उल्लुदेखि जंगली बँदेलको अचारसम्म : अनलाइनबाट भइरहेको छ वन्यजन्तुको अवैध व्यापार

बिजमाण्डू
२०७५ साउन २८ गते १४:५२ | Aug 13, 2018
उल्लुदेखि जंगली बँदेलको अचारसम्म : अनलाइनबाट भइरहेको छ वन्यजन्तुको अवैध व्यापार



                                        फोटो साभार : ग्रिनर्स डट को

Tata
GBIME
Nepal Life

केही दिनअघि युवा वन्यजन्तु अनुसन्धानकर्मीहरुको समूहले नेपालका केही वेबसाइट हेरेपछि अचम्ममा परे।

किनकि अहिलेसम्म अनलाइनमा वन्यजन्तु बेच्न राखेको उनीहरूलाई थाहा थिएन। एउटा अनलाइनमा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पालिएको एउटा लाटोकोसेरो बिक्रीमा राखिएको जानकारी थियो।

लाटोकोसेरो बच्चा थियो र त्यसको मूल्य तोकिएको थियो १० हजार। यही जून १० तारिखमा अपलोड गरिएको सो जानकारी नेपालको चर्चित अनलाइन खरिद बिक्री साइट  'हाम्रो बजार डट कम'मा  थियो। लाटोकोसेरो बिक्रीमा राख्नको लागि गल्कोट नगरपालिका-६ का शङ्कर थापा जून ९ मा सो अनलाइनको सदस्य भएका थिए।
 
यो जानकारी पाउने बित्तिकै बाग्लुङ जिल्ला वन कार्यालयले नियन्त्रणका लागि प्रयास गरेको थियो। खरिदकर्ता भएर पठाइएको इमेलको थापाले जवाफ दिएनन्। उनलाई यसअघि नै लाटोकोसेरो बेच्नु अवैध होइन र ? भन्ने प्रश्न अर्कै एकजनाले राख्दा 'हा हा अवैध रे ..संविधानमा त लेखेको छैन त' भनेर अनलाइनमा जवाफ फर्काएका थिए।

जिल्ला वन कार्यालयको इमेलपछि उनले सो सामग्री हटाए। जिल्ला वन कार्यालयले खोजी कार्यलाई जारी राखेको जनाएको छ। यो साइटमा कछुवा समेत बेच्न राखिएको छ।
 
यसका साथै 'सस्तोराम्रो डट कम'ले  कछुवा, सुगा, लव वर्ड, लगायत थुप्रै चराहरू राखेको छ।  त्यसै गरी 'याच्छा डट कम'मा नेपालमा नपाइने बाँदर, टोको चरा, सुगा बेच्न राखेको छl  मुन्चा डट कमले पनि जङ्गली बँदेलको अचार बेच्न राखेको छ।
  
वन्यजन्तुको अवैध व्यापारमा लामो समयदेखि काम गर्दै आएको 'वन्यजन्तु संरक्षण नेपाल' नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रसन्न योञ्जनले 'नेपालमा पनि माछा, कछुवा' लगायतका साना जीवहरूको अनलाइनमार्फत् व्यापार हुने गरेको बताए। 'आफूलाई केही थाहा छैन भन्ने अनि भित्र-भित्र व्यापार गर्ने व्यावसायिक तस्करहरूले भने अनलाइनलाई प्रयोग गरेको हुन सक्छ'  उनले शङ्का गरे।
 
'पहिला त मलाई विश्वास नै लागेन। लाटोकोसेरो, नेपालमा नपाइने बाँदर, कछुवा, सुगा, निरबिरालो आदि बेच्न राखेको देखेर छक्क परेँ,' प्रकृतिका साथीहरूका युवा अनुसन्धानकर्मी यादव घिमिरेले  बताए। उनले थपे 'विश्वव्यापी रूपमा अनलाइनमार्फत् यिनको व्यापार हुने गरेको तथ्य बाहिर आए पछि नेपालका अनलाइनहरूमा के छ भनेर हेरेको थिएँ र यिनको बारेमा थाहा पाएँ। नेपालमा यो भर्खर सुरु हुँदैछ जस्तो लाग्छ।'
  
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले वन्यजन्तुको अनलाइन व्यापार बारेमा जानकारी कम भएको बताए। उनले भने ' यस्तो काम अवैध हो। यदि त्यस्तो भेटियो भने अनलाइन सञ्चालक र अनलाइनमा वन्यजन्तु बेच्न राख्ने दुवैलाई 'राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९'  अनुसार कार्वाही हुन्छl'

उनले थपे, 'वन्यजन्तु संरक्षणको क्षेत्रमा यो नयाँ चुनौतीको रूपमा देखा पर्‍यो। हामी यसलाई नजिकबाट अध्ययन गर्छौँ र छिट्टै एउटा नतिजामा पुग्छौँ।'
 
युवा वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जीवी खनाल भन्छन् ' अनलाइनको माध्यमबाट कालिज, जङ्गली बँदेल तथा मृगहरूको सिकार गर्न तथा रमाइलो गर्न पाइन्छ भनेर प्रचारप्रसार गरेको पनि भेटेका छौँ। सामाजिक सञ्जालका पोस्टहरूले पनि यो कुरालाई पुष्टि गर्दछ,'   उनी थप्छन्, 'यो चुनौतीसँग जुध्न सबै सरोकारवालाहरुको छलफल हुनु आवश्यक छ।'
 
योञ्जन भन्छन्, 'सरकारले वन्यजन्तुको अवैध व्यापारविरुद्ध काम गर्ने व्यक्ति तथा संस्थाहरूको पहिचान, तिनलाई पुरस्कृत र काम गर्ने वातावरण दिने हो भने, यसलाई नियन्त्रण गर्न सकिन्छ।'
  
नेपालमा मात्र यस्तो भएको भने होइन l पछिल्लो समयमा अन्तर्राष्ट्रियस्तरमा समेत अनलाइन मार्फत वन्यजन्तुको व्यापार हुने गरेको छ। यसबारे 'द गार्डियन' ले दुई महिना अघि फिचर प्रकाशित गरेको थियो।  यसमा उल्लेख भए अनुसार १२ हजार विभिन्न वन्यजन्तु तथा तिनका आखेटोपहार १०० वटा अनलाइनमा कारोबारको लागि  राखिएको थियो। जर्मनी, रुस, बेलायत र फ्रान्समा रहेको अनलाइनहरूको अध्ययनबाट यो नतिजा सार्वजनिक गरिएको थियो। 

 

हाम्रोबजार डट कममा रु १० हजार मूल्य तोकेर राखिएको लाटोकोसेरो। जुन १० तारिखमा राखिएको सो वन्यजन्तु सम्बन्धी विज्ञापन हाल हटाइएको छ।

 सस्तो राम्रो डट कममा राखिएका विभिन्न जातका चराहरू

 

नेपालमा अभिलेख नगरिएको बाँदर 'याच्छाडट कम' मा

मुन्चामा जङ्गली बँदेलको अचार