अष्ट्रेलियाको सपना छोडेर जयप्रकाशले खोले वीरगंजमा मिठाइ पसल, मासिक ६ लाखको कारोबार

बिजमाण्डू
२०७५ साउन २४ गते १३:४६ | Aug 9, 2018


वीरगंज। विराटनगरका युवा जयप्रकाश जयन्तले वीरगंजमा मिठाई पसल खोलेका छन्। आदर्शनगर चोकमा उनले १० लाख रुपैयाँका लागतमा ‘न्यू बिकानेर स्वीट होम’ सञ्चालनमा ल्याएका हुन् ।

Tata
GBIME
Nepal Life

पसलले गुजराती बिकानेर ब्रान्डको भुजिया,नमकिनका साथै रसभरी, लालमोहन, राजभोग, रसमलाई, बर्फी, खोवा, कचौडी समोसालगायतका सामाग्री बिक्री गरेको छ ।

उनले यो नाम बिराटनगरको बिकानेर स्वीट होमबाट सापटी लिएको बताए। स्वदेशी मिठाई तथा गुजराती भुजिया तथा नमकिन आइटम बेच्ने विराटनगरको ‘बिकानेर स्वीट होम’ नेपालमै प्रसिद्ध र लोकप्रिय मिठाई पसल मध्ये एक हो ।

विराटनगरमा व्यवसायी घनश्याम सिंहको परिवारले ५ दशक देखि उक्त मिठाई पसल सञ्चालन गर्दै आएको जयप्रकाश बताउँछन् ।आफनै गाउँका व्यवसायीको सिंहको परिवारको प्रेरणाबाट आफु पनि मिठाई पसल खोलेकाले त्यहि नाम राखेको उनले बताए ।
 
सञ्चालक जयप्रकाशका अनुसार  पसलमा दैनिक २० हजार अर्थात् मासिक ६ लाखको कारोबार भइरहेको छ । पसल सञ्चालन गर्नु अघि उनले बिराटनगरबाट वीरगंज आइ मिठाइको बजारबारे अध्ययन गरेको बताए।

वीरगंजको मेनरोड आदर्शनगरमै मिठाई पसल सञ्चालन गरेर उनले  मारवाडी घाराना तथा व्यापारी तथा बैंकरहरुलाई लक्षित गरेका छन्। पसल सञ्चालनबाट १० जनालाई रोजगारी दिएको र सबै खर्च कटाएर मासिक २ लाखको खुद मुनाफा भइरहेको जयप्रकाशले बिजमान्डूसंग भने ।

२५ वर्षिय जयप्रकाश विराटनगरको कुनै ठूलो व्यापारीक घरानाबाट सम्बन्ध राख्दैनन् ।सामान्य परिवारका जयप्रकाशले बैंगलोरबाट बिबिए पास गरेका छन्। उनी अष्ट्रेलिया उडने तयारीमा थिए ।तर उनले आफ्नो योजना बदले अनि मिठाईको कारोबारमा व्यस्त भए।

उनी भन्छन्,‘अष्ट्रेलिया जबको लागि प्रोसेस गरेको थिए,लगभग जाने पक्का भएर पनि मैले मन बदले।’ उनी देशमै काम गर्ने सोचका साथ बिराटनगरबाट वीरगंज सिफ्ट भएका छन्।