पेप्सीको नवलपरासीको उद्योगबाट उत्पादन सुरु, साढे दुर्इ अर्बको प्लान्टमा पेप्सीका सबै ड्रिंक्स

बिजमाण्डू
२०७५ साउन १६ गते ०९:३६ | Aug 1, 2018
पेप्सीको नवलपरासीको उद्योगबाट उत्पादन सुरु, साढे दुर्इ अर्बको प्लान्टमा पेप्सीका सबै ड्रिंक्स

Tata
GBIME
Nepal Life

वीरगंज।बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजको दोस्रो उद्योग नवलपरासीमा संचालनमा आएको छ।

वरुण वेभरेज नेपालले २ अर्ब ३९ करोडको लगानीमा नवलपरासीको रामग्राम–१० मा उद्योग स्थापना गरेको थियो।यो उद्योग तीन महिना अघिदेखि संचालनमा आएको हो। भारत र चीनमा आक्रमक बजार बिस्तार गरिरहेको पेप्सिकोले नेपाल कोकाकोलालार्इ 'टक्कर' दिने गरी लगानी रणनीति तयार पारेको छ।

बोटलर्स नेपालको चितवनको भरतपुरमा उद्योग छ। भारत र चीनमा पेप्सीले कोकाकोलालगायतका उत्पादनलाई निकै तल छाडेको छ। यो प्लान्टबाट ६४ हजार ८०० किलोलिटर पेप्सी सिसाको बोटलमा उत्पादन भइरहेको छ। दुई लाख ४३ हजार किलोलिटर पेप्सी प्लास्टिकको बोतलमा उत्पादन गरिरहेको छ। उद्योग २०७४ साउन १४ गते उद्योग विभागमा दर्ता भएर सञ्चालनमा आइसकेको उद्योग विभागका सूचना अधिकारी दर्गाप्रसाद भुसालले जानकारी गराए ।

‘यो शतप्रतिशत एफडिआई हो,उद्योग सञ्चालनमा आएको जानकारी पाएको छु,’उनले भने ।उद्योगको निर्माण कार्यमा परामर्श दाताको रुपमा काम गरेको पिएमसी इन्जिनियरिङ्ग एण्ड कन्सल्टेन्सीका सञ्चालक पारसमणी चौधरीका अनुसार उद्योगले अढाई महिना अघि देखि उत्पादन थालेको हो ।उनले उद्योगले शुरुमा सोडा उत्पादन गरेको र त्यसपछि पेप्सी,माउन्टेन ड्यु,मिरिन्डा,सेभेन अपलगायतको ब्रान्ड उत्पादन गरिरहेको बताए ।

उद्योग स्थापनामा आएपछि करिब दुर्इ सय जनाले प्रत्यक्ष रोजागारी पाएका छन् ।नेपालमा अहिले पेप्सीको ४२ प्रतिशत बजार हिस्सा छ।बरुण वेभरेजमा रविकान्त जयपुरिया, वरुण जयपुरिया, रविकान्त जयपुरिया एण्ड सन्सका साथै स्टान्डर्ड चार्टर्ड पिइ एण्ड एआइओएन क्यापिटलको लगानी छ। बरुण वेभरेजको नेपालवाहेक अन्य ६ देशमा पनि कम्पनी छ।
 
वरुण बेभरेजले बहुराष्ट्रिय कम्पनी पेप्सिकोसँग १९९० तिरै जोडिएर नेपालमा उत्पादन गरिरहेको छ। कम्पनीको गत बर्षको वित्तीय विवरण अनुसार, आम्दानी चार अर्ब ८३ करोड रुपैयाँ गरेको छ। अघिल्लो बर्षको तुलनामा यो ३१ प्रतिशतले बढी हो।
 
एक अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ५० करोड रुपैयाँ चालु पूँजी छ। २०० जनाले नयाँ प्लान्टमा रोजगारी दिन लागेको कम्पनीले गत वर्ष सरकारलाई १० करोड रुपैयाँभन्दा बढी कर तिरेको थियो।
 
कम्पनीले सबै खर्च कटाएर खुद नाफा ५२ करोड ४३ लाख रुपैयाँ गरेको थियो, अघिल्लो बर्षको तुलनामा नाफा १४६ प्रतिशतले बढी हो। कम्पनीले पेप्सीका अतिरिक्त सेभेनअप, माउण्टेन ड्यु, मिरिन्डा, इभरभिस कार्बोनेटेट सफ्ट ड्रिङ्स उत्पादन गर्छ। साथै नन्कर्बोनेटेड बेभरेजमा ट्रोपिकाना स्लाइस, सेभेन अप र निम्बुज उत्पादन गर्छ।
 
कम्पनीका प्रमोटरहरुले नेपालमा पिज्जा हट, केएफसीको फ्रान्जाइजी पनि चलाइरहेका छन्। कम्पनीले कोस्टा कफी, क्रिम बेल आइसक्रीम पनि नेपाल ल्याउन खोजिरहेका छन्। यस बाहेक रिटेल मार्ट खोल्ने तयारीसमेत गरिरहेका छन्।