वैदेशिक रोजगारीमा गएकालाई सञ्चय कोषको दायरामा ल्याउने, कार्यविधि बन्दै, अध्ययन टोली गठन हुँदै

बिजमाण्डू
२०७५ साउन ३० गते १६:३० | Aug 15, 2018
वैदेशिक रोजगारीमा गएकालाई सञ्चय कोषको दायरामा ल्याउने, कार्यविधि बन्दै, अध्ययन टोली गठन हुँदै



 
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका युवालाई सञ्चय कोषको दायरामा ल्याउन सरकारले पहल थालेको छ। कर्मचारी सञ्चय कोषले त्यसलाई व्यवस्थापन गर्ने गरी सञ्चय कोषको दायरा विस्तार गर्न खोजिएको हो।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कर्मचारी सञ्चय कोष मिलेर सञ्चय कोषको दायरा वैदेशिक रोजगारीसम्म विस्तार गर्ने गरी काम सुरु गर्न लागेका हुन्। कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारीमा रहेका युवालाई सञ्चय कोषको दायरामा ल्याउन कानुनी आधार तयार गरिरहेको छ। 
 
सञ्चय कोष ऐनको नवौं संशोधनमार्फत वैदेशिक रोजगारीको क्षेत्रलाई पनि समेट्ने गरी क्षेत्राधिकार बढाएपछि कोषले श्रम मन्त्रालयसमेतसँग मिलेर यसलाई कार्यान्वयनको तयारी अघि बढाएको हो। 'सञ्चय कोषले यसका लागि कार्यविधिको खाका तयार गरेको छ, सबै निकायसँग छलफल गरी कार्यान्वयनलाई सहज हुने गरी यसलाई पारित गर्छौँ,' कोषका प्रशासक तुलसीप्रसाद गौतमले भने। 
 
वैदेशिक रोजगारीमा रहेका युवालाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी ऐनमा भएको व्यवस्था कार्यान्वयनका लागि थप अध्ययन गर्न श्रम मन्त्रालयले पनि सबै सरोकारवाला पक्षलाई समेटेर अध्ययनको तयारी थालेको छ। यो अध्ययनपछि सञ्चय कोषसम्बन्धित व्यवस्था कार्यान्वयन गर्न थप सजिलो हुने उनले बताए। 
 
'ऐन संशोधनले एउटा व्यक्तिलाई पनि अब सञ्चय कोषमा आफ्नो पैसा जम्मा गर्न सक्ने बनाएको छ। वैदेशिक रोजगारमा धेरै नेपाली छन्,' उनले भने, 'उनीहरुको पैसा जम्मा गर्न व्यवस्थित संयन्त्रको विकास भइसकेको छैन। यसमा हामीले पनि सफलता प्राप्त गरेका छैनौँ तर गर्नुपर्ने ठाउँ धेरै छन्। यसमा आफ्नै जटिलता र समस्या छन्। विभिन्न देशसम्मको पहुँचमा समस्या छन्। मन्त्रालयसँग मिलेर काम गर्दा सहज हुन्छ भन्ने हाम्रो विश्वास हो।'  
 
श्रम मन्त्रालयले अर्थ तथा परराष्ट्र मन्त्रालयका साथै सामाजिक सुरक्षा कोष, सञ्चय कोषसमेतलाई समेटेर संयुक्त अध्ययन कार्यदल गठनको तयारी गरिरहेको छ। यो अध्ययन कार्यदलले सञ्चय कोषबाट प्रस्तावित कार्यविधिको समेत अध्ययन गरी त्यसलाई टुंगो लगाउने छ। 
 
वैदेशिक रोजगारीमा रहेका युवालाई सामाजिक सुरक्षाको एउटा क्षेत्रमा समेट्ने गरी सञ्चय कोषले काम थालेको हो। सञ्चय कोष ऐन संशोधन भएको २ वर्ष पुरा भए पनि अहिलेसम्म यो विषय कार्यान्वयनको तहमा जान सकेको थिएन। 
 
वैदेशिक रोजगारीमा जाने युवा र रोजगारदाताको योगदानमा आधारित सञ्चय कोष प्रणालीको विकास गर्न सरकारले तयारी गरिरहेको श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार स्वदेशमा सम्पूर्ण मजदूरको पारिश्रमिक बैंक खाताबाट उपलब्ध हुने भएपछि सामाजिक सुरक्षामा उनीहरुको योगदान बढाउने र विदेश गएकाहरुको सञ्चय कोष जम्मा हुने व्यवस्था मिलाउने मन्त्रालले तयारी गरेको छ। 

Tata
GBIME
Nepal Life