने ब्याट्री पनि स्वचालित रुपमा रोबोट आफैँले चार्ज गर्छ। उनीहरुले यो रोबोट बनाउन एक करोड खर्चिएका छन्।

रेष्टुरेन्टमा ७० भन्दा बढी नेपाली रैथाने खाना र कन्टिनेन्टल परिकार छन्। 'हामीले रोबोट राखेर रेष्टुरेण्ट व्यवसायलाई मात्र केन्द्रीत गरेका होइनौँ। हाम्रो मूल उद्धेश्य भनेको सर्वसाधारणलाई रोबोटमार्फत सेवा दिनुका साथै नेपाली खानाको प्रवर्द्धन गर्नु पनि हो।' गिरिले भने।
 

नौलोको आन्तरिक संरचना अन्तरिक्षयान भित्रको स्वरुपमा केन्द्रित छ। भित्र रहेको प्रविधी चलाउन ग्राहक अलमलमा नपरुन भन्ने उद्धेश्यले समूहले भिडियो देखाउँदैछ।नौलोमा ४८ जना अटाउँछन्। विहान नौ बजे देखि राती १० बजेसम्म खुल्ला हुने यो रेष्टुरेन्टमा १३ जना कर्मचारी किचनमा र  तीन जना कर्मचारी वेटर छन्। 
 
'ग्राहकलाई सुरुमा रोबोटसँग सेवा लिन अप्ठेरो नहोस् भनेर हामीले तीन जना वेटर राखेका हौँ' गिरीले भने। उनका अनुसार निकट भविष्यमा नौलोमा माग अनुसारको रोबोट थप्ने र नेपालमै उत्पादित रोबोटको बजार संसारभर पुर्याउने उदेश्य छ।