दाताको सहायता प्रतिबद्धताको आधा पनि खर्च हुँदैन, तयारी विनाका आयोजनामा पैसा राख्दा समस्या

बिजमाण्डू
२०७५ साउन २७ गते १८:१० | Aug 12, 2018
दाताको सहायता प्रतिबद्धताको आधा पनि खर्च हुँदैन, तयारी विनाका आयोजनामा पैसा राख्दा समस्या


Tata
GBIME
Nepal Life

काठमाडौं। दातृ निकायले प्रतिबद्धता गरेको वैदेशिक सहायताको आधा पनि खर्च नहुने गरेको देखिएको छ। विभिन्न दातृ निकायले पछिल्लो पाँच वर्षमा गरेको सहयोगको प्रतिबद्धताको ५० प्रतिशत रकम पनि खर्च नभएको अर्थ मन्त्रालयले जनाएको छ। 
 

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि आव २०७४/०७५ सम्मको तथ्यांक हेर्दा कुनै पनि वर्ष दाताको सहयोग आधा खर्च भएको छैन। मन्त्रालयका अनुसार यो ५ वर्षमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै ४८.१९ प्रतिशत रकम खर्च भएको छ। 
 
गत वर्ष दातृ निकायले २ खर्ब ३३ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका थिए। त्यो मध्ये १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। त्यसअघिका वर्षमा पनि खर्चको अवस्था उस्तै छ। 
 
मन्त्रालयका अनुसार आव २०७०/०७१ मा १ खर्ब ३३ अर्ब रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा ६० अर्ब २० करोड रुपैयाँ खर्च भएको छ। यसैगरी आव २०७१/०७२ मा २ खर्ब २५ अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ६३ अर्ब ७१ करोड, आव २०७२/०७३ मा १ खर्ब ९५ अर्ब प्रतिबद्धता आएकोमा ७२ अर्ब ७७ करोड र आव २०७३/०७४ मा २ खर्ब ५६ अर्ब रुपैयाँको प्रतिबद्धता आएकोमा ९९ अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 
 
अर्थ मन्त्रालयका सचिव डा राजन खनालले तयारी अवस्थामा रहेका आयोजना कम भएकाले दाताको सहयोग प्रतिबद्धताअनुसार खर्च गर्न नसकिएको जानकारी दिए। 'हामीले तयारी विनाकै आयोजनाका लागि नेगोसिएसन गर्दा आयोजना कार्यान्वयनको तहसम्म जान समय लाग्ने र छुट्याइएको बजेट खर्च नहुने अवस्था आएको हो,' खनालले भने। 

आर्थिक वर्ष सहायता प्रतिबद्धता खर्च भएको सहायता प्रतिबद्धताको अनुपातमा खर्च
२०७०/०७१ १ खर्ब ३३ अर्ब ६० अर्ब २० करोड ४५.२३ प्रतिशत
२०७१/०७२ २ खर्ब २५ अर्ब ६३ अर्ब ७१ करोड २८.२१ प्रतिशत
२०७२/०७३ १ खर्ब ९५ अर्ब ७२ अर्ब ७७ करोड ३७.२० प्रतिशत
२०७३/०७४ २ खर्ब ५६ अर्ब ९९ अर्ब ८४ करोड ३८.९१ प्रतिशत
२०७४/०७५ २ खर्ब ३३ अर्ब १ खर्ब १२ अर्ब ४८.१९ प्रतिशत