काठमाडौंको एउटा रुट जहा साना गाडी हटाएर सुविधासम्पन बस सञ्चालनमा,कार्डबाट भाडा तिर्न मिल्ने

बिजमाण्डू
२०७५ साउन २८ गते १६:५७ | Aug 13, 2018
काठमाडौंको एउटा रुट जहा साना गाडी हटाएर सुविधासम्पन बस सञ्चालनमा,कार्डबाट भाडा तिर्न मिल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। एसियाली विकास बैंक (एडिबी)को सहयोगमा आजदेखि १७ वटा अत्याधुनिक बस संचालनमा आएको छ।यो बस गोंगबु-गल्कोपाखा-लैनचौर-रत्नपार्क-डिल्लीबजार-मैतीदेवी-पूरानो बानेश्वर सिनामंगल पुगेर सोही रुट फर्किनेछ।

बस सञ्चालनमा आएपछि यो रुटमा रहेका २६ माइक्रोबस र ३५ टेम्पो विस्थापित भएका छन्। एडिबीले काठमाडौं दीगो शहरी यातायात आयोजनाअन्तर्गत रहने गरी यी बस सहयोग गरेको हो। उच्च प्रविधियुक्त यी बसले तुलनात्मक रुपमा कम प्रदुषण गर्नेछन्।

'यातायात व्यवस्था विभागसँग हामी नजिक रहेर काम गर्न पाउँदा सुखद अनुभूति गरिरहेका छौँ, यो आयोजनाले सहरमा प्रभावकारी यातायात व्यवस्थापन प्रणाली सञ्चालन गर्न सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौँ,' एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखनोभले भने।

'मास ट्रान्सपोर्टेसन' यातायात व्यवस्था कार्यान्वयनका लागि पाइलट प्रोजेक्टका रुपमा यो रुटमा साना गाडी हटाएर ठूला सुविधासम्पन्न बस सञ्चालन गरिएको हो।यो रुटमा सञ्चालन भैरहेका सवारीसाधनहरु आसपासकै  अर्को रुटमा स्थानान्तरण गरिएको छ। यातायात व्यवस्था विभागले यो रुटमा 'मास ट्रान्सपोर्टेसन' यातायात व्यवस्था कार्यान्वयनमा ल्याएपछि विस्तारै अन्य रुटहरुमा पनि  कार्यान्वयनमा ल्याउने योजना अघि सारेको छ।

सुरुमा त्यहा माइक्रो ट्याम्पोहरुलार्इ स्थानान्तरण गरेर ठूला बस सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका थिएनन्।तर प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलिय ऋण  पाउने भएपछि  व्यवसायीहरु सहमत भएका हुन्।

बस खरिद गर्नका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण, एसियाली विकास वैकले १५ प्रतिशत अनुदान  दिएका छन् भने कम्पनीको ५ प्रतिशत लगानी रहेको छ।दीगो सहरी आयोजना २ अर्ब २३ करोड रुपैयाँ बराबरको आयोजना हो। यसमा नेपाल सरकारले ८० करोड रुपैयाँ योगदान गर्नेछ। यी बस सञ्चालन गर्न, इ-टिकेटिङको व्यवस्था गर्न र जिपिएस प्रणाली राख्न करिब १० करोड रुपैयाँ (९ लाख डलर) खर्च भएको एडिबीले जनाएको छ।

नयाँ आएको बसमा केके छन् सुविधा ?

नयाँ ल्याएका बसहरुमा जिपिएस जडान गरिएको छ।ट्रयाकिङ सिस्टमले बस कहा आइपुगेको छ भनेर यात्रुहरुले थाहा पाउन सक्छन्।४० सिट क्षमताका बस अपाङ्गमैत्री रहेको कम्पनीको दाबी छ।

बसको पछाडि गाडी कहाँ कहाँ गुड्छन् भनेर नक्सा राखिएको कम्पनीले जनाएको छ।साथै अगाडि र पछाडि डिजिटल ल्याम्प मार्फत समेत गाडी कहाँ कहाँ चल्छन् भनेर देखार्इएको कम्पनीको दाबी छ।

गाडीमा डिटिजल कार्डबाट पनि भाडा तिर्नका लागि मेसिनहरु राखिएका छन् भने हाल विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर दिने व्यवस्था मिलाएको  कम्पनीले जनाएको छ।

बसभित्र यात्रुको सुरक्षाका लागि दुवैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ।यात्रुको मनोरञ्जनका लागि फ्रि वार्इफार्इ ,एलइडी टीभी राखिएको छ।बस फराकिलो हुनुका साथै ह्याङगर स्ट्रयाम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

आरक्षण सिटहरु फरक फरक रंगप्रयोग गरी सजिलै चिन्न सकिने गरी बनाइएको छ। अपाङगहरुका लागि सुविधा होस् भने गाडी भित्रै ह्विल चियर राख्ने मिल्ने स्पेश रहेको कम्पनीले जनाएको छ।सरकारकै सहयोगमा ठूला बस सञ्चालनमा आउने भएपछि निजी यातायात कम्पनीहरुलार्इ समेत प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।