पाकिस्तानमा इमरानको सत्तारोहणको अंक गणितः प्रधानमन्त्री बन्न २८ सांसद अपुग

बिजमाण्डू
२०७५ साउन १३ गते १५:४४ | Jul 29, 2018

Tata
GBIME
Nepal Life

इस्लामावाद। पाकिस्तानी जनताले पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफलाई निर्वाचनमार्फत ठूलो दल त बनाए तर उनलाई सरकार सञ्चालनका लागि सहज बाटो भने दिएनन्। 

 
शनिवार पाकिस्तानको केन्द्रीय निर्वाचन आयोगले मतदानको ५६ घण्टापछि पूर्ण प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ।
 
निर्वाचन भएको कुल २७० सिटमा पीटीआईले ११५ सिटसहित ठूलो दल बनेको छ। तर उसलाई सरकार निर्माण गर्न निकै कठिन हुने छ। पाकिस्तानमा सरकार गठनका लागि १३७ सिट आवश्यक पर्छ। 
 
निर्वाचन अगाडि पीटीआईका नेताहरुले आफ्नो दलले स्पष्ट बहुमत प्राप्त गर्ने भन्दै बाहिरबाट कुनै पनि सांसदको समर्थन आवश्यक नपर्ने दाबी गर्दै आएका थिए। पीटीआई प्रमुख इमरानले पनि ‘नयाँ पाकिस्तान’ निर्माणका लागि आफूलाई स्पष्ट बहुमत दिन आग्रह गरेका थिए। 
 
त्यतिमात्र होइन पीटीआईका तर्फबाट एक भन्दा बढी स्थानबाट विजयी भएका सांसदलेसमेत ती स्थान छाड्नुपर्ने छ। इमरान खान स्वंम ५ स्थानमा विजयी भएका छन्। 
अब यस्तोमा इमरानलाई सरकार गठनका लागि पीएमएल–क्यू, बालोचिस्तान अवामी पार्टी (बीएपी), ग्राण्ड डेमोक्रेटिक एलाइन्स (जीडीए) त्यस्तै स्वतन्त्र गठनबन्धन, सेख रसिदसहितका केही स्वतन्त्र सांसदको समेत साथ आवश्यक पर्ने छ। त्यस्तै एमक्यूएम–पीले समेत इमरानलाई साथ दिन सक्ने बताइएको छ। 
 
पाकिस्तानमा गत मे मा आफ्नो पाँच वर्ष सरकार चलाएको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६४ सिट हात पारेको छ। त्यस्तै पूर्वप्रधानमन्त्री स्व. वेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले ४३ सिटसहित तेस्रो स्थानमा आएको छ। 
 
धार्मिक कट्टरपन्थी गठबन्धन मुत्ताहिडा मज्लिस–इ–अमल (एमएमए) १२ सिटसहित चौथो दल भएको छ। 
 
त्यस्तै एमक्यूएम–पीले ६ सिट प्राप्त गरेको छ। पीएमल–क्यू र बीएपीले चार चार सिट हात पार्दा जीडीएले २ सिट मात्र हात पारेको छ। 
 
एएमल, पाकिस्तान तेहारिक ए इन्सानियत र जम्हुरी वतन पार्टीले एक एक सिट हात पारेका छन्। त्यस्तै १३ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 
 
पाकिस्तानमा सरकार गठनका लागि इमरानलाई यी १३ स्वतन्त्र सांसदको साथले ठूलो मद्दत राख्ने छ। त्यस्तै दुई वटा क्षेत्रमा निर्वाचन हुन बाँकी नै छ। पाँच वटा सिटको पुन मतगणना हुँदै छ। 
 
त्यस्तै एक भन्दा बढी स्थानमा विजयी भएका सांसदले बाँकी स्थानमा खाली गरिदिनुपर्ने छ। सो स्थानमा पनि उपनिर्वाचन हुने छ। 
 
पीटीआईका अध्यक्ष इमरानले ४ स्थान छाड्नुपर्ने छ। त्यस्तै गुलाम सरावर खानले समेत दुई स्थानमा जित हात पारेका छन्। उनले समेत एक स्थान छाड्नुपर्ने छ। 
 
खैवर पख्तुनख्वाका पूर्वमुख्यमन्त्री परवेज खटाकले राष्ट्रिय सभा र प्रदेशसभामा विजयी भएका छन्। यदी उनलाई पीटीआईले मुख्यमन्त्रीमा चयन गरे उनको राष्ट्रियसभाको सिट खाली हुनेछ। यसको मतलव पीटीआईसँग राष्ट्रियसभामा १०९ सिट मात्र हुनेछ। उसलाई २८ सिट आवश्यक पर्छ। 
 
दोस्रो, तेस्रो र चौथो ठूलो दलले पीटीआई समर्थन नगर्ने संकेत दिएका छन्। यी तीन दलको संसद संख्या ११९ हुन्छ। पीटीआईको विपक्षमा ११९ सांसद पहिले नै जम्मा भइसकेका छन्। पीटीआईले स्वतन्त्र र साना दलसँग गठबन्धनका लागि छलफललाई अगाडि बढाएको छ। 
 
पीटीआईले हालसम्म पीएमएल–क्यूको चार मध्ये ३ सिट, बीएपी, जिडीए, एमक्यूएम–पी समर्थन पाउने पक्का जस्तै छ। यो जोड्दा पीटीआईको पक्षमा १२२ सदस्य हुन आउँछ। अब उसलाई थप १५ सांसदको समर्थन आवश्यक पर्छ। 
 
हालसम्म ३ सांसद भएको बलोचिस्तान नेसनल पार्टी–मेंगल (बीएनपी–एम) र एक एक सांसद भएको जमहुरी वतन पार्टी, अवामी नेशनल पार्टी र पाकिस्तान तेहारिक ए इन्सानियत स्पष्ट समर्थन कता भन्ने खुलाएका छैनन्।