बाबा रामदेवको नामैले बजार पिटेको पतन्जलीका उत्पादनहरुको बिक्रीमा गिरावट, क्रेज घटेकै हो त?

बिजमाण्डू
२०७५ भदौ १ गते १३:०९ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

भारतमा बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्री बिगत एक वर्षदेखि कमजोर हुँदै गएको छ।

क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ। जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो।

त्यसभन्दा अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ।

एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ।

यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ। तर पतन्जलीको वास्तविक बिक्री र बृद्धिबारे भने क्रेडिट सुइसले तथ्यांक दिएको छैन।

पतन्जलीका प्रवक्ता एस के तिजारावालाले भने-“एफएमसीजी सेक्टरमा पतन्जलीले सबैभन्दा ठूलो बजार पाएको छ। अब मार्केटमा हाम्रो ब्राण्ड स्थापित भैसकेको छ । हाम्रो मार्केट शेयर पनि बढिरहेको छ। हामीले अन्य एफएमसिजी कम्पनीहरुकै बराबर ग्रोथ हासिल गरिरहेका छौं।”

उनका अनुसार पतन्जलीले साह्रै छोटो अवधीमा  कन्ज्यूमर फेसिङ आयुर्वेदिक बिजनेसलाई दिगो बनाएको हो। पतन्जलीले स्थापित मल्टीनेशनल ब्राण्डहरुलाई पनि  सबै क्याटेगोरीमा चुनौती दिएको दावी गरे।

सन् १९९७ मा एउटा सानो फार्मेसीबाट सुरु भएको पतन्जलीको हाल दुई दर्जनभन्दा धेरै मेनस्ट्रीम एफएमसीजी उत्पादनहरु छन्। यसमा टुथपेष्ट, स्याम्पु तथा अन्य पर्सनल केयरका उत्पादनहरुदेखि लिएर कर्नफ्लेक्स र चाउचाउ जस्ता आधुनिक खानेकुराहरु पनि छन्।

कम्पनीले यो वर्ष १०,५०० करोड भारतीय रुपैयाँको बिक्री गरेको जनाएको छ। पतन्जलीको सफलतामा सबैभन्दा धेरै उसको हर्बल, आयुर्वेदिक तथा नेचुरल प्रोडक्टहरु रहेका छन्।

कन्ज्युमर मार्केटको कुल बिक्रीमा यो क्याटेगोरीकीको १० प्रतिशत स्थान छ। सन् २०१३ र २०१८ बीच यी सामाग्रीहरुको बार्षिक बृद्धि २१ प्रतिशत थियो भने एफएमसिजी सेक्टरको बार्षिक बृद्धि ११ प्रतिशत रहेको थियो।

विज्ञहरुका अनुसार पतन्जलीको ग्रोथका पछाडि बाबा रामदेवका प्रशंसकहरुकै हाथ थियो। उनीहरुले बाबा रामदेवको नामकै कारण यी उत्पादनलाई किनेका थिए। पतन्जलीका सामाग्रीहरुको तुलनात्मक रुपमा मूल्यपनि कम हुनु र सबै किसिमका उत्पादनहरु एकैसाथ बजारमा ल्याउनाले पनि यसलाई बजार पाउन सहज भयो।

तर ब्रोकरेज फर्म एम्बिटको प्रतिवेदनका अनुसार बिगत एक वर्षमा पतन्जलीका टुथपेष्ट र महको मात्रै मार्केट शेयर बढेको छ। पतन्जलीको साबुन र खाने तेलको मार्केट शेयर स्थिर छ भने हेयर आयल, स्याम्पु तथा नौनीमा गिरावट आएको छ।
 
पतन्जलीका धेरैजसो प्रतिद्वन्दी कम्पनीहरुले नेचुरल तथा हर्बल प्रोडक्टहरु पनि धमाधम लञ्च गरेकाले पतन्जलीको  अवस्था कमजोर हुँदै गएको बताइन्छ।