सवारी साधनको लाइसेन्स ६ वटा प्रदेशमा खुल्यो, २ नम्वरले खोलेन, चार लाख चालक चिटको भरमा

बिजमाण्डू
२०७५ साउन १३ गते १६:०९ | Jul 29, 2018
सवारी साधनको लाइसेन्स ६ वटा प्रदेशमा खुल्यो, २ नम्वरले खोलेन, चार लाख चालक चिटको भरमा



 
काठमाडौं। यातायात व्यवस्था विभागले डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमतीपत्र लाइसेन्सको आवेदन आइतबारबाट खुल्ला गरेको छ। 
 
राजश्व संकलन, मिलान, बाँकी रहेको रिटालयको ब्याक लक सक्ने भन्दै विभागले जेठ अन्तिम सातादेखि आवेदन बन्द गराएको थियो। आइतबारबाट देशैभरि खुल्ला गरिएको यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए।
 
उनका अनुसार ए, के र बी क्याटेगोरीका सवारीसाधनका लागि खुल्ला गरिएको हो। ए (बाइक), के(स्कुटर) र बी (जीप/कार) पर्दछन्। यातयात व्यवस्था विभागले देशैभरिबाट अनलार्इन आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
 
दुर्इ नम्वर प्रदेशमा भने अझै खुल्ला नभएको विभागले जनाएको छ। यो प्रदेशमा वीरगंज, लाहान र जनकपुरमा यातायात कार्यालय रहेका छन्। दुर्इ नम्वर प्रदेश आफैले खोल्ने निर्णय गरेपछि आइतबार खुल्ला हुन नसकेको हो। प्रदेशले पत्र नै पठाएर समन्वय नगरी लाइसेन्स खोलिएकाले  आइबारबाट नखोल्ने निर्देशन दिएको यातायात व्यवस्था विभागले जनाएको छ।
 
यातयात व्यवस्था विभागका निर्देशक अर्यालले 'प्रदेशकै अधिकार अन्तर्गत पर्ने भएपनि अहिले पुर्वाधारको विकास नभइसकाले हामीले नै खोल्न लागेका हौ उहाहरुसँग समन्वय भएर छिट्टै खोल्छौ' भने।
 
चार लाख चालक चिटको भरमा 
देशैभरबाट परम्परागत लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स कार्यान्वयनमा ल्याइए पनि लाइसेन्स पाउन ६/७ महिना कुर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन्। करिव चार लाखले सवारीचालक अनुमतीपत्र (लाइसेन्स) को ट्रायल परीक्षा पास गरेपनि लाइसेन्स पाउन सकेका छैनन्।
 
दैनिक पाँच हजार लाइसेन्सको माग भएपनि २ हजार मात्रै छापिने गरेको छ। कार्ड र प्रिन्टरको ठेक्का पाएको इण्डियन कम्पनी मन्द्रास प्रिन्टर्सका कारण अहिले यस्तो अवस्था आएको हो। सिन्डिकेट हटाएको विभागले मन्द्रास प्रिन्टर्सलार्इ लगातार लाइसेन्स छाप्ने मेसिन, सफ्टवेयर, कार्ड लगायतका  पाचँ वटा ठेक्का दिएर सिन्डिकेट गरेपछि यस्तो अवस्था आएको हो।
 
कम्पनीले करिव साढे तीन लाख कार्ड ल्याएपनि सँगै ल्याएको मेसिनमा समस्या देखिएपछि लाइसेन्स छाप्न नसकिएको हो। कम्पनीले भारतमै मेसिन चेक गरेर नल्याएका कारण समस्या भएको निर्देशक अर्यालले जानकारी दिए।

Tata
GBIME
Nepal Life

आगामी बर्ष यस्तो समस्या नदोहोर्याउनका लागि विभागले थप १० लाख कार्ड, कार्ड रिडर मेसिन र मास प्रिन्टरका लागि टेण्डर निकाल्ने तयारी थालेको छ। विभागका निर्देशक अर्यालका अनुसार भदौ दोस्रो सातासम्म टेण्डर निकाल्ने गरि काम भैरहेको छ।