प्रधानमन्त्रीलार्इ एक्लै भेटेपछि एफएनसीसीआर्इ र पूर्वका व्यापारीबीच चिसियो सम्वन्ध

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ साउन २८ गते २१:०५ | Aug 13, 2018
प्रधानमन्त्रीलार्इ एक्लै भेटेपछि एफएनसीसीआर्इ र पूर्वका व्यापारीबीच चिसियो सम्वन्ध


Tata
GBIME
Nepal Life

विराटनगर।साउनको १९ गते मोरङका व्यवसायीका लागि ऐतिहासिक र अविस्मरणीय दिन बन्यो ।

तर ‘गुणसँगै अवगुण’ भनेजस्तो यही दिनले मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङसँग छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको दूरी बढाएको छ ।साउन १९ गते व्यापार संघ र उद्योग संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर व्यावसायिक समस्याका बारेमा तीन घण्टा छलफल गरेका थिए ।
 

त्यस अवसरमा प्रधानमन्त्रीका साथ  नेकपा अध्यक्ष प्रचण्डसहित अरू पाँच मन्त्री,  ती मन्त्रालयका सचिव, अर्थसचिव र राजस्व सचिव समेत सहभागी थिए । अर्थ मन्त्री युवराज खतिवडा अमेरिकामा भएको विश्व बैंक बैठकमा सहभागी भएकाले उपस्थित थिएनन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि बालुवाटार बैठकमा उपस्थित थिए ।
 
कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले उद्योगी व्यवसायीका समस्या प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।बालुवाटारमा मोरङ व्यापार संघ र उद्योग संगठनको मात्र प्रतिनिधित्व थिएन । कार्यक्रममा इटहरी, झापा, भद्रपुर, दमक, वीरगन्ज, भैरहवा, नेपालगन्ज, बुटवल, ताप्लेजुङ, धनकुटा र पाँचथर उद्योगवाणिज्य संघका अध्यक्ष पनि सहभागी थिए।
 
यो घटना थाहा पाएपछि नेपाल उद्योग वाणिज्य महासंघमा खैलाबैला मच्चियो । मोरङका मुख्य दुई उद्योग वाणिज्य संघले महासंघको अस्तित्व र भूमिकालाई नै पन्छाउन र बिर्सन खोजेको अनुभूति महासङ्घका अध्यक्ष भवानी राणासहित केही पदाधिकारीले गरे ।अध्यक्ष भवानी, उपाध्यक्ष किशोर प्रधान र विशिष्ट सदस्य चण्डी ढकालका मनमा बढी चिसो पस्यो । 
 
विशिष्ट सदस्य ढकाल र उपाध्यक्ष प्रधानले उद्योग संगठनका अध्यक्ष घिमिरेलाई तत्काल टेलिफोन गरेर बालुवाटारको कार्यक्रममा महासंघलार्इ माइनस गरिएको भन्दै तीव्र आपत्ति जनाए ।वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकालले उद्योग सङ्गठनका उपाध्यक्ष राकेश सुरानालाई फोन गरेर असन्तुष्टि जाहेर गरे ।
 
‘महासंघले गर्नुपथ्र्यो सकेन, हामीले गर्यौ, मैले चण्डी दाइ र किशोर दाइलाई स्पष्ट जबाफ दिएँ’, घिमिरेले बिजमाण्डूलाई भने, ‘उद्योगी व्यवसायीका समस्या समाधानका लागि समन्वय, सल्लाह, प्रतिवाद र पहल गर्न महासंघले सकेन । महासंघको नेतृत्व विफल सिद्ध भयो । त्यसैले हामी अघि बढेका हौँ ।’
 
