बालुवाटारमा व्यापारीको तीन घण्टा, ओली, प्रचण्डसहित आधा दर्जनमन्त्रीसँग के भयो छलफल?

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ साउन २० गते १६:३४ | Aug 5, 2018
बालुवाटारमा व्यापारीको तीन घण्टा, ओली, प्रचण्डसहित आधा दर्जनमन्त्रीसँग के भयो छलफल?

Tata
GBIME
Nepal Life

विराटनगर। प्रधानमन्त्री केपीशर्मा ओलीलार्इ आफ्ना मुद्दा राख्न वालुवाटार पुगेका मोरङका व्यापारी त्यहाँ पुगेपछि अच्चममा परे। प्रधानमन्त्री निवास वालुवाटारमा ओली मात्रै थिएनन् नेकपाका अर्का अध्यक्ष प्रचण्ड र पाँच जना मन्त्रीसँगै थिए।

कुनैपनि व्यवसायिक छलफल हुँदा प्रधानमन्त्री र उनका राजनीतिक तथा निजी सल्लाहाकारको टोली हुने गर्थ्यो।तर शनिबारको छलफलमा भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कानुनमन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री वर्षमान पुन, स्थानीय विकास मन्त्री लालबाबु पण्डित र श्रम मन्त्री गोकर्ण विष्ट पनि सहभागी थिए।

मन्त्री मात्रै होइन सम्वन्धित मन्त्रालयका सचिव र सहसचिव पनि वालुवाटार बैठकमा सहभागी थिए।अझ व्यवसायीसँग प्रधानमन्त्री ओली, प्रचण्ड र मन्त्रीहरुले तीन घण्टा समय दिएका थिए। व्यापारिक विषयको छलफलमा प्रधानमन्त्रीले बोलाउँदा यसरी लहरै मन्त्री कमै मात्रै देखिन्थ्यो। तर ओलीले विदाका दिन सबै मन्त्री किन बोलाए? प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालका अनुसार व्यवसायिक क्षेत्रको मुद्दालार्इ संबोधन गर्न सम्वन्धित मन्त्रीहरु सहभागी हुनुभएको हो।

‘व्यवसायीका मुद्दा सुन्ने तर त्यसको संबोधन नहुने परिपाटी छ। तर प्रधानमन्त्री ओलीले व्यवसायीका जायज माग संबोधन गर्न सबै मन्त्री तथा सचिवलार्इ तत्कालै रेस्पोन्स गर्न बोलाउनुभएको हो’उनले बिजमाण्डूसँग भने। नेकपाको बहुमत प्राप्त सरकार निर्माणको ६ महिना पुग्दैछ। स्थिर सरकार आउँदा पनि लगानीकर्ताको मनोबल भने उच्च हुन सकेको छैन।पछिल्लो समयमा केही उखु उद्योगीलार्इ पक्राउको आदेश र निर्माण व्यवसायी पक्राउले व्यवसायिक क्षेत्र त्रसितनै छ।

६ महिना पुग्न लाग्दा पनि उद्योगी व्यवसायीले ठूला लगानीका परियोजना घोषणा गरेका छैनन्। वालुवाटारमा सहभागी एक व्यवसायीका अनुसार प्रधानमन्त्री ओली व्यवसायिक विश्वास कायम गर्न खोजेका देखिन्थ्यो। रिमालका अनुसार व्यवसायीका मुद्दाका बारेमा नियमित छलफल हुनेछ।

‘प्रधानमन्त्रीज्यूले व्यवसायीसँगको छलफल नियमित रुपमा गर्न चाहनुभएको छ।त्यसको औपचारिक सुरुवात मोरङका व्यापारिक क्षेत्रबाट भएको छ’ उनले भने,’त्यही भएर प्रधानमन्त्रीले मोरङका व्यवसायीसँग पाँच जनाको नाम माग्नुभएको छ। व्यवसायीको छुट्टै कार्यदल बनाएर नियमित छलफल हुने र त्यसबाट निस्किएका समस्याको समाधानको प्रयास गरिनेछ।

’जेठ २६ गते विराटनगर आएका बेला प्रधानमन्त्री ओलीले मोरङका व्यापारीको समस्याका बारेमा काठमाडौंमै छलफल गर्ने प्रतिवद्धता जनाएका थिए।त्यही प्रतिवद्धता अनुसार शनिबार भएको छलफल भएको हो। मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले प्रधानमन्त्री ओली व्यवसायिक क्षेत्रको समस्या संबोधन गर्न क्रियाशिल देखिएको बताए।

‘प्रधानमन्त्रीसँगको भेटपछि हामीमा भएका केही 'कन्फ्युजन'हरु हटेका छन्।प्रधानमन्त्री निजी लगानी भित्र्याउन सहजीकरण गर्न उत्सुक भएको हामीले पाएका छौं’उनले भने।

उनका अनुसार व्यवसायीको मुद्दा संबोधनका लागि सम्वन्धित मन्त्री र सचिवसमेत राखेर छलफल गर्नुले निजी क्षेत्रप्रतिको प्रतिवद्धता स्पस्ट हुन्छ। व्यवसायीले राखेका समस्या संबोधनका लागि सम्वन्धित मन्त्रीलार्इ ओलीले आग्रह गरेका थिए।  उद्योगी मोती दुगडले प्रधानमन्त्री लगानीमैत्री नीति ल्याएर लगानी ल्याउन चाहेको पाइएको बताए।

व्यवसायीले बैङ्क ऋणको चर्को ब्याज, मूल्य अभिवृद्धि कर छँदाछँदै थप गरिएको अन्तःशुल्क र स्थानीय तहले उठाउन थालेका विभिन्न करहरू, दोहोरो ढुवानी कर, जिससको निकासी कर र विद्युत् लाइनमा सुधार आए पनि भोल्टेज कम भएको गुनासो गरेका थिए। कार्यक्रममा मोरङका व्यवसायीका साथमा इटहरी, झापा, भद्रपुर, दमक, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, बुटवल, ताप्लेजुङ, धनकुटा, र पाँचथर उद्योगवाणिज्य सङ्घका अध्यक्ष पनि सहभागी रहेको शारडाले जानकारी दिए ।

अर्थका दुर्इ सचिवनै छलफलमा
अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको वैठकमा सहभागी हुन शुक्रबार वासिङटन गएका थिए। अधिकांश मुद्दा अर्थमन्त्रालयसँग सम्वन्धित हुने भएकाले अर्थमन्त्री खतिवडाको उपस्थिती आवश्यक थियो।त्यही भएर अर्थसचिव डा राजन खनाल र राजस्व सचिव शिशिर ढुंगाना वालुवाटारको छलफलमा गएका थिए।