अध्यक्ष घिमिरेका अनुसार बैङ्कको चर्को ब्याजदर घटाउन, वीमा समितिको कार्टेलिङ्ग र सिन्डिकेट भत्काउन, न्यूनतम ज्याला निर्धारण गर्दा व्यवसायीको समस्यामा ध्यान दिन र दोहोरोतेहोरो कर निर्धारण गर्दा त्यसलाई रोक्न महासंघले केही भूमिका गर्न सकेन । त्यस्तै ऊर्जा सङ्कटमा र व्यवसायीको मानमर्दन हुने गरी छापा मार्दा महासंघको सशक्त उपस्थिति हुन सकेन । बजेट निर्माणका बेला पनि महासंघले असल र प्रभावकारी सल्लाहकारको भूमिका निर्वाह गरेन । औद्योगिक ऐन र श्रम ऐन ल्याउने बेलामा पनि महासंघले व्यवसायीको हक र हितमा काम गर्न सकेको देखिएन ।
 
‘महासंघको अकर्मण्यता र प्रभावहीनता त छँदै थियो यसैबिच जेठ २६ गते प्रधानमन्त्री विराटनगर आउनुहुँदा यहाँका व्यवसायीलाई सम्बोधन गर्नुभयो’, घिमिरेले जानकारी दिए, ‘त्यही कार्यक्रममा प्रधानमन्त्रीले हामीलाई राजधानी आएर आफ्ना समस्या अवगत गराउन आह्वान गर्नुभयो । सोहीअनुसार हामी गएका थियौँ ।’
 
‘मलाई फोन गर्ने हिम्मत कसैले गरेनन् नभए म पनि मुखभरिको जबाफ दिन्थेँ’, व्यापार संघका अध्यक्ष शारडाले बिजमाण्डूलाई भने, ‘हामीले महासंघलार्इ बाइपास गर्न खोजेको होइन । तर महासंघको नेतृत्वमा हुनेको उद्योग नै छैन अनि कसरी थाहा हुन्छ उद्योगीको समस्या ? असङ्ख्य समस्याले यहाँ हामी दिनरात रोइरहेका छौँ उहाँहरू बाइपासको जोडघटाउ गर्दै राजनीतिमा ब्यस्त हुनुहुन्छ ।’ 
 
अध्यक्ष शारडाले प्रधानमन्त्रीसँग भेट गर्ने समय र अवसर कसैले गुमाउन नचाहने बताउँदै महासंघका पदाधिकारी राजधानीमै भएकाले १२ महिनानै भेटेको हुनसक्ने प्रतिकृया दिए।महासंघका उपाध्यक्ष किशोर प्रधानले मोरङका दुई सङ्गठनले महासंघलार्इ बाइपास नै गरेको ठोकुवा गरे ।‘ठिक छ मैले मानेँ महासङ्घको नेतृत्व कमजोर नै भएछ’, उपाध्यक्ष प्रधानको भनाइ थियो, ‘के बाउ कमजोर भयो भनेर लात मारेर हिँड्ने त ?’
 
छोरो बढेपछि अभिभावकसित वादविवाद गर्नसक्छ तर अभिभावकलाई नै त्यागेर हिँड्न मिल्दैन भन्ने तर्क प्रस्तुत गर्दै किशोरले उद्योग संगठन र व्यापार संघको भूमिकाले महासंघलार्इ त्याग्न खोजेको अनुभूति भएको टिप्पणी गरे ।साउन १९ को कार्यक्रमले बढाएको दूरीका कारण मोरङका दुबै संस्थाले वीरगञ्जमा साउन २२ गते आयोजित महासंघको राष्ट्रिय भेलामा सहभागिता जनाएनन् ।
 
‘राष्ट्रिय भेलामा अध्यक्षलाई मात्र अनिवार्य उपस्थितिको निर्देशन थियो’, अध्यक्ष शारडाले भने, ‘ढाड दुखेका कारण म जान सकिन, आमा बिरामी भएर भीमजी जानु भएन । अध्यक्ष नसके अन्य पदाधिकारीलाई पठाउने निर्देशन भएको भए हामी साथीहरूलाई सहभागिताका लागि पठाउने थियौँ ।’‘वीरगञ्जको राष्ट्रिय भेलामा उहाँहरू आउनु भएन, घाटा कसलाई भयो त ?’, प्रतिप्रश्न गर्दै महासंघका विशिष्ट सदस्य ढकालले भने, ‘घाटा त उहाँहरूलाई नै भयो होला । यो कुरालाई कसरी बुझ्नु हुन्छ हेर्दै जाऊँ ।’